अभिषेक रिजाल : जर्सी नम्बर ७ अर्थात् 'नेपाली रोनाल्डो' !

प्रदिप अधिकारी
प्रदिप अधिकारी

अधिकारी लोकान्तरका लागि मनोरञ्जन र खेलकुदमा कलम चलाउँछन् ।

विश्व फूटबलका महान् हस्तीहरू पेले, म्याराडोनाले समेत मोजाको बल बनाएर खेलेको समाचार हामीले सुनेका छौं । आर्थिक अभावका कारण उनीहरूले बाल्य अवस्थामा फूटबल खेल्न बल समेत पाएनन् । नेपालका राष्ट्रिय टीमका प्राय: खेलाडीले यस्तै अभाव झेल्नुपर्‍यो, अझ केहीलाई त शुरूआती दिनमा परिवारको समेत साथ थिएन ।

तर, यी मामिलामा भाग्यमानी रहे वर्तमान नेपाली फूटबल टीमका 'हट केक' अभिषेक रिजाल (२०) । उनले परिवारको साथ पाए अनि सिक्ने ठाउँ पनि । उनीसँग बूट त थिएन तर स्पोर्टस् शुज थियो ।


Advertisement

यस्तो भन्दैमा उनले सहजै राष्ट्रिय टीममा स्थान पाएका भने होइनन् । यसका लागि उनले कडा मेहनत गरेका छन्, फूटबलकै लागि जिन्दगी समर्पण गरेका छन् । फूटबलमै रमाएका छन्, जति दु:ख गरेका छन् फूटबलकै लागि गरेका छन् । त्यसैले त राष्ट्रिय टीमको एउटा दरिलो खम्बाको रूपमा स्थापित हुँदैछन्, स्ट्राइकरको भूमिकामा ।

अभिषेक अहिले मच्छिन्द्र क्लबबाट 'ए' डिभिजन लीग खेलिरहेका छन् । मंगलवार लोकान्तरकर्मी कीर्तिपुरस्थित ल्याब्रोटरी स्कूलको मैदानमा पुग्दा उनी ट्रेनिङ गरिरहेका थिए, कहिले बल छलाउँदै थिए त कहिले बल खोस्दै । ट्रेनिङपछि हामीसँग गफिएका रिजालले आजको अवस्थामा आइपुग्दासम्का संघर्ष सुनाए ।


Advertisement

८ वर्षको उमेरमा एन्फा एकेडेमीमा भर्ना

अभिषेकका बुवा भीम रिजाल फूटबलको एकदम ठूलो फ्यान अनि पहिलाको तेक्वान्दो खेलाडी पनि । बुवाको पहिल्यैदेखिको चाहना रहेछ- छोरालाई फूटबल खलाडी बनाउने । यतिसम्म कि छोरा अभिषेकको पास्नीमा उनका बुवाले उपहारको रूपमा फूटबल थमाएका थिए रे !

'बुवाले मलाई पास्नीमा फूटबल दिनुभएको थियो, त्यो मैले फोटो हेरेर थाहा पाएँ । उहाँको चाहना मलाई फूटबल खेलाडी बनाउने रहेछ,' बाल्यकालतर्फ फर्कन्छन् उनी ।

बावुको चाहना हरेक छोराछोरीले पूरा गर्छन् भन्ने हुँदैन । हरेक मान्छेका सोच फरक हुन्छन्, लक्ष्य फरक हुन्छन् । यदि अभिषेकका बुवाले छोरालाई जति 'फूटबल खेल' भनेपनि उनको मन अन्त कतै मोडिएको थियो भने अहिले स्टार फूटबलरको रूपमा उनी हुने थिएनन् । शायद अरू कुनै पेशामा भुल्ने थिए । तर अभिषेक पनि 'फूटबल लभर' भए बच्चैदेखि । बाबु-छोराको सोच मिल्यो ।

सागमा स्वर्ण विजेता नेपाली टीम

कसरी तान्यो त फूटबल मोहले?

उनका बुवा नियमित फूटबल हेर्थे । त्यतिबेला डेबिड बेकह्यामको जताततै चर्चा हुन्थ्यो । उनी राम्रो फूटबल खेल्थे । हेर्दाहेर्दै अभिषेकलाई पनि डेबिड बेकह्याम मन पर्न थाल्यो । उनको फ्री किकदेखि बल हान्ने स्टाइल, छलाउने कला सब मन पर्न थाल्यो । अझ भनौं अभिषेकलाई फूटबलले तान्यो । 'बुवासँग बसेर मैले फूटबल हेर्न थालेँ, फूटबल हेर्दाहेर्दै मेरो कनेक्ट फूटबलसँग भयो । त्यो अहिलेसम्म पनि छ,' उनले बाल्यकाल सुनाए ।

सामान्यत: ८ वर्षको कलिलो बालकको मनमा पछि भविष्यमा यही नै बन्छु भन्ने हुँदैन । तर अभिषेक अरूभन्दा फरक थिए । कारण- बालापनमै फूटबलर बन्ने सपना देख्नु ।

उनलाई बुवाले ८ वर्षको उमेरमै फूटबल सिकोस् भनेर एन्फा एकेडेमी भर्ना गरिदिए । जहाँ उनले फूटबल सिके अनि सँगै खेल अनुशासन पनि ।

उनको ट्रेनिङ सानो गौचरणमा हुन्थ्यो । उनमा सानैदेखि फूटबलको भोक यति थियो कि कलंकीदेखि एक्लै साइकलमा ट्रेनिङ स्थलसम्म पुग्थे, त्यो पनि आठै वर्षको उमेरमा ।

उनलाई अहिलेको सफलता देख्दा लाग्छ- मेहनत गर्नुपर्छ । सफलता टाढा छैन । लगातार आफ्नो काममा लागिरहनुपर्छ, नजिता आफ्नै पक्षमा आइपुग्छ । उनको यो भनाइसँग अहिलेको प्रदर्शनको तारतम्य मिल्छ । त्यसैले त हालै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण विजेता टोलीको एउटा हिस्सा बन्न पाए । त्यसमाथि फाइनल भिडन्तमा गोल पनि ।

***

फूटबलमा गरेको मेहनत, लगाव र त्यागका कारण अभिषेकले अन्डर-१६ खेले । उमेर समूहमा उनले उत्कृष्ट फूटबल खेले । अन्डर-१६ मै उनले सुबर्टा कपमा गोल गरे । त्यो उनको पहिलो अन्तर्राष्ट्रिय गोल थियो ।

'कर्नर किक थियो । मेरो टाउकोमा आएको बललाई मैले गोलमा परिणत गरेँ,' पहिलो अन्तर्राष्ट्रिय गोलबारे अभिषेकले भने, 'गोल गरेपछि म यति खुशी भएँ कि त्यो म शब्दमा व्याख्या गर्न पनि सक्दिनँ ।' उनले सिनियर टीमका तर्फबाट भने चाइनिज ताइपेइविरुद्ध पहिलो गोल गरे ।

अभिषेक अर्थात्'नेपाली रोनाल्डो'

१३औं सागअन्तर्गत पुरुष फूटबलमा बंगलादेशविरुद्धको खेलमा अभिषेकले गोल गरेपछि रोनाल्डोको स्टाइलमा सेलिब्रेसन गरेका थिए, जुन तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको थियो । यसको अर्थ हो- अभिषेक पोर्चुगिच स्टार तथा चर्चित फूटबल खेलाडी क्रिस्टियानो रोनाल्डोका डायहर्ट फ्यान हुन् ।

'मलाई क्रिष्टियानो रोनाल्डो एकदमै मन पर्छ । रोनाल्डोको फूटबल खेल्ने स्टाइल, गोल सेलेब्रेसन गर्ने तरिका सब मनपर्छ,' अभिषेक थप्छन्, 'म भ्याएसम्म रोनाल्डोको हरेक गतिविधिहरू हेरिरहेको हुन्छु । खाएकोदेखि लाएकोसम्म भिडियोहरू हेर्ने गर्छु । म रोनाल्डोलाई निकै फलो गर्छु ।'

दशरथ रंगशालाको मैदानमा हालै सम्पन्न साग फूटबलका क्रममा अभिषेकको खुट्टामा बल पर्नेबित्तिकै दर्शकको हूटिङ आयो- 'रोनाल्डो, रोनाल्डो … !'

अभिषेकलाई दर्शक तथा समर्थकहरूले 'नेपाली रोनाल्डो' भनेर सम्बोधन गर्न थालेका छन् । उनलाई नेपाली रोनाल्डो भन्नुको कारण अर्को पनि छ- जर्सी नम्बर ७ ।

अभिषेक र रोनाल्डोको जर्सी नम्बर एउटै छ । अनि अर्को समानता पनि पाइन्छ, मैदानमा लगातार गोलका लागि डटिरहने ।

तपाईंलाई दर्शक तथा समर्थकहरूले 'नेपाली रोनाल्डो' भन्दा कस्तो लाग्छ ? लोकान्तरको प्रश्नमा उनले भने, 'यो त जस्ट लर्निङ हो । रोनाल्डोसम्म पुग्न धेरै मेहनत गर्नुपर्छ । नेपाली रोनाल्डो चाहिँ अलि नभनौं ।'

उनले आफूलाई नेपाली रोनाल्डो भनेर सम्बोधन गर्दा गर्व महसूस हुने बताए । 'रोनाल्डोको गेम पूरै कपी गर्न नसकेपनि राम्रो खेल्नका लागि कोशिश त गर्न सकिन्छ नि,' उनले थपे ।

***

सागको पुरुष फूटबलमा नेपालका लागि पहिलो गोल गरेपछि अभिषेकलाई इन्टरनेट तथा सामाजिक सञ्जालमा धेरैले खोजे । मानिसहरूले उनीबारे जान्न चाहे । आफूलाई सामाजिक सञ्जालका व्यापक खोजिएको फेसबूक खोलेपछि मात्र थाहा पाए ।

'बधाई दिने तथा फ्रेन्ड रिक्वेस्ट गर्नेहरू यति धेरै थिए कि आइफोनसमेत एकछिन ह्याङ भयो । त्यो मुमेन्ट म भुल्न सक्दिनँ ।'

रातारात सेलेब्रेटी भएको फिल त भएन नि?

उनले जवाफ दिए, 'मैले फूटबलमा अझै धेरै गर्न बाँकी छ । देशका लागि धेरै गर्नु छ । यो त एउटा पार्ट मात्रै भयो । साग जितायौं, अब हाम्रो वर्ल्डकप क्वालिफाइ बाँकी छ । अब त्यसका लागि ध्यान केन्द्रित गर्छौं ।'

उनले थपे, 'बरू गर्व फील भएको छ । ममीड्याडीको ड्रीम पूरा भएको छ ।'

 

प्रदिप अधिकारी
प्रदिप अधिकारी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्