बबरमहलको प्रबलीकरण शुरू

भूकम्पले क्षतिग्रस्त राणाकालीन भवन बबरमहलको प्रबलीकरण शुरू भएको छ । गत असारमै सम्झौता भए पनि काममा ढिलाइ भइरहेको थियो ।

भवनमा रहेका कार्यालयहरूको सामान स्थानान्तरण गर्ने स्थान अभावमा काम ढिलाइ भएको प्राधिकरणले जनाएको छ । अहिले भवनमा रहेका कार्यालयका सामग्रीहरू राख्ने टहरा बनाई स्थानान्तरण गरिएको छ । प्रबलीकरण दुई वर्षमा सक्ने प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का आयोजना उपनिर्देशक झप्परसिंह विश्वकर्माले बताए ।


Advertisement

बबरमहल प्रबलीकरणको ठेक्का जिसी–आशिष–समानान्तर जेभीलाई दिइएको छ । निर्माण कम्पनीले ८६ करोड दुई लाख ५२ हजार रुपियाँको लागतमा प्रबलीकरण सम्पन्न गर्ने गरी काम भइरहेको छ ।

भूकम्पअघि बबरमहलमा सडक विभाग, महालेखा परीक्षक, गोश्वारा हुलाक, निर्वाचन आयोगका केही कार्यालय सञ्चालनमा थियो । हाल यी कार्यालयहरू अन्यत्र सरेका छन् । बबरमहलको प्रबलीकरणमा परम्परागत निर्माण सामग्रीहरू चुना, सुर्की, काठलगायत वस्तुको प्रयोग गरिने उपनिर्देशक विश्वकर्माले बताए।


Advertisement

भवनको प्रबलीकरणसँगै सम्पूर्ण सुविधाको जडान गरी यसअघि बसिरहेका सम्बन्धित निकायहरूलाई नै प्रशासनिक उपयोगका लागि हस्तान्तरण गरिने उहाँले बताउनुभयो । अहिले भएको बबरमहलको तीन तले भवन चन्द्र शमशेरले आफ्ना छोरा बबरशमशेरका लागि बनाएको इतिहासकारहरू बताउँछन् । गोरखापत्र दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्