ललितपुरको हरिसिद्धिदेखि गोदावरीसम्मको ६ दशमलव ७ किलोमिटर सडक धूलो, हिलो र खाल्डाखुल्डीले अस्तव्यस्त छ ।
ठेकेदार कम्पनीको लापरवाहीका कारण काम शुरू भएको ३ बितिसक्दा पनि सडक विस्तार तथा स्तरोन्नतिको कामले उल्लेख्य गति लिन सकेको छैन ।
झण्डै साढे २ वर्षमा काम सक्ने गरी २३ अर्ब ५० करोड ८४ लाख ६४ हजार ८ सय ४५ रुपैयाँमा ठेक्का पाएको समानान्तर निर्माण सेवा प्रालिले म्याद गुज्रिसक्दा पनि २५ प्रतिशतभन्दा बढी काम सकेको छैन ।
सातदोबाटोदेखि गोदावरीसम्म करीब १० किलोमिटर सडक यात्रा गर्न झण्डै डेढ घण्टा लाग्छ । बाटोको ठाउँ–ठाउँमा खाल्डाखुल्डी मात्र होइन पानीको पाइप फुटेर सडक हिलाम्मे पनि भएको छ ।
कतै भने सडक भत्किएकाले धूलो उडेर सर्वसाधारणलाई हिँडिनसक्नु छ ।
समानान्तर निर्माण सेवा प्रालिले रु. २३ अर्ब ५० करोड ८४ लाख ६४ हजार ८ सय ४५ रुपैयाँमा ठेक्का पाएको हो । ८ जुन २०१६ मा काम शुरू गरेको ठेकेदार कम्पनीले १८ जनवरी २०१९ सम्ममा काम सकाउनुपर्ने थियो ।
सडक विभागका इञ्जिनीयर उकेश सुवाल अहिलेसम्म जम्मा २५ प्रतिशत मात्र काम सकिएको बताउँछन् ।
उनका अनुसार अहिले टौखेलदेखि गोदावरी बसपार्कसम्म साढे ३ किलोमिटर सडक बनाउने काम भइरहेको छ ।
सडकको चौंडाइ १६ मिटर रहने छ भने दुवैतर्फ १–१ मिटरको फूटपाथ निर्माण गरिँदैछ ।
सडकको दाँयाबाँया ह्युम पाइप राख्ने र रिटेनिङ वाल बनाउने कार्य भइरहेको छ ।
ह्युम पाइप राख्ने क्रममा खानेपानीको पाइप फुटेर बाटो हिलाम्मे भएको छ ।
वन विभागले सडकको दायाँबायाँको रुख समयमै नकाटिदिँदा पनि काममा ढिलासुस्ती भइरहेको इञ्जिनीयर सुवाल बताउँछन् ।
धार्मिक र पर्यटकीय हिसाबले गोदावरी अत्यन्त प्रख्यात स्थल हो । राजधानीका युवाका लागि फुर्सदमा घुमघामको आकर्षक गन्तव्य हो, गोदावरी ।
यस्तै १२ वर्षमा एकपटक भदौमा एक महिनासम्म सिद्धेश्वर महादेवको मेला पनि लाग्ने गर्दछ । गोदावरीमा प्रख्यात नौ धारा पनि छ ।
फुल्चोकी माईको मन्दिर, उद्योग, विद्यालयका साथै रमणीय स्थल र बोटानिकल गार्डेन पनि त्यहाँ रहेको छ ।
दिनहुँ सयौंको संख्यामा मानिसहरू घुम्न र पिकनिकका लागि गोदावरी पुग्छन् । बाटोको दुरावस्थाका कारण स्थानीयसँगै गोदावरी पुग्ने पर्यटकहरू पनि आजित छन् ।
हेर्नुहोस्, भिडियो :
सुरेन्द्र श्रेष्ठ
श्रेष्ठ लोकान्तरका मल्टिमिडिया संवाददाता हुन् ।