रामानन्द युवा क्लब : विगत सफल, अहिले संकटमा

अजय अनुरागी
अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि प्रदेश नम्बर दुई प्रतिनिधि हुन् । 

जनकपुरधाम – जनकपुरमा कुनै समय थियो, जतिबेला बहुआयामिक कामको लागि रामानन्द युवा क्लबको चर्चा सर्वत्र हुने गर्थ्यो । मैथिली भाषामा साहित्य, कला, संस्कृति, नाटक आदि कामको लागि उक्त क्लबको अब्बल स्थान हुन्थ्यो । त्यस्तै खेलकुद तर्फ क्रिकेट प्रतियोगिता होस् वा अन्य खेलकुद सबैमा उक्त क्लबको भूमिका महत्वपूर्ण हुन्थ्यो । त्यसको प्रमाण अहिले पनि उक्त क्लबको कार्यालयमा सजाएर राखिएको विभिन्न शिल्ड, कप, प्रमाणपत्रले पनि दिन्छ ।

नेपालसहित भारतमा विभिन्न समयमा आयोजन हुने गरेको मैथिली भाषाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव आदिमा सहभागिता जनाएर पुरष्कृत भएको प्रमाणपत्र, कदरपत्र, सम्मानपत्र क्लबको कार्यालयमा सजाएर राखिएको छ । उक्त क्लबले यी सबै उपलब्धीहरू विगतमा हासिल गरेका हुन् । विगतको वैभवपूर्ण अतितका कारण उक्त क्लबको प्रतिष्ठा कायम रहे पनि त्यस्ता कामहरूलाई निरन्तरता भने दिन सकेको छैन ।


Advertisement

क्लबको इतिहास

 जनकपुरको रामानन्द चोक वरिपरीका ११ जना युवाले २०३६ सालमा विना नामकै एउटा संगठन बनाएका थिए । अमर चन्द्र अनिल, राजेन्द्र थापा, सुरेन्द्र शर्मा, रामबाबु राय, परमेश्वर राय, ध्रुवमनि बाँस्कोटा, दिपक घिमिरे, विश्वनाथ पाठक, भेषराज बराल लगायतका ११ जना युवाको समूहले रामानन्द चोकमा झुला व्यवस्थापनका निम्ति संगठित भएका थिए । रामानन्द चोकदेखि अग्नि कुण्डसम्म त्यतिबेला थुप्रै मन्दिरहरू थिए ।

प्रत्येक मन्दिरहरूमा ’झुला’ हुन्थ्यो । विभिन्न मन्दिरबाट किशोरीको प्रतिमा ल्याएर झुला झुलाउने गरिन्थ्यो । तर अन्य चोकबाट गएका युवाले झुला महोत्सवमा उदण्ड व्यवहार गर्ने  तथा उच्छृङखल क्रियाकलापहरू गर्ने हुनाले ती युवा स्वयम्‌सेवकको रूपमा परिचालन हुने गरेको अमर चन्द्र अनिल बताउँछन् ।

त्यसपछि २०३८ सालमा जनकपुरमा एउटा ठूलो यज्ञ भएको थियो । जसको उद्घाटन तत्कालीन राजा वीरेन्द्रद्वारा गरिएको थियो । रत्नसागर (अहिले जहाँ आँखा अस्पताल छ) मा खेलकुदका कार्यक्रम हुन्थ्यो । अर्कोतर्फ खाली जग्गामा (जहाँ अहिले थुप्रै घरहरू बनिसकेका छन्) यज्ञका लागि थुप्रै मण्डपहरू बनाइएका थिए । उक्त यज्ञमा समेत ती युवा स्वयम्‌सेवकको रूपमा परिचालित भएका थिए ।

यता अमर चन्द्र अनिल हिमाल क्लबको बडिविल्डिङका अध्यक्ष समेत भएका कारण उनले आफ्नै निजी ‘बडिविल्डिङ तथा वेट लिफ्टिङ क्लब’ समेत खोलेका थिए । उक्त क्लबमा युवालाई निशुल्क वेट लिफ्टिङ, जिम्नाष्टिक, बक्सिङ तथा रोपिङ लगायतका खेलहरू सिकाउन थालियो । अमरचन्द्र अनिलका अनुसार उक्त क्लबमा अवधेश पोखरेल, दिपेन्द्र उपाध्याय, देवेन्द्र यादव, रविन्द्र यादव, अनिल मिश्र लगायतका युवा निरन्तर वेट लिफ्टिङ सिक्न आउन थालेपछि जनकपुरमा वेट लिफ्टिङको एउटा राम्रो टीम पनि बन्यो ।

पछि राम आयलको एउटा कोठा मासिक १ सय ५० रुपैयाँमा भाडामा लिएर सांस्कृतिक कार्यक्रमका लागि गाना बजानाको कामहरु शुरू गरियो । अमरचन्द्र अनिल आफैं भने बेन्जो(बाजा) बजाउँथे । भारतको मुझफ्फरपुरबाट ३ सयमा रुपैयाँमा कंगो  किनेर ल्याएका थिए । विभिन्न मन्दिरहरूबाट एम्पिलीफायर माइक मागेर ल्याउँथे, ढोलक र हारमोनियम आफ्नै हुन्थ्यो । यसरी उनीहरूले गीत गाउने र संगीत सिक्ने कामको समेत शुरूआत गरे ।

जनकपुरका चर्चित गायकहरू  आभाष लाभ, सुनिल ठाकुर, शिवशंकर त्यहीँका उत्पादन हुन् । गायक र बाजा वादकहरू उत्पादन हुन थाले । रामानन्द संस्कृति क्लब हुँदै प्रवुद्ध पुस्तकालय र पछि मात्र २०४२ सालमा आएर रामानन्द युवा क्लबको नामले नामाकरण भएको अमरचन्द्र अनिल बताउँछन् । जिल्ला प्रशासन कार्यालय धनुषामा विधिवत रूपमा क्लब दर्ता भएपछि उक्त क्लबले रामानन्द चोकमा सार्वजनिक शौचालय र भ्रमरपुरा चोकमा मुत्रालयको निर्माण गरे । साथै जनकपुरकै भ्रमरपुरा चोक, रामजानकी सिनेमा हलको अगाडि आँखा अस्पताल र जनकपुर अञ्चल अस्पताल (हालको प्रादेशिक अस्पताल )मा प्रतिक्षालय समेत क्लबले निर्माण गर्‍यो ।

क्लबले स्थापनाकालदेखि नै खेलकुद, कलासंस्कृति, रंगमञ्च, पुस्तक प्रकाशन जस्ता महत्त्वपूर्ण कार्यलाई निरन्तरता दिँदै आएको छ । जनकपुरको यो क्लब नै यस्तो क्लव हो जसमा सामान्य मजदुरदेखि विभिन्न विधामा दख्खल राख्ने विज्ञहरू समेत यसका सदस्य छन् ।

वरिष्ठ साहित्यकार समेत रहेका डा.राजेन्द्र विमल, अर्थशास्त्री प्रा.डा.सुरेन्द्र लाभ, साहित्यकार परमेश्वर कापडी, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झा, साहित्यकार तथा नाटककार रमेश रञ्जन झा, पूर्व सांसद शीतल  झा, साहित्यकार धिरेन्द्र प्रेमर्षी र उनकी श्रीमती रुपा झा उक्त क्लबका सदस्य छन् ।  प्रतिनिधिसभा सदस्य मिनाक्षी झा, नेपाल सरकारका स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादव, प्रदेशसभा सदस्य कौशल यादव, राम अशिष यादव, मन्त्री नाटककार महेन्द्र मलंगिया, अवधेश पोखरेल, साहित्यकार अशोक दत्त, गायक आभाष लाभ, पत्रकार श्याम सुन्दर शशि, धनुषा क्रिकेटका प्रशिक्षक नविन सिंह, भारोत्तोलन खेलाडी अनिल मिश्र, चिकित्सक डा.रामनरेश पंडित, गायक नविन मिश्र, हाँस्य कलाकार बीएन पटेल, महोत्तरीको लोहारपट्टी नगरपालिकाका मेयर शैलेन्द्र यादवलगायतका चर्चित व्यक्तिहरू उक्त क्लबका सदस्य हुन् ।

विज्ञानराज शर्मा धनुषामा एसपी भएर आउँदा उक्त क्लबका सदस्य बनेका थिए । यसरी हेर्ने हो भने उक्त क्लब जनकपुरको बौद्धिक क्लब र प्रतिभावान सदस्यहरू रहेको क्लव हो ।

विगतको जस्तो सबै कामहरूलाई निरन्तरता दिन नसकिएको क्लबका हालका अध्यक्ष मनमोहन साह पनि स्वीकार गर्छन् । तर विभिन्न कार्यक्रमहरू नियमित रूपले सञ्चालन पनि हुँदै आएको उनको दाबी छ । ‘प्रत्येक महिनाको पहिलो शनिवार मासिक रूपमा कवि गोष्ठी आयोजन हुँदै आएको छ,’ साहले भने, ‘समय समयमा आयोजना हुने गरेको नाटक महोत्सवमा क्लबका रंगकर्मीहरूले रंगमञ्चमा नाटक गर्दै आएका छौं ।’ उक्त क्लबले नै पहिलो पटक जनकपुरमा अन्तर्राष्ट्रिय मैथिली नाट्य महोत्सव समेत आयोजन गरेको थियो ।

प्रत्येक वर्ष रामानन्द चोकमा भव्य पण्डालसहित आकर्षक मूर्ति बनाएर दुर्गा पूजा गरिँदै आएको छ । यस वर्ष पनि करीब १२ लाख रुपैयाँ जति दुर्गा पूजामा खर्च भएको साहले बताए । स्थानीयबाट नै चन्दा संकलन गरेर उक्त पूजा खर्च संकलन हुने गरेको उनी बताउँछन् ।

‘मैथिली भाषामा कथा, कविता संग्रह, उपन्यास आदिको पनि विभिन्न समयमा पुस्तकहरू प्रकाशन समेत गर्दै आएका छौं,’क्लबका अध्यक्ष साहले थपे, ‘प्रत्येक वर्ष क्लबको वार्षिक साधारण सभामा ठूलो संख्यामा रक्तदान कार्यक्रम आयोजना गरेर रेडक्रसको ब्लड बैंकमा दिने गरेका छौं ।’ त्यसका अतिरिक्त वार्षिक साधारण सभामा दुई जनालाई विद्यापति पुरष्कार र सरस्वती राजनारायण पुरस्कारले पुरष्कृत गर्दै आएको उनले बताए ।

उक्त क्लबले विगतदेखि नै मैथिली भाषामा साप्ताहिक साहित्यिक पत्रिका ‘विद्यापति टाइम्स’ प्रकाशन गर्दै आएको थियो । बीच बीचमा प्रकाशन हुने र फेरी त्यसले निरन्तरता पाउन सकेको छैन । आर्थिक स्रोतको अभावका कारण पत्रिका प्रकाशन हुने तथा बन्द हुने गरेको साहले बताए । क्लबको माथिल्लो तल्लामा पुस्तकालय समेत छ । मैथिली भाषामा लेखिएका विभिन्न पुस्तकहरू त्यहाँ राखिएको छ । तर पुस्तकालयमा आएर पुस्तक पढ्ने प्रवृति भने विकसित हुन सकेको छैन ।

‘कोहीकोही आएर पुस्तक घरमैं लग्नुहुन्छ र पढेपछि फिर्ता गर्नु हुन्छ,’ साहले भने, ‘तर पुस्तकालयमा नै आएर बसेर पढ्ने काम भने कसैले पनि गरेका छैनन् ।’ उसो त त्यहाँ अहिले पनि सांगीतिक उपकरणहरू प्याड, हार्मोनियम, ढोलक आदि सबै राखिएको छ । तर सांस्कृतिक कार्यक्रम भने आयोजना वा अभ्यासको काम हुन सकेको छैन । त्यसैगरी विगतमा क्रिकेट टीम नै सञ्चालन गर्दै आएकोमा अहिले भने कुनै टीम नै छैन । क्रिकेट खेल महंगो खेल हो, खेलाडीलाई पोशाकदेखि किटसहितको सामग्री जुटाउनै मुस्किल भएकाले टीम बनाउन नसकिएको साह बताउँछन् ।

क्लबमा हालसम्म अमरचन्द्र अनिल, अवधेश पोखरेल, अशो दत्त, रमेश ठाकुर, जीवनाथ चौधरी, दिपेन्द्र ठाकुर, नविन कुमार मिश्र, प्रकाश मिश्र अध्यक्ष भइसकेका छन् । २०६० देखि २०६६ साल सम्म अध्यक्ष रहेका जीवनाथ चौधरीको कार्यकालमा भने क्लबले आफ्नो भवन बनाएको थियो । स्थानीयबाट चन्दा लिएर क्लबको भवन बनाइएको थियो । रामानन्द चोकमा रहेको रामानन्द आश्रमबाट करीब १० धुर जग्गा लिएर क्लबले आफ्नो भवन निर्माण गरेको साह बताउँछन् । सहयोग स्वरूप नै उक्त जग्गा प्रदान गरिएको भएपनि उक्त जग्गा भने क्लबको निजी जग्गा भइसकेको साहले बताए ।    

राज्यको तर्फबाट कुनै आर्थिक सहयोग नै हुँदैन । ‘तीन तहको सरकार छ तर कुनै कार्यक्रम आयोजन गरे पनि कुनै तहबाट आर्थिक सहयोग हुँदैन,’ साहले भने, ‘त्यसकारण अन्य रचनात्मक काम गर्न समस्या हुने गरेको छ ।’

कमेन्ट गर्नुहोस्