मन्त्रीहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री – एक दुई पैसाको लोभ नगर्नुस्, विलम्ब स्वीकार्य छैन

गगन अर्याल
गगन अर्याल

लोकान्तर संवाददाता अर्याल सुरक्षा/अपराध तथा समसामयिक विषयमा समेत कलम चलाउँछन् ।

नवनियुक्त मन्त्रीहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई एक दुई पैसाको लोभ नगर्न चेतावनी दिएका छन् ।

‘कतिपय देशको भन्दा हाम्रो देशमा मन्त्रीहरूको तलब माथि छ,’ प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई निर्देशन दिँदै भने, ‘हामीले हाम्रो देशका श्रमिकलाई हेर्नुपर्छ । एक दुई पैसाको लोभ गरेर बदनामी कमाउनु हुँदैन ।  


Advertisement

बिहीवार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्रीले लोभ नगर्न र इमान नगुमाउन मन्त्रीहरूलाई निर्देशन दिएका हुन् ।


Advertisement

मन्त्रिपरिषद बैठकपछि लोकान्तरसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा सञ्चार एवं सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री ओलीले आफूलाई काममा बिलम्ब कदापि स्वीकार्य नहुने निर्देशन दिएको बताए । 

‘जनताले गफ होइन काम र त्यसको प्रतिफल चाहेका छन्,’ प्रधानमन्त्री ओलीको भनाइ उधृत गर्दै बास्कोटाले भने, ‘उपयुक्त र उचित समयमा उचित मूल्यमा काम गर्नुहोला ।’

बास्कोटाका अनुसार सरकारको कामप्रति नराम्रो हल्ला जनतामा गएको भन्दै प्रधानमन्त्री ओलीले यसलाई चिरेर अघि बढ्न सबै मन्त्रीहरूलाई निर्देशन दिए ।

आफू नयाँ नेपाल निर्माणको प्रक्रियामा रहेकाले आफूलाई सबैको साथ आवश्यक रहेको प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूभाग भएकाले देखिएको सीमा विवादलाई कूटनीतिक हिसाबले समाधान गर्न आफूले कदम चालिसकेको आश्वासन दिए ।

 

कमेन्ट गर्नुहोस्