कांग्रेसले भन्यो– कालापानीलगायत भू–भाग फिर्ता लिन उच्चस्तरीय पहल आवश्यक

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुलुकको उत्तर–पश्चिम सिमानाको कालापानीलगायत भूभाग फिर्ता लिन सरकारले उच्चस्तरीय कुटनीतिक र राजनीतिक पहल गर्नुपर्ने जनाएको छ । 

कांग्रेस केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको अविभाज्य भूमि रहेको बताउँदै भारत सरकारले हालै प्रकाशित गरेको नयाँ नक्सा आफूहरूलाई मान्य नहुने दोहोर्‍याए । 


Advertisement

सो विषयका बारेमा कांग्रेसले यसअघि नै धारणा सार्वजनिक गरिसकेको उल्लेख गर्दै उनले भन्नुभयो, “कात्तिक २३ गते प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले भारतीय सुरक्षा बल रहेको कालापानी लगायतको भूमि नेपालको भएको भन्दै सो क्षेत्र फिर्ता लिन सरकारलाई खुला र प्रष्ट समर्थन रहने धारणा व्यक्त गरिसक्नुभएको छ ।”

सरकारले गरेको पहलबारे पार्टीले सतर्कतापूर्वक नियालिरहेको बताउँदै प्रवक्ता शर्माले सीमा विवाद सम्बन्धमा राष्ट्रिय एकता निर्माण भएको अवस्थामा परिणाममुखी पहल गर्न सरकार सक्षम हुने पार्टीको विश्वास रहेको धारणा व्यक्त गरे ।
 


Advertisement

कमेन्ट गर्नुहोस्