समृद्धिको चाहाना पुरा गरेरै छाड्छु : विद्या भट्टराई

पोखरा । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कास्की क्षेत्र नं २ का उम्मेदवार विद्या भट्टराईले आफू जनताको सहयात्री भएकोले समृद्धिको चाहाना पुरा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।
शनिबार पोखरा १५ स्थित आँधिखोला तमु समाजमा आयोजित निर्वाचन प्रचार प्रसार तथा उम्मेदवार परिचय कार्यक्रममा भट्टराईले आफू  जनताको आकांक्षा बमोजिम उम्मेद्वार भएको बताउँदै भूमिहिनहरुलाई व्यवस्थापन गरेर समृद्ध नेपाल सुखी नेपालीको चाहाना पुरा गर्ने बताइन् ।
उनले भनिन् “हिजो रवीन्द्रजीले बोक्नुभएको समृद्ध नेपालको अभियानलाई सार्थक पार्न तपाईँहरुले गर्नुभएको आग्रह बमोजिम नै म उम्मेद्वार बनेकी हुँ, मेरो उम्मेद्वारीको हिस्सा तपाईँहरुसंगै जोडिएको छ ।”
राजनीतिमा वैचारिक वहस गरेर समग्र देशकोलागि विकासप्रेमिहरु एक हुनुपर्ने समय आएको उनको भनाई थियो । उम्मेदवार भट्टराईले आत्मनिर्भरताले मात्र समृद्धि तर्फ जान सकिने भएकाले राष्ट्रीय संस्कृतिको संरक्षण गर्दै राष्ट्रिय स्वाधिनतालाई केन्द्रमा राखेर आफू अघि बढ्ने बताइन् ।
 आत्मनिर्भरताका लागि मौलिक संस्कृतीको जगेर्ना आवश्यक रहने भन्दै भट्टराईले गुरुङ संस्कार र संस्कृतिको जगेर्नामा साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । 

असमानताले समृद्धि हासील हुन नसक्ने भएकाले समातनमुलक सामाजिक न्याय आजको आवश्यकता रहेको बताइन् ।  


Advertisement


 

कमेन्ट गर्नुहोस्