मुलुक विकास र समृद्धिको यात्रामा लम्केको छ : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकार मुलुकको विकास र समृद्धितर्फ लम्केको बताएका छन् ।

वन्डर्स नेपालले निर्माण गर्न लागेको दक्षिण एसियाकै सबैभन्दा पहिलो स्काई वाक टावरको शुक्रवार शिलान्यास गर्दै उनले सपना देख्नेले मात्र मुलुकको विकास र समृद्धिलाई गति दिन सक्ने बताउँदै मुर्छित सपनालाई जागृत गर्न आम नेपाली युवा लाग्नुपर्ने बताए ।


Advertisement

उनले सपना देखेर नै विकासका काम हुने भन्दै सपना देख्ने साथीहरूको अभियान नै स्काई वाक टावर निर्माण कार्यको प्रारम्भ भएको उल्लेख गरे ।

‘सपना नदेख्नेले मुलुकलाई गति दिन सक्दैनन्, परिवर्तन गर्न सक्दैनन् । हिजो सपना देख्नेलाई लाञ्छित गरिन्थ्यो, अझै पनि रहलपहल रहेका छन्,’ उनले भने, ‘सपना देख्नेलाई लाञ्छित गर्ने पात्र अझै यदाकदा अलिअलि रहेका छन् । सपना देख्नेलाई गाली गर्नेले यो स्काई वाक टावरको निर्माणबाट सिकून्, बुझुन् र जानुन् ।’


Advertisement

नयाँ काम गर्ने संकल्प तथा घोषणाअनुसार उक्त कार्यको शुभारम्भ गरिएको भन्दै उनले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय अभियानलाई पूरा गर्न काम गरेर देखाउनुपर्ने धारणा राखे ।

उनले समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थकतामा पुर्‍याउन पर्यटन क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उक्त स्काई वाक टावरले पर्यटन क्षेत्रमा ठूलो टेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाली युवाले अन्तर्राष्ट्रिय क्षेत्रमा सिकेको ज्ञानसित तथा कमाइको केही रकमलाई नेपालमा प्रयोग गर्दै स्काई वाक टावरको निर्माणमा जुट्नु नेपालमाथिको भरोसा जाग्दै गएको बताउँदै निरासावादी चिन्तनलाई परास्त गर्दै देशमै केही सम्भावना रहेको विश्वास पैदा भएको बताए ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्