आफू नै वैकल्पिक शक्ति रहेको राजपा संयोजक महतोको दाबी

फाइल फोटो

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिए मात्र पार्टी एकता सम्भव हुने बताएका छन् ।

जनकपुरस्थित विमानस्थलमा शुक्रवार सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक महतोले समाजवादी पार्टी सरकारसँग नबाहिरिएकाले एकताको सम्भावना तत्कालका लागि नभएको बताए ।


Advertisement

उनले भने, ‘देशमा काँग्रेस र कम्युनिष्ट शक्तिको विकल्पमा नयाँ वैकल्पिक शक्तिको खाँचो छ, त्यसलाई हामी पूरा गर्न लागेका छौँ, तर समाजवादी पार्टीले सरकार नछोडेसम्म एकताको सम्भावना छैन ।’

उहाँले राजपा नेपाल वैकल्पिक शक्ति निर्माणको दिशामा अगाडि बढेको भन्दै सरकारमा गएर वैकल्पिक शक्तिको निर्माण नहुने भएकाले समाजवादीसँग तत्काल एकता सम्भव नरहेको बताए ।


Advertisement

महतोले सरकार बाहिर रहेका सम्पूर्ण शक्तिलाई जनभावनाअनुरूप वैकल्पिक शक्ति निर्माणमा सहयोग गर्न आग्रह गर्दै भने, ‘लोकतान्त्रिक वैकल्पिक शक्ति निर्माणका लागि अहिले पनि समाजवादीलगायतका पार्टीसँग एकताको विषयमा कुरा अघि बढिरहेको छ ।’

मन्त्रिमण्डल पुनर्गठनको विषयमा उनले आफू प्रतिपक्षी दल भएकाले पार्टीको चासोको विषय नभएको बताउँदै राजपाको सरकारमा सहभागी हुने कुनै सम्भावना नरहेको बताए । उनले संविधान संशोधन, आन्दोलनकारी साथीहरुविरुद्धको मुद्दा फिर्तालगायतका माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने बताएका हुन् ।

उनले भने, ‘हाम्रो माग सम्बोधन नभएसम्म सरकारलाई समर्थन गर्न सक्दैनौँ, त्यसैले त सरकारबाट समर्थन फिर्ता लिएर प्रतिपक्षको भूमिका निर्वाह गरिरहेका छौँ ।’

 

कमेन्ट गर्नुहोस्