गढीमाई मेला भर्न आउन थाले भक्तजन

फाइल फोटो

नगरपालिका–१ बरियारपुरमा रहेको ऐतिहासिक तथा प्राचीन गढीमाई मेला विधिवत् रूपमा शुरू भएको छ ।

मंसिर १ गतेदेखि शुरू भएको प्राचीन मेला १ महिनासम्म चल्ने गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले जनाएको छ ।


Advertisement

प्रत्येक ५ वर्षमा लाग्ने सो धार्मिक मेला भर्न तथा राँगा, खसीबोका बलि हेर्न भारतलगायत अन्य मुलुकबाट पर्यटक आउने गरेका छन् ।  


Advertisement

गढीमाई मेलाको मुख्य आकर्षण भनेको बलि नै हो ।  यहाँ भाकल गर्ने र पूरा भएपछि बलि दिन आउनेको संख्या अहिलेदेखि नै बढ्दै आएको पञ्चवर्षीय मेला मूल समितिले जनाएको छ ।

मंसिर १७ गते बोका तथा १८ गते राँगाको बलि दिइने साइत जुरे पनि अहिलेदेखि नै सो ठाउँमा भक्तजन तथा व्यापारी आउने क्रम शुरू भएको छ  । मेलाभरि ३ किलोमिटर टाढा सवारी साधन पार्किङको व्यवस्था गरिएको वडाध्यक्ष सुदामा साह कानुले बताए ।

विश्वमा सबभन्दा बढी पशुबलि दिइने भएपछि सर्वोच्च अदालतले बलि प्रथालाई निरुत्साहन गर्न सरोकार पक्षलाई आदेश दिएपछि सो प्रथा रोक्न खोज्दा गढीमाई मेलाको मुख्य विशेषता नै हराएर जाने भएपछि यस प्रथालाई हटाउन बिस्तारै–बिस्तारै जनचेतना फैलाउँदै जाने गढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवको भनाइ छ ।

दर्शनार्थीलाई प्रवेश गर्न कलैया, कवही, सिम्रौनगढ, मटिअर्वा र बरियारपुरमा गरी ५ प्रवेशद्वार राखिनाका साथै सुरक्षा चुनौतीलाई चुस्त र दुरुस्त पार्न मेला परिसरमा करीब ८० सीसीटीभी क्यामेरा जडान गरिने गढीमाई मन्दिर व्यवस्थापन तथा सञ्चालक समितिका अध्यक्ष रामचन्द्र साहले बताए । मेला व्यवस्थित बनाउन कलैया, मझरिया, मधुवनी, गञ्जभवानीपुर, मलहनी, विजलपुर, अर्नाहालगायत गाउँका १० हजारभन्दा बढी क्षेत्रफलमा १० हजार जति कक्ष  रहनेछन् ।

पञ्चवर्षीय मेला मूल समितिले व्यापार गर्ने व्यापारीसँग प्रतिफिट ३ हजार रुपैयाँको दरले रकम लिएर कक्ष राख्न दिने गरेको छ । देशविदेशबाट मेला भर्न आउने सर्वसाधारण पर्यटकका लागि ६०० भन्दा बढी शौचालय राखिने र ठाउँठाउँमा धर्मावलम्बीका लागि विश्रामस्थल राखिने छ ।

यसैगरी गढीमाईमा आउने पशु स्वस्थ छन् वा छैनन् भनी जाँच गर्नका लागि पशु क्वारेन्टाइन कार्यालय वीरगञ्जले बारा कलवाको मधवनचोक, भुरहाचाक, इन्र्वाचोक, बरियारपुर, भवानीपुर तथा गढीमाई स्कूलमा अस्थायी पशुसेवा तथा उपचार पोस्ट राखेको प्रमुख डा. हरेराम यादवले बताए ।

विक्रम संवत् २०५२ मा चढाउन ल्याइएको खसीबोकामा पीपीआर रोग देखापरेकाले सो सेवा सञ्चालन गरिएको बताइएको छ । कार्यालयले पशुबलि दिने ठाउँमा संक्रमण नहोस् भनेर त्यसको पनि व्यवस्था गरेको छ । पञ्चवर्षीय मेला मूल समितिले टाढाटाढाबाट आउने भक्तजनले बलि दिने चौपाया खरीद गर्न नसकेमा सो बराबरको रकम चढाउनसमेत मिल्ने व्यवस्था गरेको छ । मेलामा मुख्यरूपमा राँगा, खसी, बोका र परेवा चढाउने परम्परा छ ।

कमेन्ट गर्नुहोस्