पुनम भन्छिन् : स्वर्ण जितें, अब घर बनाउछु

बुवाको साथ बाल्यकालमै टुट्यो । काठमाडौंमा सम्पत्ति र जागिर नभएकी एक्ली आमाले हुर्काएकी थिइन्, पुनम  श्रेष्ठ र उनकी दिदीलाई ।

घरको कमजोर आर्थिक अवस्थाका कारण पुनमकी दिदी वैदेशिक रोजगारमा छिन् ।


Advertisement

दिदीकै सहयोगमा आफ्नो खेललाई निरन्तरता दिएकी पुनमले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जुडोतर्फ नेपाललाई स्वर्णपदक दिलाएकी छन् । पुनमले सोमवार भएको महिला ७८ केजीमुनि तौल समूहमा स्वर्ण जितेकी हुन् । राउन्ड रोबिन लिग प्रणालीमा भएको प्रतिस्पर्धाको अन्तिम खेल बंगलादेशी खेलाडी फरिना खानोमलाई इप्पोनका आधारमा पराजित गर्दै पुनमले स्वर्ण निश्चित गरेकी हुन् । 

सशक्त प्रदर्शन गरेकी पुनमले त्यसअघि भारत र श्रीलंकाली खेलाडीलाई पनि सहजै पराजित गरेकी थिइन् । घरको आर्थिक अवस्थासँ जुद्दै खेलमा मिहिनेत गरेकी पुनमको स्वर्ण निश्चित भएपछि रिङमै आँसु झरेको थियो ।


Advertisement

‘यो पदकका लागि वर्षौंदेखि मिहिनेत गरेकी थिएँ । मेरो सफलतामा आमा र दिदीको दुःख जोडिएको छ, मलाई सिकाउने प्रशिक्षकको मिहिनेत जोडिएको छ,’ पुनमले भनिन्, ‘यो पदक आमा, दिदी, गुरु र नेपाली जुडो परिवारलाई समर्पण गर्न चाहन्छु ।’

पुनमको बाल्यकाल काठमाडौंको सहायतागृहमा बितेको हो । आफ्नै घर बनाउने उनको ठूलो धोको छ । ‘दिदीले विदेश गएर चितवनमा जग्गा किन्नुभएको छ । आमाले अब घर बनाउने जिम्मा मलाई दिनुभएको छ,’ पुनमले भनिन्,‘अब घर बनाउँछु ।’ नयाँ पत्रिकामा खबर छ । 

 

कमेन्ट गर्नुहोस्