मोरक्कोबाट स्पेन प्रवेश गर्ने क्रममा कारको ड्याशबोर्ड र पछिल्तिरको सीटमुनि लुकेर बसेका दुई किशोरलाई स्पेनी अधिकारीहरूले फेला पारेका छन् ।
ती किशोर आप्रवासीहरू मोरक्कोको सीमामा रहेको मेलिल्लामा बिहीवार प्रवेश गर्न खोजेका थिए । बेनी–एन्जार क्रसिङमा स्पेनी प्रहरीले बिहीवार उनीहरूलाई फेला पारेको हो ।
१९ र १७ वर्षका ती किशोरहरू गिनीबाट त्यहाँ आइपुगेका थिए । ग्लोवबक्समा १७ वर्षीय किशोर र पछिल्तिरको सीटमुनि १९ वर्षीय किशोर फेला परेका हुन् ।
प्रहरी अधिकारीहरूले नियमित सुरक्षा जाँचका क्रममा कार रोकेका थिए । कारमा संरचनागत त्रुटि देखेपछि उनीहरूले छानबिन गरे अनि ती किशोर लुकेको थाहा पाए ।
प्रहरीले गाडीमा लुकेका मानिस पत्ता लगाउन मुटुको धडकन खोज्ने यन्त्र उपयोग गरेको थियो । त्यस यन्त्रले मुटुको ढुकढुकी सुनाएपछि प्रहरीले थप खोजबिन गरेको थियो ।
दुवै किशोरहरू लुकेको ठाउँमा कुच्चिएर बसेका थिए र प्रहरीले उनीहरूलाई निकाल्दा कारका केही भाग काट्नुपरेको थियो ।
उनीहरूलाई डिहाइड्रेसन र जिउ सुन्न हुने समस्या पाइएपछि उपचार गरिएको थियो । अनि उनीहरू लुकेको ठाउँमा धूवाँ पसेर सास फेर्न अप्ठ्यारो परेको थियो ।
तर उनीहरूलाई गम्भीर स्वास्थ्य समस्या भने थिएन ।
उनीहरूलाई आप्रवासी शिविर केन्द्रमा पठाइएको स्पेनी प्रहरीले जनायो ।
गाडीका चालक ३० वर्षीय मोरोक्कोवासी हुन् । उनलाई मानव तस्करीको आरोपमा पक्राउ गरिएको छ ।
एजेन्सी
लोकान्तर संवाददाता