‘मिहिनेत गर्दा हुँदो रहेछ’

किरणसिंह बोगटीलाई म्याराथन दौडबारे जानकारी नै थिएन । उनी मार्सल आर्टस्को कुनै एक खेल सिक्न चाहन्थे । ०६१ भदौमा एपिएफमा भर्ती भएका बोगटीले उसु र बक्सिङ सिक्न पनि थाले । यी दुई खेलमा उनले राष्ट्रिय स्तरसम्मका प्रतियोगिता खेलेका छन् । तर, उनलाई सफलता अर्कै खेलमा मिल्नु थियो । तीन वर्षअघि म्याराथन दौडन थालेका उनले १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपाललाई स्वर्णपदक दिलाएका छन्, त्यो पनि एथलेटिक्समा बलियो मानिने भारत, श्रीलंकालगायत राष्ट्रका खेलाडीलाई पछि पारेर । 

उनले जितेको स्वर्ण नेपाली खेलकुदका लागि सागको म्याराथनतर्फ २४ वर्षपछिको पदक हो । उनी सागको म्याराथनमा नेपाललाई स्वर्ण दिलाउने तेस्रो खेलाडी बनेका छन् । उनीभन्दा अघि वैकुण्ठ मानन्धरले नेपाललाई सागको पहिलोदेखि तेस्रो संस्करणसम्म लगातार तीन स्वर्ण दिलाए । सन् १९९५ मा भारतको मद्रासमा भएको सातौँ साफमा टीका बोगटीले म्याराथनतर्फ स्वर्ण जितेका थिए । 


Advertisement

त्यसपछि नेपालले साग खेलकुदको म्याराथनमा स्वर्ण जितेको यो नै पहिलो अवसर हो । सन् २०१० मा बंगलादेशको ढाकामा भएको ११औँ सागमा राजेन्द्र भण्डारीले स्वर्ण जिते पनि आवश्यक दूरी नभएको भन्दै आयोजकले रोड रेसको नाम दिएको छ । किरणले स्वर्णका लागि दुई घन्टा २१ मिनेट १७ सेकेन्डमा निर्धारित दूरी पूरा गरेका थिए । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भई कलंकी, सातदोबाटो, सूर्यविनायक भक्तपुर, बानेश्वर, भद्रकाली, लैनचौर, नागपोखरी, घन्टाघर, फेरि भद्रकाली हुँदै रंगशाला पुगेर टुंग्गिएको म्याराथनमा बोगटीले सुरुदेखि फिनिसिङ लाइनसम्म अग्रता कायम राखेका थिए । 

आफ्नो देशका लागि महत्वपूर्ण पदक दिलाएपछि उनी निकै हर्षित देखिए । ‘हाम्रा लागि योभन्दा ठूलो खुसी अरू के हुन्छ र ?’ मन्द मुस्कानसहित बोगटीले भने । बोगटी नेपाली एथलेटिक्समै चिनिएका धावक होइनन् । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत उनी तेस्रो भएका थिए । आठौँ राष्ट्रिय खेलकुदमा पहिलो भएका कृष्ण बस्नेत र दोस्रो भएका दुर्गाबहादुर बुढा दुवैले १३औँ साग खेल्न पाएनन् ।


Advertisement

बन्द प्रशिक्षणमै रहेका वेला कृष्णको आमाको निधन भयो । भारतीय सेनामा कार्यरत दुर्गा आफ्नो जागिरमा फर्किए । कृष्णले खेल्न नपाउने भएपछि अवसर पाएका आर्मी क्लबकै सोमलाल श्रेष्ठले पनि म्याराथन दौडिए, तर उनी चौथो भए । ‘म नेपाली म्याराथनमा जुनियर खेलाडीभन्दा पनि नयाँ हुँ,’ किरण भन्छन्, ‘तर, मिहिनेत गर्दा हुँदो रहेछ ।’  किरण आफ्नो क्लबभित्र आयोजना हुने आइजिपी कपमार्फत एथलेटिक्स खेलमा छिरेका हुन् ।

‘अन्य खेलाडी नभएपछि पहिलोपटक पोखराबाट २०७१ मा आइजिपी कप खेल्न आएको थिएँ । एथलेटिक्समा त्यो नै मेरो पहिलो प्रतिस्पर्धा थियो,’ खेल यात्राबारे उनले भने, ‘०७२ मा पाँच किलोमिटर, ०७३ मा १० हजार मिटर पनि दौडिएँ, यी सबैमा प्रथम भएँ । त्यसपछि एपिएफले मलाई क्लबमा तानेको हो । काठमाडौं आउनुअघि मैले पोखरामै म्याराथन पनि दौडिएँ । त्यसपछि भने यो खेलमा मेरो लगाव बढ्यो ।’ उमेरले ३४ वर्ष पुगिसकेका उनी अझै केही वर्ष म्याराथनमै मिहिनेत गर्न चाहन्छन् । उनी भन्छन्, ‘उमेरले अब धेरै साथ नदेला तर ४० वर्ष पुग्ने वेलासम्म यसमै मिहिनेत गर्नेछु ।’ नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्