विपक्षीको विरोधको कुनै अर्थ छैन : नेता रायमाझी

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले सरकारले तीव्रगतिमा परिणाम आउने गरी काम गरिरहेकाले विपक्षीको विरोध अर्थ नभएको बताएका छन् ।

नेता रायमाझीले भने, ‘राष्ट्रियता, सुशासन, विकास र समृद्धिको यात्रामा सरकार अघि बढिरहेको छ, म दोहोर्‍याएर भन्न चाहन्छु, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारको विरोध र आलोचना गरेका विषयमा सत्यता छैन ।’


Advertisement

नेता रायमाझीले सरकार पछिल्लो समय भ्रष्टाचार निर्मूलीकरणका लागि कठोररूपमा अघि बढिरहेको भन्दै राष्ट्रियताको विषयमा पनि आफ्नो अडानमा रहेको प्रष्ट पारे ।

रिपोटर्स क्लबमा आयोजित कार्यक्रममा उनले भने, ‘भारतले नेपालको सीमा अतिक्रमण गरेको विषय अहिले उजागर भएको छ, हाम्रा सीमा स्तम्भहरू अतिक्रमित भएका छन्, सरकारले अब यो विषयलाई समाधानका लागि पहल गरिरहेको छ ।’


Advertisement

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले मुलुकमा बलात्कार, हत्या, हिंसा, असुरक्षा र दण्डहीनताका कारण जनतामा निराशा बढ्दै गएको भन्दै त्यसको अन्त्य गर्नुपर्नेमा जोड दिए ।

अर्काे प्रसङ्गमा उनले कांग्रेस पार्टीलाई व्यक्तिमुखीभन्दा संस्थामुखी बनाउन नेतृत्वसँग आग्रह गरे । नेता केसीले पार्टीको १४ औं महाधिवेशन तोकिएकै अवधिमा हुनुपर्नेमा जोड दिँदै सम्पूर्ण रूपबाट महाधिवेशनमा केन्द्रित हुन कार्यकर्तालाई आग्रह गरे । 

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिले महंगी, भ्रष्टाचार, सुुशासनको कुराभन्दा पनि राष्ट्रियता मुख्य भएकाले त्यसतर्फ केन्द्रित हुन आह्वान गरे ।

कमेन्ट गर्नुहोस्