स्वास्थ्यकर्मीबाट जनप्रतिनिधि बनेकी रेणु

शेरबहादुर थापा
शेरबहादुर थापा

लोकान्तर संवाददाता थापा कर्णाली प्रदेशबाट रिपोर्टिङ गर्छन् ।

राजनीतिक गर्नेहरू प्राय:को सोच हुन्छ- समाज सेवा । स्थानीय तहका जनप्रतिनिधिको पहिलो काम पनि समाज सेवा नै हो । तर समाज सेवा इच्छा राख्नमा जति सजिलो छ त्यतिमै समाज सेवामा जीवन व्यतित गर्न कठिन छ । भेरीगंगा नगरपालिकाकी उपमेयर रेणु आचार्यले समाज परिवर्तन गर्ने अठोट लिइन् । स्वास्थ्यकर्मी भएर गरीब निमुखालाई मल्हम लगाउने उनको लक्ष्य थियो ।

स्वास्थ्यकर्मीबाट उनको परिचय फेरिएपछि त्यो लक्ष्य रोकिएको छ । उनी अहिले भेरीगंगा नगरपालिकाकी उपमेयरमा निर्वाचित भएर सेवा गरिरहेकी छन् ।


Advertisement

‘मेरो पहिलो रोजाइ जनताको घरघरमा गएर गुणस्तरीय स्वास्थ्य सेवा दिनु थियो,’ उनले भनिन्, ‘आमाको सपना पूरा गर्न उनले राजनीतिलाई रोज्नु पर्‍यो ।’ आमाले देखाएका सपनाले उत्साह पाएकी रेणुको राजनीतिमार्फत समाज सेवा गर्ने लक्ष्य लिइन् । ‘पहिला स्वास्थ्य मात्रै थियो,’ रेणु भन्छिन्, ‘अब मेरो काँधमा सबै जिम्मेवारी आएको छ, त्यो पूरा गर्छु ।’

उनी सल्यानको सेजुवाल टाकुरा–१, मा जन्मिइन् । दुगर्ममा गाउँमा जन्मिँदा छोरीलाई हेर्ने दृष्टिकोण फरक थियो । त्यही दृष्टिकोणलाई फेर्न संघर्ष गर्दा उनी राजनीतिमा आकर्षित भइन् ।


Advertisement

*****

उनी अध्ययनमा अब्बल थिइन् । उनी आफू आठ कक्षामा अध्ययन गर्ने बेलामा भाई तथा अन्य छिमेकी भाई बहिनीलाई घरमा ७ कक्षासम्म ट्युसन पढाउँथिन् । उनी प्रौढ कक्षा पढाउने उनी आमालाई कहिलेकाहिँ कक्षा लिएर सहयोगसमेत गर्थिन् । उनले तत्कालीन सीएमए अर्थात् अहेब अध्ययन गरेकी थिइन् । उनले केही समय घोराही अस्पतालमा स्वयम्सेवक भएर काम गरिन् भने बर्दियाको भुरीगाँउमा उनले केही समय अहेबको रूपमा काम पनि गरिन् ।

सल्यानमा जन्म, दाङमा बाल्यकाल र सुर्खेतमा उनले विवाह गरिन् । २०६० वैशाख २८ गते सोमराज ढकालसँग विवाह गरेकी हुन् । उनी सुर्खेत आएर एलडीएफ जागिर गरिन् । उनले विसं २०६० सालमा महिला जागरण मञ्च खोलिन् । उक्त संस्थालाई उनले ८ वर्ष अध्यक्ष भएर चलाइन् । साना किसान सहकारी संस्थाको संस्थापक अध्यक्ष, नेपाल रेडक्रस उपशाखा छिन्चुको कोषाध्यक्ष भएर समेत उनले काम गरिसकेकी छन् ।

*****

उनले बुहारी हुनु र छोरी हुनुमा धेरै फरक रहेको बताउँछिन् । ‘उतिबेला म कसैकी छोरी थिएँ । नातिनी थिएँ,’ उनी भन्छिन्, ‘तर अहिले विवाह गरेपछि पारिवारिक जिम्मेवारी आउने हुँदा केही बन्धनमा परेको महसूस हुन्छ ।’ उनले विवाह भइसकेपछि पनि अध्ययनलाई प्राथमिकता दिइन् ।

विवाह भइसकेपछि शारदा मावि छिन्चुबाट १२ कक्षा उत्तीर्ण भएकी रेणु शिक्षा क्याम्पस सुर्खेतमा दुई वर्ष अध्ययन गरिन् । नियमित रूपमा क्याम्पस जान नपाउँदा उनले दुई वर्षपछि अध्ययन गर्न छाडिन् । त्यसपछि उनी नजिकै रहेको हिमशिखर बहुमुखी क्याम्पसमा स्नातक गर्दैछिन् अहिले । हाल उनी चौथो वर्षमा छिन् । प्रथम र दोस्रो वर्षको परीक्षा उत्तीर्ण गरिसकेकी छन् ।

राजनीतिमा लाग्नुको प्रेरणा उनकी आमाबाट उनले पाइन् ।

उनलाई पनि २०४८ सालको निर्वाचनले उनलाई राजनीतिको हावाले छोयो । उनी आमाको पछि लागेर मतदान स्थलसम्म पुगिन् । अनि उनलाई कांग्रेस पार्टी मन पर्न थाल्यो ।

विवाहपछि तत्कालीन छिन्चु गाविसको नेपाली कांग्रेसको बोर्ड सदस्य भएँ,’ उनी भन्छिन्, ‘बाल्यकालमा उतिबेला पार्टीप्रति पूरै ज्ञान थिएन । किन जान्छन् भन्ने कौतुहलता थियो । पहिले नजानेर गइयो अहिले प्रत्यक्ष भोगेर समाजसेवामा आएकी छु ।’

उनी अहिले भेरीगंगा नगर उपप्रमुख छिन् । ‘यो पदमा आइपुग्दा धेरै काम गर्छु जस्तो मलाई लागेको थियो,’ उनी भन्छिन्, ‘तर सोचेको सबै कुरा पूरा गर्न सकिएन ।' जनप्रतिनिधिको साथ, सहयोग नहुँदा अपेक्षा गरेअनुरूप काम गर्न नसकेको उनको गुनासो छ ।

उनले आफूले सोचेको उद्देश्यअनुरूप काम गर्न नसकेको स्वीकार गर्छिन् । बजेट आफ्नै हातमा भए पनि सोचेको क्षेत्रमा लगानी गर्न नसकेको उनको भनाइ छ । ‘म बजेटको संयोजक त हो, कार्यान्वयन गर्ने पाटो अर्को छ । मैले बजेट विनियोजनको महत्त्व बुझाउन सकेकी छैन जस्तो लाग्छ,’ उनी थप्छिन्, ‘समाजमा स-साना कुरामा लगानी गर्न सकिएको छैन । बजेट पूर्वाधारमा मात्र केन्द्रित भएको छ ।’

उनी आफूले चाहेअनुसार बजेट खर्च गर्न पाएको खण्डमा पहिलो प्राथमिकता शिक्षा अनि कृषि क्षेत्रमा बढी लगानी गरी समाज रुपान्तरण गर्न चाहन्छिन् । ‘शिक्षकको व्यवस्थापन गर्ने, शिक्षाबाट वञ्चित भएकालाई पाठशालामा ल्याउँथे । छिन्चुमा एक क्याम्पस भइदिएको भए सजिलो हुने थियो । क्याम्पस, प्राविधिक शिक्षालय खोल्थें,’ उनी भन्छिन्, ‘प्राविधिक शिक्षा प्राप्त गरेका युवालाई आवश्यक सहयोग गर्दै उनीहरूलाई आत्मनिर्भर बनाउन चाहन्छु ।’ भेरीगंगामा स्वास्थ्य भवन राम्रो भएपनि अन्य स्रोत, साधन र जनशक्ति अभाव भएको बताउँदै त्यसमा पनि नगरपालिकाले यथेष्ट बजेट विनियोजन गर्न नसकिएको उनले बताइन् ।

‘साविकको लेखपराजुलमा गाडी पुगेको छैन । एक नम्बरको मनिकाँडा जाँदा पाँच घण्टा हिँड्नुपर्छ । सुत्केरीलाई पनि स्ट्रेचरमार्फत स्वास्थ्य केन्द्र लानुपरेको छ । गर्भवती महिलाहरूका लागि सडक पुगेको स्थानसम्म जानका लागि एम्बुलेन्स तीन महिनामा आइपुग्दैछ ।’

उनले कृषि, पशुपालन, फलफूल खेती, तरकारी खेती र अन्न बालीमा भेरीगंगालाई सबैभन्दा अघि लिन सकिने उनको दाबी छ ।  अहिले कर्णाली प्रदेशमा सबैभन्दा बढी आलु बीउ उत्पादन भेरीगंगामा नै हुने गरेको तर चिस्स्यान केन्द्रको अभावका कारण समस्या भइरहेको उनको भनाइ छ ।

‘विकासका लागि जनप्रतिनिधि र कर्मचारीको साथ राम्रो सहकार्य हुनुपर्छ । कृषि ऐन र पशु ऐनमा समस्या छ । अध्ययन गर्ने बानीमा कमी भएको छ । नीति बनाउन काम हाम्रो हो । बजेट नै कम छ,’ उनले भनिन्, ‘जनताले गुणस्तरीय काम भएको महसूस गरेका छन् जस्तो मलाई लाग्छ ।’ आफू न्यायिक समितिको संयोजक भएपनि कर्मचारी र कानूनी सल्लाहको अभाव भएका कारण न्याय सम्पादनमा समस्या भएको उनको भनाइ छ । नगरप्रमुखलाई बारम्बार कर्मचारी  नियुक्त गर्न अनुरोध गरेपनि सुनुवाई नभएको उनको गुनासो छ । उनले अनुगमनमा जाँदा विभिन्न गुणस्तरहीन योजनाहरू भत्काएको बताउँछिन् ।

‘समाजमा बालविवाह व्याप्त छ । घरेलु हिंसाका समस्या छन् । पाठेघर खसेका महिलाहरूलाई सहयोग गर्ने भन्ने चिन्ता छ । जातीय छुवाछुत कम भएको छैन । समाज, राजनीति कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा चिन्ता लागिरहेको छ,’ उनले भनिन् ।

शेरबहादुर थापा
शेरबहादुर थापा

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्