समाजवादीको अनौपचारिक बैठक– सल्लाहविना मन्त्रालय हेरफेरलाई सकारात्मकरूपमा लिन सकिन्न

 

बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले सल्लाहविना भएको मन्त्रिपरिषद् हेरफेरलाई स्वभाविक रूपमा लिन नसकिने निष्कर्ष निकालेको छ ।


Advertisement

पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई (संघीय परिषद्) र उपेन्द्र यादव (केन्द्रीय कार्यसमिति)को अनुपस्थितिमा बिहीवार बसेको राजधानीमा उपलब्ध केन्द्रीय पदाधिकारीहरूको अनौपचारिक बैठकले यस्तो निष्कर्ष निकालेको हो ।


Advertisement

'मन्त्री फेर्न पाउने अधिकार प्रधानमन्त्रीलाई भएपनि सरकारमा सहभागी अर्को सत्ता साझेदार पार्टीसँग सल्लाह र सहमतिविना भएको निर्णयलाई सकारात्मक रुपमा लिन सकिँदैन, यो लोकतान्त्रिक मूल्यमान्यताविपरीत छ,' बैठकको निष्कर्षबारे जानकारी दिँदै पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले भने ।

पार्टीका संघीय परिषद् अध्यक्ष भट्टराई र केन्द्रीय कार्यसमिति अध्यक्ष यादव राजधानी फर्किएपछि सम्भवत: पर्सि शनिवार बिहान बैठक बसेर निर्णयमा पुगिने पाण्डेले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार सरकार हेरफेर गर्दा समाजवादी पार्टीका अध्यक्ष यादवको मन्त्रालय समेत हेरफेर गरेका छन् ।

स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै आएका उपप्रधानमन्त्री यादवलाई कानून मन्त्रालयमा सारिएको छ भने स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवलाई मन्त्रिपरिषद्बाट हटाइएको छ ।

कमेन्ट गर्नुहोस्