साहित्य र सरकारी सेवामा रमाएका जीवराज

शेरबहादुर थापा
शेरबहादुर थापा

लोकान्तर संवाददाता थापा कर्णाली प्रदेशबाट रिपोर्टिङ गर्छन् ।

सल्यानको शारदा नगरपालिका वडा नं. ३ (साविक खलंगा गाविस)मा जन्मिएका जीवराज बुढाथोकी हाल कर्णाली प्रदेश सभा सचिव (विशिष्ट श्रेणी) पदमा कार्यरत छन् ।

निजामती सेवाको संसद सेवामा २०५१ साल चैत २१ गते शाखा अधिकृत पदमा लोकसेवा आयोगबाट सिफारिस भई सेवा प्रवेश गरेका बुढाथोकी करीब २४ वर्ष अविछिन्न सो सेवाको सहसचिव पदसम्म काम गर्दै आइरहेकामा यसै वर्षको जेठ १२ गतेदेखि कर्णाली प्रदेश सभामा कार्यरत छन् ।


Advertisement

बुबा स्व. रेशमबहादुर बुढाथोकी, आमा देवकुमारी बुढाथोकीका तीन दाजुभाइमध्ये उनी जेठा हुन् । माइला हरिबहादुर बुढाथोकी जिल्ला निर्वाचन कार्यालय सल्यानमा जिल्ला निर्वाचन अधिकारी पदमा कार्यरत छन् भने कान्छा भाइ रणबहादुर बुढाथोकी नेपाल खाद्य संस्थान केन्द्रीय कार्यालय भद्रकालीको वरिष्ठ अधिकृत (नवौं तह)मा कार्यरत छन् ।

२०३४ सालमा सल्यानको त्रिभुवन जनमाध्यमिक विद्यालय खलंगाबाट एसएलसी उत्तीर्ण भएका थिए बुढाथोकी । कक्षा ६ मा अध्ययन गर्दा तत्कालीन  प्रधानमन्त्री मरिचमान सिंह उक्त विद्यालयको प्रधानाध्यापक रहेको र उनीबाट अंग्रेजी भाषा पढेको अनुभव उनको छ । 


Advertisement

मध्यम वर्गीय परिवारमा जन्मिएका बुढाथोकीका बुवा रिटायर ब्रिटिस इण्डियन आर्मी थिए । बुवाको फौजी अनुशासन घरमा पनि कायम थियो । जथाभावी बोल्न, डुल्न, बरालिन, मेला जात्रामा जान कडाई थियो । पढनुपर्छ र मेहनत गर्नुपर्छ भन्ने कुरा उहाँबाट नै आफुले सिकेको बुढाथोकी बताउँछन् । प्राथमिक अंग्रेजी भाषा बुवाबाटै सिकेको उनको भनाइ छ । 
२०३४ सालमा एसएलसी उत्तीर्ण भइसकेपछि जिल्ला शिक्षा कार्यालय जाजरकोटमा खरिदार पदमा जागिर खान पुगेका बुढाथोकीले पढाइलाई निरन्तरता दिन सकेनन् । अहिलेको जस्तो सबै जिल्लामा तत्काल कलेज खुलेका पनि थिएनन् । मध्यपश्चिम क्षेत्र भरमा नेपालगञ्ज र दाङमा मात्र उच्च शिक्षाको लागि कलेजहरू खुलेका थिए । जागिरे भइसकेपछि बाँसुरी बजाउने, गीत कविता लेख्ने, दोहोरी गीत गाउने क्षेत्रमा उनी तल्लिन भए । छ वर्षपछि २०४० सालमा बल्ल उनले महेन्द्र बहुमखी क्याम्पस नेपालगञ्जमा प्रविणता प्रमाणपत्र तहको कानून विषयमा आइएलमा भर्ना भए । लामो समय पढाइ अवरुद्ध भएको कारणले कयौं कुरा बिर्सिसकेको र अंग्रेजी भाषामा अक्षरसम्म पनि लेख्न विर्सिसकेको अनुभव उनले लोकान्तरसँग साटे । 

‘जीवनको सबैभन्दा महत्वपूर्ण संघर्ष र अनुभव  म आफूभन्दा करीब ६ वर्ष साना भाइ बहिनीहरूसँग कक्षा साथी बनि एउटा अब्बल दर्जाको विद्यार्थीमा परिणत हुनु मेरा लागि स्मरणीय  र अचम्ममको विषय लाग्छ,’ उनी भन्छन्, ‘राम्रो विद्यार्थीको रुपमा मैले २०४२ सालमा राम्रो डिभिजनमा आईएल सकें । २०४३ सालदेखि मैले नेपाल ल क्याम्पस काठमाडौंमा बी.एल तहको अध्ययन शुरू गर्दा गोश्वारा हुलाक कार्यालय सुन्धारामा नायब सुब्बाको जागिर गर्न थालेको हुँ । २०४६ सालमा बी.एल पनि सहजै उत्तीर्ण गर्न सफल भएँ ।’

कानूनमा स्नातक भइसके पछि जागिरको खोजी गरिरहेको बेला २०५१ सालमा उनी नेपाल संसद सेवाको शाखा अधिकृत पदमा सिफारिस भए । जागिर खाँदा खाँदै उनले नियमित रुपमा अध्ययनलाई पनि निरन्तरता दिए । ‘मैले राजनीति शास्त्रमा स्नातकोत्तर गरेपछि पुर्वाञ्चल विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर साथै त्रिविबाट जनप्रशासनमा पनि स्नातकोत्तर गरें,’ उनी भन्छन्, ‘यसरी तीन विषयमा स्नातकोत्तर गरिसकेपछि एक वर्षे वि।एड। पनि गरें ।’ 

यो अवस्थामा आइपुग्दा २०५९ सालमा उनी संसद सेवाकै उपसचिव पदमा बढुवा भए । त्यसपछि २०७० साल माघमा संसद सेवाकै सहसचिव पदमा पदोन्नती भएका बुढाथोकीले संसद सेवा सम्बन्धी संसदीय काम कारवाही, कार्यविधि, व्यवहार एवम अभ्यास सम्बन्धी व्यापक अनुभव बटुले ।

‘राष्ट्रिय मात्र नभई संसदीय काम कारबाही, गतिविधि र अभ्यासको बारेमा अन्तर्राष्ट्रिय एवम् सैद्धान्तिक र व्यावहारिक अध्ययन र अनुभव सँगाले,’ उनी भन्छन्, ‘संविधानसभा कालमा संघीयता र गणतन्त्र भन्ने विषय हाम्रो लागि नौलो थियो । संविधान बन्ने क्रम जारी थियो । यो बीचमा विश्वका संविधान सभा, तिनका काम कारवाही, कार्यविधि अध्ययन गरि हाम्रो संविधान निर्माण प्रक्रियालाई सहज तुल्याउन सहज होस भन्ने उदेश्यले धेरै देशहरूका संविधानसभाको बारेमा अध्ययन गरि कैयौं लेख रचनाहरू श्रंखलाबद्ध रुपमा राष्ट्रिय मुलधारका सञ्चारमाध्यममा धेरै लेख रचनाहरू लेखें ।’

संविधान सभामा उनलाई नागरिक सम्बन्ध तथा जनमत संकलन समितिको सचिवको जिम्मेवारी दिइएको थियो । यतिमात्र नभई उनले विधेयक महाशाखाको जिम्मेवारी पनि सफलतापूर्वक निर्वाह गरे । ‘यसको अतिरिक्त मलाई विभिन्न संसदीय मुद्दाहरूको सम्वन्धमा अध्ययन, अनुसन्धान र छानविन गरि प्रतिवेदन पेश गर्न गठित समितिहरूको सचिवमा जिम्मेवारी दिइन्थ्यो । नेपाल प्रहरीको सुडान घोटाला काण्डको प्रतिबेदन मैले नै तयार गरेको थिएँ,’ उनी भन्छन्, ‘२०७० सालमा सम्पन्न संविधानसभाको देश्रो चुनाव धाँधली भयो भन्ने सन्दर्भमा गठित छानविन समितिको प्रतिबेदन पनि मैले नै तयार गरेको हो ।  २०७२ सालको आम विनाशकारी भुकम्प आइसकेपछि सो बाट हुन गएको तत्कालीन  क्षति र उद्धारको सम्वन्धमा अध्ययन गरि सरकारलाई राय सुझाव तथा निर्देशन दिन तत्कालीन  सभामुख सुवासचन्द्र नेम्वांगको अध्यक्षतामा गठित उच्च स्तरीय समितिको प्रतिवेदन पनि मैले तयार गरेको थिएँ ।’

सुडान घोटाला काण्ड लगायत अन्य विषयहरूको छानविन गर्दा वा प्रतिवेदन तयार गर्दा कुनै दबाब आयो आएन भन्ने सन्दर्भमा लोकान्तरसँग कुरा गर्दै उनी भन्छन्, ‘दबाब तथा प्रलोभन नआएको होइन,’ उनी थप्छन्, ‘सुडान काण्डमा मुछिएका तत्कालीन तीन आइजीपीहरू अहिले पनि जेल सजाय भोगिरहेका छन् तर जे भएपनि आफ्नो कर्तव्य, सम्पादनमा पदीय निष्ठा, स्वस्थ दिमाग र स्वच्छ व्यवहारले कुनै पनि कुरा सम्पादन गरेमा अन्य कुराले विचलित गर्दैन भन्ने कुरामा म दृढ र आश्वस्त थिएँ ।’ 

उनी संसदीय काम कारबाही र प्रक्रियाको बारेमा विभिन्न अध्ययन, सेनिार तथा गोष्ठीमा सहभागी हुने क्रममा विश्वका झण्डै डेढ दर्जन चर्चित देशहरूको भ्रमण तथा अवलोकन गर्न पुगेका छन् । जसमा भारत, बंगलादेश, पाकिस्तान, चीन, जापान, भियतनाम, दक्षिण कोरिया, सुडान, कंगो, रुवान्डा, युगाण्डा, फिनल्याण्ड, नर्वे, अमेरीका र टर्की पुगेका छन् ।
संसदीय अभ्यासको बारेमा भन्दा उनी बेलायतको बारेमा अध्ययन गरेको भएपनि भ्रमण गर्न अवसर नजुरेको बताउँछन् । ‘मैले भ्रमण गरेको आधारमा भन्ने हो भने सबैभन्दा राम्रो संसदीय प्रणालीको अभ्यास भएको देशहरू मध्ये भारत हो । जापान पनि संसदीय प्रणालीको राम्रो अभ्यास गर्ने देशमा जापान पनि पर्छ,’ उनले भने, ‘अमेरिकामा अध्यक्षात्मक शासन प्रणालीको व्यवस्थापकिय प्रणाली पनि असाध्यै राम्रो छ ।’

हाम्रो संसदीय विकास र कामकारवाहीको हिसाबले संघीय संसदले एउटा ठोस दिशा समातिसकेको उनको भनाइ छ । र दुई वर्षको अवधिभित्र पनि प्रदेश सभाहरूले आफ्नो गतिलाई एउटा निश्चित दिशामा निरन्तरता दिइसकेको अवस्था रहेको उनको विश्लेषण छ । ‘तर स्वस्थ संसदीय काम कारबाही र अभ्यासको लागि जुन एउटा कार्यपालिका र व्यवस्थापिका बीचको सम्वन्ध हो, त्यो संघर्षपूर्ण हुनुहुँदैन । बेमेल टकरावको स्थिति हुनुहुँदैन । जस्तो पाकिस्तानमा संसदीय अभ्यास भएको कैयौं वर्ष भएको भएतापनि संसदीय प्रणाली पूर्णरुपले संस्थागत हुन सकेको छैन,’ उनले भने, ‘संसदीय प्रणाली सफलताको लागि सरकार र संसदबीच एउटा अदृश्य संयन्त्र हुन्छ । संसदीय प्रणालीमा बहुमत प्राप्त पार्टीको सरकार हुन्छ, नभए दलीय तालमेलका आधारमा बहुमतको सरकार बनाइन्छ । सरकार बहुमतको भएपछि सदन र संसदीय समितिहरूमा सरकार पक्षको बहुमत हुन्छ । यस अवस्थामा सरकारले प्रस्तुत गरेको विधेयक, बजेट र अन्य नीतिहरू सामान्य सुधार बाहेक सरकारकै चाहना र अनुकुलता अनुसार पारित हुने कुरा विश्वव्यापी प्रचलनमा रहेको छ ।’

संसदले छलफलको दौरानमा सरकारबाट प्रस्तुत एजेण्डामा व्यापक छलफल र विरोध गरेपनि अन्ततः सरकार फेल हुनेगरी कुनै प्रस्ताव पारित गर्न नसक्ने उनको भनाइ थियो । ‘यस अर्थमा अदृश्य संयन्त्र भनेको सरकार सदनबीचको भद्र सहमति र सम्झौता र आपसी सदभाव अनि विश्वास हो । कुन पक्षले कति कुरा ग्रहण गर्ने र छोडने यो कुनै प्रस्ताव पारित वा सम्झौताबाट नभएकोले अदृश्य संयन्त्र भनिएको हो । यो अदृश्य संयन्त्र दुइ निकायबीच व्यवस्थित र सौहाद्रपूर्ण भएमा संसदीय प्रणाली विकसित र मजबुत हुन्छ ।’ 
अध्यक्षतात्मक शासन प्रणालीमा यो अदृश्य संयन्त्रको आवश्यकता हुँदैन या त सरकार प्रबल हुन्छ या कार्यकारी राष्ट्रपतिले महाअभियोगको सामना गर्नुपर्ने हुन्छ । 

कर्णाली प्रदेशको प्रदेश सभाका सन्दर्भमा कुरा गर्दा उनले लोकतन्त्र र संघीयताको अभ्यासकालागि यो नयाँ आयाम भएको बताए । ‘कर्णाली प्रदेश सभाको छोटो दुई वर्षको कार्यकालमा यो हालसम्मको उपलब्धि र अवस्था सकारात्मक मान्नुपर्छ । संसदीय प्रणाली र अभ्यास स्थापित भएको छ,’ उनी भन्छन्, ‘यसका कारणहरूमा पहिलो, करीब एक दर्जन सभा सदस्यहरू संघीय संसदको अनुभव प्राप्त छन् ।

दोश्रो, पिछडिएको प्रदेश भएका कारण विकास, समृद्धि र समावेशिताको आधारमा संसदीय प्रणालीको संस्थागत विकासमा अन्य प्रदेशहरू भन्दा अघि बढनुपर्छ भन्ने सन्दर्भमा सबै माननीय सदस्यहरू जागरुक र चिन्तित छन् । तेस्रो कुरा, अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेश सभामा भौतिक संरचना पूर्ण छ । प्रदेश सभा, दलका कार्यालयहरू, समितिका कार्यालयहरू, प्रदेश सभा सचिवालय भवन सबैले तत्कालीन  आवश्यकता सहजपुर्ती गरेका छन् । पाँचौं, प्रदेश स्तरीय सहमति खोज्न पर्ने जटिल विषय र समस्याहरू खासै नरहेको र प्रदेशको नामाकरण तथा राजधानी तोक्ने काम सहज सकिएको अवस्था छ । जबकी अधिकांश प्रदेश सभाहरू यसै विषयमा रुमल्लिएका छन् । छैठौं, प्रदेश सभा र संसदीय समितिहरूको आकार सानो भएकाले बैठक व्यवस्थापन गर्न, छलफल गर्न र निर्णयमा पुग्न थोरै समय र लागतमा सम्भव भएको छ ।’ 

सातौं, प्रतिपक्ष पनि आफ्नो स्थान र आफ्नो भूमिकामा सबल भएको उनको भनाई छ । ‘प्रतिपक्षले उठाएका विषयमा सहमति खोज्ने र समन्वयपूर्वक अघि बढने संस्कृतिको विकास पनि यहाँ भइसकेको छ,’ उनी भन्छन्, ‘समग्रमा यहाँको संस्थागत नेतृत्व पनि सबल र सक्षम छ । सभामुख, उपसभामुख, प्रमुख सचेतक, सचेतक, समितिका अध्यक्षको भूमिका र सचिवको भूमिकामा पनि आपसी तालमेल, समझदारीको राम्रो विकास भएको छ । यो मेरो अनुभव हो । यसै गतिमा अगाडी प्रदेश सभा अगाडी बढेमा भावी गन्तब्य र यसको भविष्य धेरै सकारात्मक र उज्जवल देख्छु ।’

केन्द्रीय संसदमा लामो समय अनुभव सम्हालेका बुढाथोकीका लागि आफ्नो पेशागत कार्यसम्पादका लागि काठमाडौं नै उपयुक्त थियो । ‘म यहि प्रदेशको भएका कारण र आफुले आर्जन गरेको संसदीय अभ्यासको लामो अनुभव यस प्रदेशमा प्रयोग गर्ने चाहना मुताविक यहाँ आइपुगेकोे हुँ,’ उनी भन्छन्, ‘यस प्रदेश सभामा मेरो कार्यकालमा  एउटा सबल, व्यवस्थित संसदीय काम कारवाही र अभ्यासको प्रणाली स्थापित गराएर यहाँबाट सेवा निवृत्त हौं भन्ने हो ।’ 

संसदीय कामकारवाहीको सम्वन्धमा २०७४ माघ २१ गते बसेको पहिलो अधिवेशनको प्रथम बैठकदेखि आजसम्म २९ वटा ऐनहरू प्रमाणीकरण भइसकेको उनको भनाइ छ । सरकारी काम कारवाहीको अनुगमनमा पनि समितिहरू सक्रिय रहेको उनको भनाइ छ । ‘यति हुँदा हुँदै पनि सदनका काम कारवाही हरूमा संसदीय प्रश्नोत्तर, संकल्प प्रस्ताव, ध्यानाकर्षण प्स्ताव यस्ता अझै अभ्यासमा आउन सकिरहेका छैनन्,’ उनी भन्छन्, ‘यी कुराहरू प्रत्यक्ष संसदबाट सरकारलाई निगरानी गर्ने विषयहरू पर्ने गर्छन । यी आवश्यकता अनुसार आउने दिनमा आउनेछन् । विकासमा अघि बढने कुराहरू हुन् ।’

सरकारी सेवाको सन्दर्भ बाहेक दैनिक दिनचर्या कस्तो छ भन्ने सन्दर्भमा उनी भन्छन्, ‘परिवारसँग रमाउने कुरा टाढा नै छ । कहिलेकाहिँ जान्छु रमाउँछु । साहित्य, संगितमा मेरो रुचि छ,’ उनी थप्छन्, ‘साहित्य क्षेत्रमा चार सय भन्दा बढि मेरा रचना छन् । ती मध्ये कविता (गद्य र पद्य),  गीत र गजलहरू छन् । केही आफ्नै मौलिक अंग्रेजी कविताहरू पनि छन् । मन परेका र सामाजिक सञ्जालमा रुचाइएका अंग्रेजी कवितामध्ये डाँन एण्ड डस्क, हिस्ट्री इन आइज, हिमालयन भियाग्रा आदि हुन् ।’ यसैगरि साहित्य अनुवादमा पनि उनको रुचि छ । जोन मिल्टन, सेक्सपियर, जोन किट, सेली, वर्डसवर्थ आदिका केहि प्रसिद्ध अंग्रेजी कविताहरू उनले नेपालीमा कविताको ढाँचामै अनुवाद गरेका छन् ।

यसैगरी नेपाली कविताहरूमा घोडा ९राजनीतिक कविता०, जीवन सम्वन्ध, प्रकृति र मानव लगायतका सयौं कविता कोरेका छन् । नेपाली चर्चित साहित्यकारहरू लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, सिद्धीचरण श्रेष्ठ आदिका महत्वपूर्ण नेपाली कविताहरू अंग्रेजी भाषामा कविताकै ढाँचामा अनुवाद गरेका छन् । यसैगरि  प्रसिद्ध गायक स्वरसम्राट नारायण गोपालका एक दर्जन गीतहरू अंग्रेजीमा अनुवाद गरेका छन् । संगीततर्फ नेपाली अंग्रेजी, हिन्दी सबैखालका गीत सुन्न मन पराउने बुढाथोकी ती सबै गीतलाई बाँसुरीको धुनमा ढाल्न र बजाउन सिपालु छन् । यसका अतिरिक्त उनी नेपाली प्रत्यक्ष दोहोरी गीत गाउन खप्पिस छन् । प्रत्यक्ष दोहोरी गीत गाएका भिडियोहरू उनको आफ्नै युट्युव च्यानलमा देख्न सकिन्छ । यतिमात्रै होइन दोहोरी गीतमा उनी जुनसुकै राष्ट्रिय कलाकारसँग मुकाबला गर्ने हैसियत राख्ने लोकान्तरसँग दाबी गर्छन् । 

शेरबहादुर थापा
शेरबहादुर थापा

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्