मंसिर ३, २०८०
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
पशुपति आर्यघाटमा घाट व्यवस्थापन समितिकै तर्फबाट शवमाथि खेलबाड हुन्छ, बार्गेनिङ हुन्छ भन्ने सुनिएको थियो ।
मृतकका आफन्तले आफैं शव जलाउन खोजे दाउरा लगायतका दाहसंस्कारका समान पूरा दिँदैनन्, समितिकै तर्फबाट जलाउन आग्रह गर्ने हो भने दाहकहरूले इमोसनल ब्ल्याकमेल गर्छन्, अनाश्यक निहुँ झिकेर खोचे थाप्छन्, दुःख दिन्छन्, भावनामा खेलेर अतिरिक्त रकम असूल गर्छन् भन्ने पनि सुनिँदै आएको थियो तर विश्वास भने लागेको थिएन ।
गत कात्तिक ३० गते शनिवार आफैंले यस्तो अप्रिय घटनाको सामना गर्नुपर्यो, व्योहोर्नुपर्यो । पंक्तिकार आफ्नै आमाको शव लिएर दाहसंकारका लागि त्यहाँ पुगेको थियो त्यसदिन । साथमा हामी चार भाइ थियौं, दाजु देवराज, भाइहरू बुद्धिप्रसाद, नारायणप्रसाद र पंक्तिकार आफैं ।
दाहसंस्कारको सामान खरिद गर्न जाँदा घाट व्यवस्थापन समितिको तर्फबाट सोधियो दाहसंस्कार कसले गर्ने भन्ने कुरो । प्रश्नको आशय थियो दाहसंस्कार आफैंले गर्ने कि समितिको तर्फबाट गराउने भन्ने । हामीले आफैं गर्ने सोच बनाएका थियौं तर साथमा हुनुभएका भुक्तभोगी वयोवृद्ध अग्रजले भन्नुभयो–
‘यो त्यति सजिलो छैन । पहिलो कुरा समय बढी लाग्छ आफूले जलाउँदा । दोस्रो कुरा दाहसंस्कारका लागि चाहिने दाउरा, पराल, घ्यू लगायतका सामान नै पूरा दिँदैनन् कर्मचारीले । सामान नपुगेर पटक–पटक लिन जानुपर्छ, बढी शुल्क तिर्नुपर्ने झन्झट त छँदैछ । साथसाथै दाउरा समेत आफैले काँधमा बोकेर ल्याउनुपर्छ । भर्खरै केही दिनअघि मलाई त्यस्तै भएको थियो । मैले थाहा पाएअनुसार अन्य आफन्तको अनुभव पनि त्यस्तै छ ।’
उहाँको अनुभव सुनेपछि हामीले आफैंले जलाउने आँट गर्न सकेनौं र समितिकै तर्फबाट जलाइदिन आग्रह गर्यौं । समितिले सामानको साथै दाहसंस्कार गर्ने मानिसको शुल्कसमेत जोडेर रसिद काट्यो । शुल्क तिरेर फर्कने क्रममा समितिका तर्फबाट भनियो– ‘के गर्ने हजुर यस्तै हो, दाहसंस्कार गर्नेले छुट्टै आश गर्छन्, दुई–पाँच सय दिनुहोला ।’
हामीहरू हुन्छ भनेर फर्कियौं । समितिकै तर्फबाट सबै काम फटाफट भए । करीब दुई घण्टामै दाहसंस्कारको काम सकियो । फर्कने बेला ‘मेरो ज्याला खोइ ?’ भन्दै बाटो छेक्न आए दाहसंस्कार गर्ने भाइ । रु. पाँच सय झिकेर दिए भतिज भगवान् रिजाल र ज्वाईं रामप्रसाद ढुङ्गानाले । समितिका कर्मचारीले पहिले जति भनेका थिए त्यति नै दिएका थिए उनीहरूले त्यतिबेला तर दाहक भाइले ठाडै अस्वीकार गर्दै भने– ‘त्यतिले पुग्दैन, दुई हजार चाहिन्छ, हाम्रो रेट नै यही हो, त्यति नै दिनुपर्छ ।’
उनी खोचे थापेर कड्किन थालेपछि हामीले भन्यौं– ‘होइन भाइ ! कस्तो कुरा गर्दैछौ तिमी । तिम्रो ज्याला समतिमै बुझाएर आएका छांै, उतै माग्नु, यो त हाम्रोतर्फबाट छुट्टै चिया खर्छ दिएका हौं लेऊ’ हाम्रो कुरा काट्दै उनले भने ‘कसले कहाँ कति दियो जान्दैनौं । हाम्रो रेट त्यति हो, जुन हामीलाई नै दिनुपर्छ । दिने भए दिनुहोस्, होइन भने भयो, पर्दैन त्यसै जानुहोस् । तपाईंको आमालाई सित्तैमा जलाइदियौं ।’
इमोसनल ब्ल्याकमेल गर्न थाले । हामीले विवाद गर्न चाहेनौं र उनले भने जति नै दिएर बिदा भयौं ।
सबै आफन्त बितेर त्यहाँ पुगेका हुन्छन् । आर्यघाटमा पुग्ने भनेकै आफन्त बितेर हो । उनीहरू यसैपनि भावनामा बगेका हुन्छन् तर यसको अर्थ यो होइन कि त्यसैलाई भजाएर ब्ल्याकमेल गर्नु, गर्न थाल्नु । यो सरासर ठगी हो, लुट हो, बेइमानी हो । आर्याघाटमा पुग्दा पनि घूस, ठगी, ब्ल्याकमेल र मोलमोलाइको सामना गर्नुपर्छ भने अन्यत्र के आशा गर्ने ? प्रसूतिगृहदेखि आर्यघाटसम्मको सरकारी शुल्क तिरेका हुन्छन् जनताले । त्यसमाथि छुट्टै नजराना चढाउनुपर्छ भने यो कस्तो मानवता हो, कहाँ गर्ने मानवीय मर्यादाको खोजी ? यसमा ध्यान दिनुपर्ने सम्वद्ध निकायले हो तर यहाँ त सम्वद्ध निकाय आफैं मतियारको भूमिका निर्वाह गरिरहेको छ भने कसलाई के भन्ने ?
पशुपति क्षेत्र विकास कोषले घाटको व्यवस्था गरेको छ । दाहसंस्कारको सबै व्यवस्था मिलाएर राम्रै काम गरेको छ भन्नुपर्छ । दाहसंस्कारको सामग्री त्यहीँबाट पाइन्छ । दाहसंस्कार गराउने मानिस र त्यस्तै परे क्रियाकर्म गर्ने मानिससमेत उपलब्य गराइदिन्छ उसले । त्यो पनि राम्रै हो तर त्यसैलाई व्यपारको माध्यम भने बनाउनु हुँदैन, पाइन्न । दाहसंस्कार मृतकको आफन्त आफैंले गर्न चाहे भने पनि निर्वाधरूपमा त्यसको व्यवस्था मिलाइदिनुपर्छ । सामानमा कैफियत गरेर आफन्त बितेर शोकमा परेकालाई थप अप्ठ्यारोमा पार्नु हुँदैन । यो घोर अन्याय हो, अपराध हो । व्यपार नै गर्ने भए अन्यत्र गए हुन्छ । सेवाको खोल ओडेर बेइमानीको धन्दा गर्न पाइन्न ।
दाहसंस्कार समितिकै तर्फबाट गराउन चाहनेले पनि विधिवत रसिद काटेर शुल्क तिसकेपछि कर्मचारीले शवमाथि ब्ल्याकमेल गर्ने छुट पाउनु हुँदैन, दिनु हुँदैन । दाहसंस्कारको ज्याला नपुगेको भए समितिले नै त्यसको व्यवस्था मिलाइदिनुपर्छ । रसिदमा उल्लेख भएको रकममा कसैले बिमति जनाउँदैन । चुपचाप तिर्छन्, तिरेकै छन् । सञ्चारमाध्यममा काम गर्छौं, दुईचार अक्षर पढेका छौं । केही देश, विदेश घुमेका पनि छौं, केही बुझेका पनि छौं । हाम्रो काम नै त्यही हो । हामीजस्ताले समेत त्यस्तो अप्रिय स्थितिको सामना गर्नुपरेको छ भने सर्वसाधारणको अवस्था कस्तो होला ।
कुरो एकाध हजार बढी तिर्नुपर्यो भन्ने होइन । आवश्यक परे तिर्नुपर्छ, तिरैकै छन् तर नियत भने सफा हुनुपर्छ । तोकिएको शुल्क तिरेपछि छुट पाउनुपर्छ सबैले । अनावश्यक निहुँ झिकेर खोचे थापी जति सकिन्छ उति बढी धुत्ने धृष्टता गर्नुहुँदैन । मानिसका भावनामा खेलेर अनावश्यक झण्झट दिने, दुःख दिने, शोषण गर्ने छुट कसैलाई पनि छैन, हुँदैन । यो सरासर मानवतामथिको आघात हो । मानवीय मर्यादाको उल्लङ्घन हो । आशा छ पशुपति क्षेत्र विकास कोषले यथाशीघ्र ध्यान दिएर कडा कदम उठाउनेछ । अस्तु अहिलेलाई यति नै ।
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
हाम्रा पुर्खाहरूले २०० (सन् १८१४) वर्षअघि कस्तो समाजमा जीवनयापन गरे ? यसको लेखाजोखा हेर्दा कहालिलाग्दा तथ्यबाहेक केही भेटिन्न । मूलतः पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका युवाहरू लावालस्कर लागेर युद्धमा होमिए ।...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...
गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...