पुस १८, २०८०
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
संसारको सबभन्दा बढी सैन्यीकृत, जोधाहा र आफूलाई सर्वोपरि ठान्ने मुलुक अमेरिका नै हो । अमेरिकामा सबैजना राष्ट्रिय झण्डा हल्लाइरहेका हुन्छन् र सबैतिर ‘खराब मान्छे’ मात्र देख्छन् । राष्ट्रपति डोनल्ड ट्रम्पले मध्यपूर्वबाट अमेरिकी सेना हटाउने प्रतिज्ञा गर्दा उनलाई प्रशंसकले समेत गद्दार भन्छन् ।
अमेरिकाले अहिलेसम्म पनि सेप्टेम्बर ११ का युद्धहरू लडिरहेको छ जबकि त्यो घटना भएको पनि १८ वर्ष बितिसकेको छ । अफगानिस्तान, इराक र सिरियामा ऊ अझै युद्धरत छ । संसारको दोस्रो ठूलो जोधाहा मुलुक बेलायत चाहिँ ती देशहरूका गोप्य युद्ध लडिरहेको छ । ती युद्धहरूमा ‘विजय’ पाइने संकेत पटक्कै देखिएको छैन । वास्तवमा तिनीहरू युद्ध नै हैनन्, विदेशीहरूलाई मार्ने बहाना मात्र हुन् ।
अमेरिकाका हालैका राष्ट्रपतिहरू जर्ज डब्ल्यू बुश, बाराक ओबामा र डोनल्ड ट्रम्प राष्ट्रपति बन्नुअघि अर्को देशमा सैन्य हस्तक्षेप गर्ने विषयमा हिचकिचाहट देखाउँथे तर सत्तामा आएपछि उनीहरूले युद्धको समर्थन गरे ।
तर अमेरिकीहरूलाई युद्धप्रति निराशा आउन थालेको देखिएको छ । पिउ संस्थाले हालै गरेको सर्वेक्षणमा ६२ प्रतिशत अमेरिकीहरूले अफगान युद्धको कुनै अर्थ थिएन भनेका छन् अनि ५९ प्रतिशतले इराकको युद्धका बारेमा त्यस्तै धारणा अभिव्यक्त गरेका छन् । सिरियाको हकमा ५८ प्रतिशतको यस्तै मत छ । युद्धप्रतिको वितृष्णा पूर्वसैनिकहरूमा अझ उच्च छ । सैनिकहरू जित्न नसकिने युद्ध मनै पराउँदैनन् ।
बेलायतमा चाहिँ यस्तै किसिमको सर्वेक्षण सन् २०१५ मा गरिएको थियो । यूगोभ सर्वेक्षण संस्थाले सन् २००३ को तुलनामा सन् २०१५ मा मध्यपूर्वमा हस्तक्षेपप्रतिको समर्थन दुईतिहाइबाट घटेर एकतिहाइमा झरेको पायो । यूगोभ अमेरिकाले यस्तै किसिमको गिरावट ६३ प्रतिशतबाट ३८ प्रतिशतमा पुगेको पायो । तर बेलायतमा हुन लागिरहेको निर्वाचनमा कुनै पनि राजनीतिकर्मीले बेलायती सेना फिर्ता बोलाउनुपर्ने भनेका छैनन् । विदेशमा लडिने युद्धका मूल्य र परिणामप्रति लोकतन्त्र असंवेदनशील भएको जस्तो यसबाट देखिन्छ ।
दुई दशकसम्म अन्य देशमा हस्तक्षेप गर्दा अमेरिकाले ६.४ खर्ब डलर खर्च गरिसकेको छ र सात हजारभन्दा बढी सैनिकहरू मारिएका छन् । बेलायतले यसबीचमा ६३४ सैनिक गुमाएको छ । अनि हजारौं हजार सर्वसाधारण यी युद्धमा मारिएका छन् र अर्बौं अर्ब बराबरको सम्पत्ति नष्ट भएको छ । युद्धका कारण मध्यपूर्वबाट क्रिस्चियन धर्म लगभग सोत्तर भएको छ र प्राचीन विश्वका उम्दा शहरहरू बम आक्रमणमा ध्वस्त पारिएका छन् । त्यसको कुनै लेखाजोखा नै गरिएको छैन । यति पैसाले कतिवटा रोग निर्मूल पार्न सकिन्थ्यो होला अनि जलवायु संकटलाई हल गर्न सकिन्थ्यो होला ?
सेप्टेम्बर ११ पछि गरिएका युद्धहरू अहिलेसम्मकै सबभन्दा क्रूर, खर्चिलो र अर्थहीन साबित भएका छन् । तर बेलायतमा एकपछि अर्को सरकारले ‘आतंकबाट आफ्नो देशका सडकहरू सुरक्षित’ राख्नका लागि युद्ध लडिएको बकम्फुसे तर्क अघि सार्ने गरेका छन् । वास्तवमा यसको विपरीत चाहिँ सत्य हो । अहिले लन्डनमाथिको जोखिम ‘अत्यन्त उच्च’ रहेको बताइएको छ भने वेस्टमिन्स्टरका केही भागहरू गुआन्तानामो बेका प्रतिरूप जस्ता देखिन्छन् ।
कम्तीमा सर्वसाधारण र सैन्य संस्थापन पक्ष ‘सैनिकहरूको समर्थनमा’ रहेको अनुमान गरिन्छ । तर त्यो सत्य हैन ।
सन् २००४ मा लर्ड ब्रामालले तत्कालीन सरकारलाई इराक युद्धमा गरिएको खर्च जायज ठहर्याउन भनेका थिए । एक वर्षमै त्यो युद्ध ‘त्रुटिपूर्ण र प्रत्युत्पादक’ भएको साबित भइसकेको उनले बताएका थिए । त्यतिखेर इराकमा लोकतन्त्र ल्याइने भनी प्रतिज्ञा गरिएको थियो । उनले भनेका थिए, ‘पश्चिमी गठबन्धनले त्यो युद्ध लड्नका लागि कुन कानूनी र नैतिक कार्यादेश पाएको छ र भनी प्रश्न गर्नुपर्ने हुन्छ ।’ टोनी ब्लेयरले अमेरिकीहरूलाई खुशी बनाउन इराकमा युद्ध लडेको र आफू त्यसविरुद्ध उभिएर सैन्य संस्थापनको प्रतिनिधित्व गर्दै आवाज उठाएको भन्ने विषयमा ब्रामालले जोड दिएका थिए । उनले १५ वर्षअघि गरेको उक्त दाबीपछि पनि केही कुरा परिवर्तन भएको छैन ।
युद्ध शुरू गर्न सजिलो छ तर अन्त्य गर्न गाह्रो भन्ने भनाइलाई अहिलेका युद्धहरूले सत्य साबित गरेका छन् । बासरा र हेल्मान्दमा बेलायतले भोगेको पराजयलाई कार्पेटमुनि लुकाइएको छ र डेभिड क्यामरोनले सन् २०११ मा लिबियामा भोगेको हारलाई पनि लुकाइएको छ । अहिले बेलायतले मध्यपूर्वमा ड्रोन आक्रमणहरू जारी राखेको छ । जुलाई महिनामा आएका रिपोर्टअनुसार, सिरियामा ट्रम्पले सैनिक फिर्ता बोलाएपछि बेलायतलाई उनीहरूको ठाउँ लिन समेत अनुरोध गरिएको थियो ।
दोस्रो विश्वयुद्धपछि शान्ति लामो समयसम्म कायम रहँदा अमेरिका र बेलायतले कसैबाट पनि अस्तित्वमै संकट आउने हिसाबमा जोखिम पाएका थिएनन् । तर यी दुई देशहरू सुदूर सैन्य गौरवप्रति आकर्षित भएको देखिन्छ । नेताहरूले अन्य देशमा हस्तक्षेपका लागि अस्पष्ट कार्यादेश रहेको मान्ने गरेका छन् अनि युद्धलाई उनीहरूले व्यावहारिक देशभक्ति ठान्ने गरेका छन् । तर अफगानिस्तान र इराकमा दण्ड दिनका लागि गरिएको भनिएको कारवाही छद्म साम्राज्यवादी मिसनमा परिणत भयो । पश्चिमी लोकतन्त्रलाई नमान्नेहरूलाई मान्ने बनाउनका लागि यी युद्ध गरिएका थिए । तर नमान्नेहरू नमानिकन बसिरहे अनि उनीहरूले मानिरहेको व्यवस्था पनि ढल्यो र उनीहरू हजारौंको संख्यामा मारिए ।
बेलायतले मध्यपूर्वको युद्धमा हस्तक्षेप गर्नुको कुनै अर्थ छैन भनी सैनिकहरू नै भनिरहेका छन् । उनीहरू युद्धबाट हट्नका लागि सरकारले दम देखाए हुन्थ्यो भनी प्रार्थना गरिरहेका छन् । तर कुनै सरकारसँग पनि यस्तो दम छ जस्तो लाग्दैन । पश्चिमी सैनिकहरू अर्काको भूमिमा बसिरहनका लागि कारण भनेको लाज जोगाउन मात्र हो, फिर्ता हुँदा बेइज्जत भइने डर उनीहरूलाई छ । बेलायत सरकार विश्वमञ्चमा खेल खेल्नका लागि कुनै पनि अवसर छोड्दैन र ब्रेक्जिटपछि अमेरिकासँग कदम मिलाउन ऊ उत्सुक छ । तर युद्धका लागि यी कुनै पनि कारणहरू जायज छैनन् । यी कारणहरू लोकप्रिय पनि छैनन् । हामीहरू युद्धमा फसेका छौं र कसैले पनि किन फसेका छौं भनी व्याख्या गर्न सकिरहेको छैन ।
द गार्डियनमा प्रकाशित साइमन जेन्किन्सको आलेख
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...