नेविसंघले सुदूरपश्चिम विश्वविद्यालयका पदाधिकारीलाई गाडी प्रयोग गर्न दिने, तालाबन्दी यथावत

कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयका सवारीसाधन सञ्चालनमा अवरोध नगर्ने आन्दोलनरत नेपाल विद्यार्थी संघले जनाएको छ ।

नेविसंघ सुदूरपश्चिमाञ्चल विश्वविद्यालय समन्वय समितिका संयोजक कैलाश चन्दले विज्ञप्ति जारी गरी मंसिर १ गतेदेखि विश्वविद्यालयका पदाधिकारीहरूको सवारीसाधन प्रयोग खुला गरिएको जानकारी दिए । तर विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारलगायत पदाधिकारी नियुक्तिको विरोधमा रहेको नेविसंघले केन्द्रीय कार्यालयमा तालाबन्दी भने यथावत् राखेको संघले जनाएको छ ।


Advertisement

विश्व्विद्यालयमा तालाबन्दी भएको सात महिना बितिसक्दा पनि समस्याको समाधानका लागि ठोस पहल हुन सकेको छैन ।

विश्वविद्यालयका तत्कालीन उपकुलपति प्रा भुषण श्रेष्ठ र रजिस्ट्रार द्विजराज भट्टको कार्यसञ्चालनप्रति असन्तुष्टि बढेपछि प्रधानमन्त्री कार्यालयले गत पुस २७ मा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय ऐन २०६७ दफा ३० बमोजिम जिम्मेवारीबाट पदमुक्त गरेको थियो ।


Advertisement

सोही विषयलाई लिएर गत वैशाखदेखि नेविसंघले तालाबन्दी गरेको हो । बिना कारण उपकुलति र रजिस्ट्रारलाई छानबिनका नाउँमा हटाएको भन्दै पुनर्बहालीको माग गर्दै विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको थियो ।

गत चैत २७ मा विश्वविद्यालयकै विज्ञान तथा प्रविधि संकायका डिन प्रा डा पूर्णबहादुर चन्दलाई उपकुलपति र शिक्षा संकायका डिन डा गोविन्द विष्टलाई रजिस्ट्रारको जिम्मेवारी दिइएपश्चात् जिम्मेवारी सम्हाल्दै आए पनि तालाबन्दीका कारण कामकाज भने प्रभावित छ ।

कमेन्ट गर्नुहोस्