जनतालाई अधिकारसम्पन्न बनाउन राज्य बलियो हुनुपर्छ : मुख्यमन्त्री पोखरेल

प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले जनतालाई अधिकारसम्पन्न बनाउनका लागि राज्य बलियो हुनुपर्ने बताएका छन् ।

प्रदेश सरकारको एक मात्र हिमाली जिल्ला रुकुम पूर्वमा पहिलो पटक पुगेका मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार सधैं नागरिकको हकहितको पक्षमा रहेको बताए ।


Advertisement

मौलिक कला, परम्परा र संस्कृतिले भरिएको रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकास्थित तकसेरामा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रदेशलाई सम्पन्न बनाउनको लागि प्रदेश सरकारले व्यवस्थित योजना बनाएर अगाडि बढिरहेको जानकारी गराए ।


Advertisement

प्रदेश सरकारले पनि कृषिलाई नै पहिलो प्राथमिकता दिएर अगाडि बढिरहेको बेलामा रुकुम पूर्वको उत्पादनले बजार नपाएको खण्डमा बजारसम्म पुर्‍याउन अनुदानकोे लागि प्रदेश सरकार तयार रहेको उनको भनाइ छ ।

संघीयता कार्यान्वयनपछिको ७७ औं जिल्लाको रुपमा रहेको रुकुम पूर्वको जिल्ला सदरमुकामको टुंगो लागि नसकेको अवस्थामा उनले यस विषयमा मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतले जे पैmसला गर्छ त्यो जनताले स्वीकार्नुपर्ने धारणा राखे ।

उत्तरगंगा नदी डाईभर्सनबारे पनि बोल्दै उनले रुक्मेली जनताको सहमति विना आयोजनाको काम अगाडि बढ्न नसक्ने बताए । उत्तरगंगा डाईभर्सनको कुरा छलफलमै भएको हुँदा रुकुम पूर्वको हितलाई प्राथमिकतामा राखेर काम अगाडि बढाउने उनको भनाइ छ ।

यसैक्रममा उनले पुथाउत्तरगंगा गाउँपालिकाको तकसेरामा निर्माण गरिएको सभाहलकोसमेत उद्घाटन गरे ।

कमेन्ट गर्नुहोस्