माथिल्लो कर्णालीमा निहुँ खोज्दै जीएमआर

भारतको निजी क्षेत्रको कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर)ले जिम्मा लिएको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको काम शुरु हुन सकेको छैन ।

लगानी बोर्डले संयोजन गरेका अधिकांश आयोजनाले गति लिन नसकेको नसकेको हो । पिपिएको प्रतीक्षामै जिएमआर रहेकाले जलविद्युत् आयोजनाको हालसम्म देखिने गरी कुनै प्रगति भएको छैन ।


Advertisement

कहिले बङ्गलादेश सरकारसँग विद्युत् खरीद सम्झौताको तयारी भएको त कहिले हरियाणा राज्यसँग विद्युत् बिक्री नै हुन लागेको बताउँदै आएको भारतीय कम्पनी जिएमआरले भने अब बङ्गलादेशसँग उक्त सम्झौताको तयारी गरेको छ ।

त्यसको पुष्टि बङ्गलादेशका विद्युत्, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले समेत गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग बिहीबार भएको भेटमा बङ्गलादेशका ऊर्जा राज्यमन्त्रीले माथिल्लो कर्णालीको विद्युत् खरीदसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने चरणमा पुगेको बताएका थिए ।


Advertisement

जिएमआरका प्रमुख सञ्चालन अधिकृत हरविन्दर मनोचाले बङ्गलादेश सरकारले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित ५०० मेगावाट जलविद्युत् खरीद गर्ने सहमति भएको र छिट्टै त्यसले मूर्तरुप लिने बताए ।

तर, उनले प्रतियुनिट कति मूल्यमा सहमति भएका हो भन्नेबारेमा भने केही जानकारी दिएनन् । ‘बङ्गलादेशको मन्त्रिपरिषद्ले माथिल्लो कर्णालीको विद्युत्को विद्युत् खरीद दर निर्धारण गर्ने तयारी गरेको छ । अब बङ्गलादेशको खरीद समितिले आवश्यक निर्णय गरेपछि सम्झौता हुन्छ र हामी आयोजनाको निर्माण शुरु गर्छौं,’ उनले भने । ।

केही समयभित्रै बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतीय विद्युत् व्यापार गर्ने संस्था एनभिभिएनसँग विद्युत् खरीद–बिक्री सम्झौता हुने उनको भनाइ थियो । ‘हामी आगामी आर्थिक वर्षदेखि कूल ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको निर्माण थाल्छौँ”, प्रमुख सञ्चालन अधिकृत मनोचाले भने, ‘प्रक्रियामा लाग्दा केही ढिलाइ भएको हो, अब त्यस्तो हुँदैन ।’

कम्पनीले माथिल्लो कर्णालीबाट उत्पादन हुनेमध्ये ५०० मेगावाट बिजुली बङ्गलादेश र २९२ मेगावाट भारतीय एनभिभिएनलाई बिक्री गर्नेछ । बाँकी रहेको विद्युत् नेपालले निःशुल्करुपमा प्राप्त गर्नेछ । सञ्चालनमा आएको २५ वर्षपछि आयोजना नेपाल सरकारलाई चालू हालतमा नै हस्तान्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

सन् २०१४ मा आयोजना विकास सम्झौता भएकोमा उत्पादित बिजुली ४०० केभी क्षमताको डबल सर्किट प्रसारण लाइनमार्फत भारतको प्रणालीमा जोडिनेछ । प्रसारण लाइनको दूरी ९९ किलोमिटर रहेको छ ।

 

कमेन्ट गर्नुहोस्