दम्भ र अहंमा गुज्रिएको निजामती सेवालाई 'आशावादी' कसरी बनाउने ?

माधव प्याकुरेल
माधव प्याकुरेल

लेखक प्याकुरेल उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका इन्जिनीयर हुन् 

स्थायी सरकार समेत मानिने निजामती सेवालाई निष्पक्ष रुपमा छनोट गरिएका, जनताप्रति प्रशासनिक रुपमा प्रतिबद्ध, राजनीतिक रुपमा तटस्थ, जनताको सेवामा समर्पित सरकारी संयन्त्रको रुपमा लिइने गरिन्छ ।

निजामती सेवाको इतिहास हेर्ने हो भने ला यसको शुरूवात इ.पू. २०६ देखि २२० सम्मको अवधिमा भएको पाइन्छ भने हाम्रो देश नेपालमा बाइसे-चौबिसे राज्यलाई एकीकरण गरेपश्चातबाट मात्र यसको शुरूवात भएको हो ।


Advertisement

त्यसैले मूलतः नेपालको निजामती सेवाको विकासक्रमलाई एकीकरणदेखि राणा शासन प्रारम्भसम्म, पंचायती निरंकुश शासनकाल, प्रजातान्त्रिक र लोकतान्त्रिक समय गरी ३ खण्डमा वर्गीकरण गर्न सकिन्छ ।

त्यसो त करीब ३ शताब्दीको गौरवपूर्ण इतिहास बोकेको नेपालको निजामती सेवा नेपालमा रहिआएका अन्य स्थायी पदपूर्ति गरिने सेवाहरू भन्दा निकै पारदर्शी, निष्पक्ष, तटस्थ र जवाफदेही एक मात्र सेवा हो भन्ने जनविश्वास आम-नागरिकमा रहँदै आएको छ ।


Advertisement

पंक्तिकारले ठीक आजभन्दा करीब १ वर्ष अगाडि निजामती सेवामा प्रवेश गरेसँगै काँधमा जिम्मेवारी, मस्तिष्कमा इमान्दारी अनि हृदयमा समझदारी दिनप्रतिदिन थपिँदै गएको महशुस गरेको छ । यसले खुसी दिएको छ ।

शताब्दीऔं गौरवपूर्ण इतिहास बोकेको निजामती सेवालाई १ वर्षमा नै बुझ्न हतारिनु गलत सावित हुनु हो र पनि दिउँसोको झझल्को दिने बिहानीलाई केही मात्रामा बुझ्न आवश्यक देखिन्छ ।

को प्राविधिक को अप्राविधिक ?

अन्य सेवामा जस्तै निजामती सेवामा पनि प्राविधिक र अप्राविधिक कर्मचारीको स्पष्ट कार्य विभाजन सहितको कार्यन्वयन अति आवश्यक छ । त्यसो त कुनैपनि देश विकासका दृष्टिकोणले कायापलट बनाउन प्राविधिक जनशक्तिलाई राज्यको हरेक क्षेत्रमा अधिकतम परिचालन गर्नुपर्ने हुन्छ ।

एकातिर दिनानुदिन देशमा रहदै आएको दक्ष प्राविधिक जनशक्ति विदेश पलायन भइरहेको छ भने अर्कोतिर देशको सेवामा रहँदै आएका प्राविधिक जनशक्ति उपयुक्त विज्ञान र प्रविधिमैत्रीपूर्ण वातावरणको अभावमा आफूलाई समयानुकूल परिमार्जन गर्ने नसकेर आफ्नो ज्ञान, सीप, क्षमता र दक्षता  दिनानुदिन ह्रास गर्न बाध्य छन् ।

हाल सरकारी सेवामा प्राविधिक र अप्राविधिक जनशक्ति छुट्याउन कतिपयलाई हम्मेहम्मे पर्ने स्थिति सिर्जना भएको कुरा नकार्न सकिँदैन । सरकारी सेवा 'पेपर वर्क बेस'मा आधारित छ, अझै भन्ने हो भने त्यहाँ बसेर टिप्पणी उठाउने त हो नि भन्ने कतिपयको तर्कमा दम भएपनि त्यो नै अन्तिम सत्य भने होइन ।

आफूले गर्न खोज्ने, र चाहाना हुने हो भने आफू जुनसुकै सेवामा रहेर पनि रचनात्मक र सिर्जनात्मक कार्य गर्न सकिन्छ । यसका लागि  हामीले विद्युतीय शासन (इ-गभर्नेन्स) को प्रयोगमा जोड दिनुपर्दछ । तर यहाँनेर अप्राविधिक जनशक्तिको बारेमा नकारात्मक विश्लेषण गरिएको छैन बरु प्राविधिक र अप्राविधिक कर्मचारीबीचको असल पारस्परिक समन्वय/सहकार्यले देशको प्रशासनिक क्षेत्र जनउत्तरमुखी र जनउत्तरदायी हुने कुरामा दुइमत रहन्न ।

कर्मचारीमाअहं

आउनोस्, एउटा उदाहरणबाट शुरूवात गरौं, कुरा केही समय अगाडिको हो । म सिंहदरबारको दक्षिण गेटस्थित हनुमानस्थानबाट नेपाल यातायातमा छिरें । सधैंजसो एकपटक गाडीमा यात्रुको घुइँचो तछाडमछाड नै थियो । गाडीमा छिरेर लामो सास लिन नपाउदै सहचालक एकोहोरो कराइरहेको सुन्छु  'परिचयपत्र छ भने देखाउनु नि, सरकारी अफिसको कार्ड देखाएर छुट माग्छन यार !'

कुरो के रैछ भनेर थोरै बुझ्न खोज्दा एक जना यात्रुले सुनाए, 'जहाँबाट तपाईं चढ्नुभयो त्यहींबाट एक जना आफूलाई सरकारी कर्मचारी भनेर दाबी गर्ने व्यक्ति खलासीलाई झपार्दै/थर्काउदै आर्लिएका थिए ।'

यो त एउटा उदाहरण मात्रै थियो । जसले सरकारी कर्मचारीमा दिनानुदिन बढ्दै गइरहेको अहंलाई चित्रण गर्छ । यस्ता किसिमका अनैतिक व्यवहार समाजमा हरेकदिन जसो हुनेगरेको कतिपय सर्वसाधारण बताउँछन् । मानौं एउटा व्यक्ति सरकारी कर्मचारी हुनेबित्तिकै उसले आफू उभिएको धरातल, जिम्मेवारी र विगत बिर्सन्छ अनि बिर्सिन्छ कर्तव्य पनि ।

समाजका हरेक व्यक्तिलाई उसले आफ्नो अगाडि 'कण' जस्तो सम्झिन्छ । मानौं बेरोजगारहरूको अगाडि आफू स्यालको अगाडि बाघ जस्तै हो । अनौठो कुरा छ भने, यो दुष्चक्रले कर्मचारी-कर्मचारीबीच हुने अहंलाई पनि छाडेको देखिदैन ।

यस्तो किसिमको अहंको प्रदर्शन प्रायः माथिल्लो तहको कर्मचारीले तल्लो तहको कर्मचारीका अगाडि गर्ने भएपनि एउटै तहका सिनियरले जुनियरमाथि पनि क्षमताले भ्याएसम्मको अहं प्रदर्शन गर्नेगर्छ ।

अहं गर्ने हरेक व्यक्तिलाई लाग्ने कुरा के होला भने उनीहरूलाई यो दुनियाँको वर्तमानको मात्रै होइन भविष्यको पनि सबै कुरा थाहा छ ।

सरकारी संयन्त्रमा प्रवेशपश्चात भने तल कुल्चिने, माथि लम्पसार पर्ने प्रवृत्ति दिनप्रतिदिन हावी भइरहेको छ भन्ने कतिपयको तर्कमा दम भएपनि त्यो नै अन्तिम सत्य भने होइन ।

सेवाग्राहीसँगका किन्तु-परन्तु मनोभावना

केही दिनअघि अफिसमा बचपनको साथीसँग भेट्ने संयोग जुर्यो । अनि कुरैकुरोमा प्रसङ्ग चल्दै जादाँ उसले आफ्नो नागरिकता प्राप्त गर्दाखेरिको कहानी सुनायो । वर्ष अगाडि एसएलसीपछि उच्च शिक्षा लिन नागरिकता अनिवार्य चाहिने हुनाले उ आफ्नो नागरिकता बनाउन एक दिन पैदल हिंडेर आमाका साथमा सरदमुकाम जुम्ला पुग्यो ।

पहिलो दिन उसलाई सीडीओ बिदामा बसेको जानकारी गराइयो । अनि भोलिपल्ट जिल्ला प्रशासन कार्यालयमा सीडीओले सोधपुछ गर्दा उसको हातले घरिघरि सीडीओको टेबलमा छुन पुगेछ । अनि एक्कासी सीडीओले भनेछ, 'ए भाइ ! यो टेबल तिमीहरूलाई छुन बनाएको होइन !'

प्रतिउत्तरमा साथीले तपाईं बस्नुभएको कुर्ची टेबलमा जनताको खुन पसिना बगेको छ भनेर जवाफ दियो । त्यही जवाफका कारण सीडीओले उसलाई त्यो दिन नागरिकता दिएनन् । भोलिपल्ट बोलाएर नागरिकता थमाए ।

माथिल्लो व्यवहारबाट के प्रष्ट हुन्छ भने नेपालमा राष्ट्रसेवक कर्मचारीले सेवाग्राहीसँग गर्ने व्यवहार यस्तै छ । त्यो व्यवहार बिल्कुलै निजामती कर्मचारीले देखाउने व्यवहार होइन । यस्ता व्यवहार देखाउनेहरूलाई देखाएर आम जनताले सिंगो निजामती कर्मचारीहरूमाथि प्रश्न गर्ने गरेको छ ।

फेरि पनि उज्यालोपना ल्याउन सकिन्छ

फेरी पनि बजारमा उपलब्ध भएसम्मका सबैभन्दा योग्य, क्षमतावान, दक्ष, ज्ञान र सीपले भरिपूर्ण व्यक्तिहरु तुलनात्मक रुपमा निजामती सेवाले प्राप्त गरिरहेको इतिहास हाम्रो सामु छर्लङ्ग रहँदै गर्दा सबै निजामती कर्मचारीलाई एउटै टोकरीमा राखेर लेखाजोखा गर्नु न्यायोचित हुदैन ।  

यहाँनेर के संकेत गर्न खोजिएको हो भन्दा निजामती सेवामा अत्यन्तै मेहनती, ऊर्जाशील, लगनशील, अनुशासित, निष्पक्ष, इमान्दार र उत्तरदायी कर्मचारीहरुको ठूलै जमात पनि छ । उक्त जमात राष्ट्र निर्माण, विकास अनि समृद्धि प्राप्त गर्ने दिशामा अधिकतम परिचालन गर्न सक्ने हो भनेमात्रै देशले ठूलै फड्को मार्नेछ ।

कर्मचारी युनियनको खारेजी, तलबमानमा केही वृद्धि, भ्रष्टाचारमा शून्य सहनशीलता र नयाँ कर्मचारी भर्ना प्रक्रियामा भन्दा पनि भएका कर्मचारीलाई अधिकतम परिचालन गर्ने हो भने हाल देशमा रहँदै आएको कर्मचारी संयन्त्रमा आमूल परिवर्तन आउने कुरामा दुईमत छैन  ।

अन्त्यमा काँधमा जिम्मेवारी, व्यवहारमा इमान्दारी अनि मस्तिष्कमा समझदारी लिई आफ्नो सेवाकालमा सदैव नेपाल, नेपाली जनता र सरकारप्रति प्रतिबद्ध रही अनुशासित ,निष्पक्ष, इमान्दार र उत्तरदायी भई प्रचलित कानुन बमोजिम कार्यसम्पादन गर्नु नै सबै निजामती कर्मचारीको जिम्मेवारी हो ।

कमेन्ट गर्नुहोस्