उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बन्द रहेका उद्योगलाई सञ्चालन गर्न सरकारले गृहकार्य शुरु गरेको बताएका छन् ।
चितवन उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा शुक्रवारदेखि शुरु भएको चौथो राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी–२०७६ को उद्घाटन समारोहमा भट्टले व्यवसायीको समस्या जटिल बन्दै गएको बताए ।
उनले एकद्वार नीतिमार्फत अगाडि बढ्नुपर्ने भन्दै मन्त्रालयमा सेवा लिन आउने सेवाग्राहीलाई एउटै मन्त्रालयमा सेवा दिने गरी काम गर्नु आवश्यक रहेको बताए ।
उनले भने, ‘एक मन्त्रालयले अर्को मन्त्रालयसँग सहकार्य गरेर छिटोभन्दा छिटो सेवा दिने व्यवस्था मिलाउनु आवश्यक छ ।’
आयात रोकेर निर्यातमुखी उत्पादन गर्न आवश्यक रहेको उनको भनाइ थियो । कृषि क्षेत्रलाई औद्योगीकरण र व्यावसायिकरूपमा अघि बढाउन भूगोलअनुसारको प्रविधि जोड्नु आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले कृषि बाँच्ने आधार नभएर सभ्यता भएको बताए ।
कृषिलाई औद्योगिक, व्यावसायिक र यान्त्रिकीकरण गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
पुराना उद्योग चलाउँछु भन्ने भट्ट एक्ला मन्त्री होइनन् । उद्योग मन्त्रालयमा जो कोही आएपनि बन्द रहेका पुराना उद्योग चलाउने कुरा गरेका हुन्छन् । यस्ता मिठा कुरा उनीहरूको मन्त्रीपद नहट्ने बेलासम्म रहन्छ ।
गत भदौ १४ गते पनि निवर्तमान उद्योगमन्त्री मातृका यादवले रौतहटको चन्द्रनिगाहपुर पुगेर बन्द रहेका ठूला उद्योग चलाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
त्यस्तै यादव भन्दा पहिला उद्योगमन्त्री बनेका नविन्द्रराज जोशीले बन्द भइसकेका सरकारी उद्योग चलाउने घोषणा गरेर चर्चित बनेका थिए । जोशी कांग्रेसका नेता पनि हुन् ।
लोकान्तर संवाददाता