काष्ठकलामा चलेका प्याथका परिश्रमी हात

प्रकाश आचार्य
प्रकाश आचार्य

प्रकाश आचार्य लोकान्तरका लागि ५ नम्बर प्रदेशका प्रतिनिधि हुन् ।

नेपालको काष्ठकला विश्वमै लोकप्रिय मानिन्छ । लिच्छवीकालदेखि नेपालमा शुरू भएको काष्ठकला अहिले झन् व्यापक  रूप लिन थालेको छ ।

काठमाडौं र भक्तपुरका पुराना मन्दिरहरूमा सजाइएका काष्ठकला नमूना उत्कृष्ट मानिन्छन् ।


Advertisement

भक्तपुरको ऐतिहासिक काष्ठकलालाई मोफसलमा स्थापित गराउन जुटेका छन्, भक्तपुरे युवा । उनी हुन् बुटवल-८ सुख्खानगरका मोहन विक्रम प्याथ काठका कलाकृतिहरू बनाएर रमाउनुको साथै यस क्षेत्रमा नेपाली काष्ठकलाको लोकप्रियता बढाउन जुटेका छन् ।

उनले काठभित्रै लुकेका अनगिन्ती कला फेला पार्छन् । उनी जस्तो किसिमको पनि मूर्ति बनाउन सक्छन् । काठमा आकर्षण र कलात्मक बुट्टाहरू कुदछन् । उनले बनाएका मूर्ति हेर्दै जाँदा काठमा कुँदिएका मूर्तिहरू संवाद गर्न तम्तयारझैं लाग्छन् ।


Advertisement

उनले बनाएका कलाकृतिहरू अहिले यस क्षेत्रका भवनहरूदेखि सजावटका सामाजमा प्रयोग भइरहेका छन् । भक्तपुर नगरपालिका ९ मा जन्मिएका २०५८ मा साथीहरूसँग पहिलो पटक घुम्नको लागि बुटवल आएका थिए । चार दिनसम्म बुटवल घुमफिरपछि उनलाई बुटवल रमाइलो लाग्यो । मन पर्‍यो । उनका साथीले प्याथमा काष्ठकला सम्बन्धी सीपबारे बुटवलका रोना इन्टरप्राइजेज (फर्निचर उद्योग)का सञ्चालक अशोक जोशीलाई जानकारी गराए ।

काठमाडौं फर्किएको केही समयमै उनलाई जोशीले आफ्नो उद्योगबाट उत्पादित काठका सामग्रीहरूमा कला भर्न आउन आग्रह गरे । घरका आर्थिक अवस्था न्यून । बुटवल सहर मन पनि परेकोले उनी बुटवल झरेर रोनामा काम गर्न शुरू गरे । २ वर्ष उनले त्यही फर्मका काम गरे । उनको सीप देखेर सबै दंग पर्थे । त्यसपछि उनले आफैं बुटवलमा काष्ठकला शुरू गरे । उनको बाबा हजुरबाबा पनि यही पेशामा थिए । घरमा बुवाले गर्दै आएको कामबाट उनले सीप सिकेका थिए ।

काठमाडौं उपत्यकामा सम्पदा र घरहरूमा नेपाली कलाको प्रयोग भएको देखिँदै आए पनि त्यो बुटवलका निजी घरदेखि मठमन्दिर तथा अन्य संरचनामा उनले देखेनन् । त्यसपछि उनले शुरू गरे- हरेक घर र कार्यालयमा नेपालीपन झल्लिने एउटा (झयाल, ढोका वा अन्य कुनै चिज) कलाकृतिहरू राख्ने आग्रह गर्दै हिँडे । त्यतिमा मात्र उनी सीमित रहेनन्, विदेशी अतिक्रमण रोकौं, नेपाली कला संस्कृतिलाई संरक्षण गरौं भन्ने अभियान स्वरूप पर्चा पनि प्रकाशित गरेर वितरण गर्न समेत गरे ।

चार वर्षसम्म उनले विभिन्न संघर्ष गरेर काठमा कला भर्दै विक्री गर्न थाले । बुटवलमा काष्ठकला नक्षेत्र जस्तै व्यक्ति बुटवल आएको छन भन्ने उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष नर्बु लामा थाहा पाएका थिए । तर उनी कहाँ छन् के गर्छन भन्ने थाहा थिएन । खोज्दै जाँदा एक महिनापछि लामाले प्याथसँगको सम्पर्कमा पुगे ।

उनको कलाकृति देखेर लामा पनि दंग भए । भेट भएको भोलिपल्टै बुटवलमा औद्योगिक प्रदर्शनी चल्दै थियो । लामाले आफूले लिएको स्टल प्याथलाई दिए । प्याथले प्रदर्शनीमा आफूले बनाएको पञ्चनागको ऐनाको फेम र एमबी काष्ठकला तथा हस्तकला भन्ने ब्यानर राखे । उनले त्यो काष्ठकला धेरै मेला अवलोकन गर्न आउनेले रुचिका साथ हेरे पनि । यस्ता वस्तुहरू हातले बनाउन सकिन्छ ? भनेर धेरैले प्रश्न समेत गरेछन् । अनि धेरैले काष्ठकला बारे बुझे पनि ।

त्यसपछि उनको काष्ठकलाको माग बढ्दै गयो । उनको पसलमा विभिन्न मूर्तिदेखि मायाको चिनोहरू बनाइदिन भन्नेहरूको ओइरो नै लाग्न थाल्यो । उनी भन्छन्, ‘म भित्र रहेको कला क्षमतालाई बुटवलको औद्योगिक प्रदर्शनीले उजागर बनाइदियो ।'

त्यसपछि कलाको प्रचार–प्रसारका साथै आफूले बनाउने काष्ठकलाको माग बढाइदिएको उनको भनाइ छ ।

पुराना पाटी, पौवा, सत्तल, मन्दिर, विहार, दरबार र घरहरूका झयालढोकाहरू, भित्ता तथा तिनमा कुँदिएका आकृति, थाम, टुँडाल, दलिन, निदाल, तोरण, मण्डल आदि पुराना काष्ठकलाका उत्कृष्ट नमूना प्याथले बनाउँछन् ।

उनी भन्छन्, ‘अहिले यहाँ धेरैले आफ्नो घरको मूल ढोकामा नेपाली हस्तकलाबाट बनेको ढोकाको राख्नेहरू बढ्दैछन् । आफ्नो घरमा केही न केही भए पनि नेपालीपन राख्नेहरू देख्दा खुशी लाग्छ,’ उनले थपे, ‘हाम्रा पुर्खाले सम्पदाहरूमा काष्ठकला देखाए ।हामीले यसको संरक्षण गर्दै प्रयोग किन नगर्ने ?’

उनको बजार अहिले थामिसक्नु छैन । उनीकहाँ अहिले दिनहुँ सामान बनाइदिन आग्रह गर्नेहरूको भीड नै लाग्छ । अहिले उनी काठमा कुँदिएका कलात्मक मूर्तिदेखि मठमन्दिर निर्माण र त्यसमा भरिने कलाहरूको जिम्मा लिन व्यस्त देखिन्छन् ।

उनले यो कला बाल्यकालदेखि नै सिकेका थिए । उनका बुवा पनि यही पेशामा थिए । मेकानिकल इन्जिनियरिङ गरेका प्याथ भन्छन्, ‘सानैदेखि मभित्र कृषि या कलातर्फ लाग्ने सोच थियो । काठमा कला भरेर आत्मसन्तुष्टी पाएपछि यही क्षेत्रमा लागे अहिले पूर्ण खुशी छु । उनले पाल्पाको नारायण मन्दिर, गुल्मी रिडीको ऋषिकेश मन्दिर गुल्मी दरबार उनले कलात्मक रूपमा निर्माण गरे । उनले निर्माण गर्ने काष्ठकलाका लागि यस क्षेत्रको काठ प्रयोग गर्दैनन् । धनगढी र सुर्खेतको काठ अनि गाविलो हुने भएको सोही क्षेत्रको साल प्रयोग गर्ने उनी बताउँछन् ।

उनले अहिले बार्षिक १ करोडभन्दा बढीको कारोवार गर्न पनि सफल भएका छन् । उनको उद्योगमा अहिले २४ जना कलाकारहरूले काठमा कला भर्छन् भने उनकी श्रीमती सुमिता प्याथले पनि कला भर्न सिपालु भएकी छन् ।

सुमिता पनि राष्ट्रिय उत्कृष्ट महिला उद्योगी पुरस्कार प्राप्त गर्न सफल भएकी छन् । प्याथले ८० भन्दा बढीलाई काष्ठकला सिकाएका छन् । उनीहरू अहिले यही कलाको क्षेत्रमा क्रियाशील छन् । प्याथले अहिले आफूले बुटवलमा बनाएको घरमा सबै आफूले बनाएका काष्ठकला प्रयोग गरी घर निमार्ण गरेका छन् । उनको चाहना पनि सहर बजारमा बनाउने घरहरू पनि नेपाली काष्ठकला प्रयोग भएका हुन् भन्ने छ । कुनै कुरा काठमा कला भर्नुपर्‍यो भने उनी फोटो हेरेर दुरुस्तै बनाउन सक्छन् ।

उनी यस क्षेत्रमा लागेको अहिले २५ वर्षभन्दा बढी भयो । ‘अझै नयाँ काष्ठकलामा नयाँपन खोजिरहन्छु । सिकेर कहिल्यै सकिने रहेनछ । अझै धेरै सिक्न पाए हुन्थ्यो भन्ने लाग्छ,’ उनी भन्छन् ।  

कमेन्ट गर्नुहोस्