मूल्यवृद्धिले आकाश छोयो, महंगी नियन्त्रणमा किन निकम्मा भए सरकारी संयन्त्र ?

गत वर्ष मंसिरमा प्याजको खुद्रा मूल्य ५०–६० रुपैयाँ प्रतिकिलो थियो । यसपालि प्याजको मूल्य १९०–२०० रुपैयाँ कायम छ ।

कालिमाटी तरकारी बजारले सार्वजनिक गरेको मूल्यसूची अनुसार गत वर्ष मंसिरमा ३०–४० रुपैयाँमा पाइएको रायो सागलाई यसपालि ४०–५० रुपैयाँ पर्छ ।


Advertisement

गत वर्षको तुलनामा यस वर्ष प्याज लगायत दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको देखिन्छ । गत वर्षको तुलनामा बजारमा मूल्यवृद्धि मंसिरमा आएर एकाएक भएको होइन । नेपाल राष्ट्र बैंकका अनुसार असोज महिनामा वस्तु तथा सेवाको मूल्य (मुद्रास्फीति) मा ६.२१ प्रतिशतले वृद्धि भएको थियो, जुन गत वर्ष ४.६८ प्रतिशत थियो । 

वस्तु तथा सेवामा हुने दीगो तथा तीव्र वृद्धिलाई मुद्रास्फीति भनिन्छ । मुद्रास्फीति बढ्दा मुद्राले वस्तु खरिद गर्न सक्ने क्षमतामा ह्रास आउँछ । बैंकको तथ्यांक अनुसार चालू वर्ष उपभोक्ता मुद्रास्फीति १.५३ प्रतिशतले वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार असोज महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.०४ प्रतिशत थियो । अघिल्लो वर्षको असोज महिनामा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ३.४२ प्रतिशत रहेको थियो ।


Advertisement

महंगी भर्खर आएको समस्या नभएको बताउँदै उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले सरकारले नियन्त्रण सम्बन्धी काम नगरेको आरोप लगाए । ‘बजारले आफ्नो भाउ आफैं निर्धारण गर्छ, हामीले काम गर्नै पर्दैन भन्ने मान्यता नेपालमा बसेको छ । उपभोक्ताको हित हेरेर काम गर्न सरकार तत्पर छैन,’ उनले भने, ‘उपभोक्ताको हित हेर्न सरकार लाग्नुपर्‍यो, नियामक भूमिकामा सरकार सक्रिय हुनुपर्‍यो तर यस्तो हुन सकेन ।’ उपभोक्ताको हितका लागि नीति नै बनाएर जान सरकार तयार नभएको बताउँदै सरकार आफ्नै तरिकाले अघि बढेको बताए ।

अर्थविद् चन्द्रमणि अधिकारीले पछिल्लो समय उपभोग्य वस्तुमा मूल्यवृद्धि भएको र गुनासो आउनु स्वाभाविक भएको बताए । उनका अनुसार उपभोग्य सामानको उत्पादन न्यून भएका कारणले मूल्यवृद्धि भएको हो । ‘बजारमा अलिकति अभाव देखिन थाल्यो भने हामी अन्धाधुन्ध सामान किन्छौं । सामानको मूल्य हेर्दैनौं, गुणस्तर हेर्दैनौं, भण्डारण गर्न लागि हाल्छौं,’ उनले भने, ‘उपभोक्तामा चेतना कमी हुँदा व्यवसायीहरूले चलखेल गर्ने मौका पाए ।’ राज्यसँग बजार अनुगमन गर्ने क्षमता नै नदेखिएको उनले बताए ।

जापानमा कुनै वस्तुको भाउ बढ्यो भने पहिला विकल्प खोज्ने र विकल्प भेटेसम्म भाउ बढेको वस्तु खरिद नै नगर्ने परम्परा बसेको बताउँदै उनले नेपालमा पनि विकल्प खोज्नुपर्नेमा जोड दिए । ‘विकल्प भएसम्म मूल्य बढेको सामान किन्न छोडौं, त्यसपछिको केही समयमा नै माग र आपूर्तिको सन्तुलनले त्यस वस्तुको मूल्य घट्न जान्छ,’ उनले भने ।

बंगलादेशकी प्रधानमन्त्रीले प्याज नखाने घोषणा गरेको उदाहरण दिँदै उनले भने, ‘हामीले पनि महंगो वस्तु प्रयोग नगर्नेतर्फ लाग्नुपर्छ । आन्तरिक उत्पादन बढाउन माटोसँग माया माया, पानीसँग पिरति र प्रविधिसँग युवा जागरण गीत हुनुपर्छ । यो उत्पादनबाट, लगानीबाट मात्रै सम्भव हुन्छ ।’

वाणिज्य विभागका निर्देशक सागर मिश्रले नेपालको मिडियाले एउटा मात्रै ‘इस्यू’ पाएझैं गरी महंगीबारे लेखेको बताए । ‘दैनिक रूपमा बजार अनुगमनमा २/३ टोली गइरहेका छन्, दैनिक उपभोग्य सामानको हाम्रो निगरानीमै छ,’ उनले भने, ‘दशैंतिहारको बेला जस्तो अनुगमन नभएपनि वार्षिक कार्यतालिका अनुसार प्रत्येक दिन अनुगमन हुने गरेको छ ।’

सरकारले उपभोग्य वस्तुको मूल्य तोकिदिनुपर्ने बताउँदै उनले भने, ‘अनुगमनका क्रममा मूल्य विश्लेषण गर्ने, वस्तुको अवस्था के छ, मूल्यसूची छ कि छैन, बिल बिजक छ कि छैन भनेर हेर्ने गरिएको छ ।’

कमेन्ट गर्नुहोस्