दोस्रो विश्वयुद्धपछि क–कसले भोगे सुलेमानीकै नियति ? [संस्मरण श्रृंखला– १]

विन्देश दहाल
विन्देश दहाल

विन्देश दहाल लोकान्तर डट् कममा अन्तर्राष्ट्रिय राजनीतिबारे लेख्छन् । 

लोकान्तर डटकमले आमपाठकको रुचि र सुझावलाई मध्यनजर गर्दै आज (२०७६–०९–२३)देखि ऐतिहासिक घटना, विषय, प्रवृत्ति, पात्र, परिस्थिति र परिवेशमाथि संस्मरणात्मक आलेख श्रृंखला शुरू गरेको छ । श्रृंखलाका आगामी अंकहरू तात्कालिक सन्दर्भ र तिथिमितिअनुसार प्रकाशित गर्दै जानेछौं । रचनात्मक पाठक प्रतिक्रियाको सधैंझैं अपेक्षा र सम्मान गर्नेछौं । – सम्पादक

प्रस्तुत छ, उक्त श्रृंखलाको पहिलो भागः 


Advertisement

इरानको रिभोल्युसनरी गार्ड्स कोर्प्सको विशिष्ट इकाइ कुद्स फोर्सका कमान्डर कासिम सुलेमानीको हत्या गर्नका लागि अमेरिकाले इराकमा हवाई आक्रमण गरेपछि स्वार्थसिद्धिका लागि विदेशी नागरिकलाई मार्ने अमेरिकाको प्रवृत्ति पुनः पुष्टि भएको छ ।

इरानसँग लामो समयदेखि चलिरहेको द्वन्द्वलाई युद्धको स्थितिमा पुर्‍याउने हिसाबमा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सुलेमानीको हत्या गर्ने आदेश दिए । अमेरिकीहरूमाथि हुनै लागेको आक्रमणलाई रोक्नका लागि सुलेमानीलाई मारिएको भनी ट्रम्प र उनका अधिकारीहरूले तर्क दिएको भए पनि त्यसमा कुनै दम छैन किनकि सुलेमानीलाई मार्ने योजना अमेरिका र इजरायलले पहिलेदेखि नै बनाइरहेका थिए । अनि अमेरिकीमाथिको आक्रमण रोक्ने भन्दा पनि इरानलाई उत्तेजित बनाएर युद्ध गर्न प्रेरित गर्ने र त्यसैको आडमा हतियारको व्यापार गर्ने अमेरिकाको षड्यन्त्र अन्तर्गत सुलेमानीको हत्या गरिएको हो । 


Advertisement

यस हत्याले अमेरिकी परराष्ट्रनीति नैतिकताविहीन छ र अमेरिकाले अन्तर्राष्ट्रिय कानून तथा अन्य मुलुकको सार्वभौमसत्ताको सम्मान गर्दैन भन्ने स्पष्ट पारेको छ । तर अमेरिकाले यस्तो गैरकानूनी काम गरेको यो पहिलो अवसर हैन । यसअघि पनि अमेरिकाले विदेशी भूमिमा हत्याका अनेकौं घटना गराइसकेको छ । कतिपय अवसरमा उसले आफैं हत्या गरेको छ भने अन्य अवसरमा उसले हत्या गरिने नेताकै देशका विपक्षीहरूको उपयोग गर्ने गरेको छ ।

दोस्रो विश्वयुद्ध अन्त्य भएलगत्तै शुरू भएको शीतयुद्धमा अमेरिकाले विदेशी नेता हत्यामा योगदान गर्न थालिसकेको थियो । सन् १९६१ मा कंगोका अपदस्थ प्रधानमन्त्री प्याट्रिस लुमुम्बालाई सोभियत खेमातिर ढल्केको आरोप लगाउँदै अमेरिकाले बेल्जियमको सहायतामा कंगोका विपक्षी नेताहरूलाई उचालेर हत्या गराएको थियो । 

यसअघि पनि अमेरिकाले विदेशी भूमिमा हत्याका अनेकौं घटना गराइसकेको छ । कतिपय अवसरमा उसले आफैं हत्या गरेको छ भने अन्य अवसरमा उसले हत्या गरिने नेताकै देशका विपक्षीहरूको उपयोग गर्ने गरेको छ ।

अनि भियतनाम युद्ध चलिरहँदा अमेरिकाको कुख्यात जासूसी संस्था सीआईएले फिनिक्स प्रोग्राम नामक कार्यक्रम ल्याएर दक्षिण भियतनाममा भिएत कोङका अधिकारीहरूलाई मार्ने अभियान चलाएको थियो । तत्कालीन राष्ट्रपति रिचर्ड निक्सनले यस अभियानलाई पूर्ण समर्थन गरेका थिए अनि सन् १९७२ को अन्त्यसम्ममा सीआईएले २६ हजारभन्दा बढी भिएत कोङलाई मारेको थियो । 

सन् १९७० को दशकमा अमेरिकाका खोजी पत्रकार सीमोर हर्शले द न्युयोर्क टाइम्समा सीआईएका अवैध गतिविधिहरूको खुलासा गर्दै अनेकौं समाचार प्रकाशित गरेका थिए ।

उनको समाचार आएपछि अमेरिकी संसद्को माथिल्लो सदन सिनेटको चर्च कमिटीले क्युबाका राष्ट्रपति फिडेल क्यास्ट्रो लगायतका विदेशी नेताको हत्या प्रयासमा सीआईए संलग्न रहेको खुलासा गरेको थियो । अमेरिकी साम्राज्यवादलाई चुनौती दिने क्यास्ट्रोलाई मार्नका लागि सीआईएले ६३८ पटकसम्म प्रयास गरेको अभिलेख उपलब्ध छ ।

यस विषयमा सन् २००६ मा एक वृत्तचित्र नै आएको थियो– ६३८ वेज टु किल क्यास्ट्रो शीर्षकमा । 

यस विषयमा क्यास्ट्रोले भनेका थिए– यति धेरै हत्या प्रयासबाट म बाँच्नु ओलम्पिकअन्तर्गतको कुनै खेल हुन्थ्यो भने मैले स्वर्ण पदक जित्थें ।

सीआईएले डोमिनिकन रिपब्लिकका रफाएल ट्रुजिलो, इन्डोनेसियाका राष्ट्रपति सुकार्नो र भियतनामका न्गो दिन्ह दिएमलाई पनि हत्याको प्रयास गरेको चर्च कमिटीको अनुसन्धानले देखाउँछ ।

चर्च कमिटीको खुलासापछि तत्कालीन राष्ट्रपति जेराल्ड फोर्डले कार्यकारी आदेश जारी गरेर अमेरिकी सरकारका तर्फबाट हुने राजनीतिक हत्यामाथि प्रतिबन्ध लगाएका थिए । उनको उक्त आदेशलाई उनीपछिका राष्ट्रपतिहरूले पनि अंगीकार गरेका थिए । तर राजनीतिक हत्यामाथिको यो प्रतिबन्ध शान्तिकालमा मात्र लागू हुने, युद्धको बेलामा नहुने व्यवस्था गरिएको थियो । ट्रम्पले इरानसँग युद्धको औपचारिक घोषणा नगरेको अवस्थामा इरानका सरकारी अधिकारीलाई हत्या गर्नु भनेको कार्यकारी आदेशकै उल्लंघन हो ।

अनि सन् १९७३ मा सीआईएले चिलीका वामपन्थी राष्ट्रपति साल्भादोर आयेन्देलाई कूमार्फत हटाउन सहायता गरेको थियो । कूमार्फत हटाइएकै दिन आयेन्देको मृत्यु भएको थियो । 

त्यसपछि सन् १९८० को दशकमा दक्षिण अमेरिकी मुलुक एल साल्भाडोरमा अमेरिकाले त्यहाँको सेनालाई आफ्नै नागरिकको हत्या गर्न सहायता उपलब्ध गराएको थियो । उक्त देशमा चलेको गृहयुद्धमा विपक्षीहरूलाई सिध्याउनका लागि सेनाले मृत्युदस्ता बनाएको थियो र त्यस कुख्यात दस्तालाई अमेरिकाको समर्थन थियो । उक्त हत्यालाई मानवअधिकार समूह अमेरिकाज वाचले ‘लक्षित हत्या’ (टार्गेटेड किलिंग्स) नाम दिएको थियो । पछि उक्त शब्दावलीको बाक्लै प्रयोग गर्न थालियो । 

अनि सन् १९८६ मा तत्कालीन राष्ट्रपति रोनल्ड रेगनले लिबियाका शासक मुअम्मर गद्दाफीलाई मार्ने लक्ष्यका साथ बम आक्रमण गराएका थिए । त्यतिखेरको प्रयास विफल भए पनि सन् २०११ मा अमेरिकी नेतृत्वको नाटोले लिबियामा लगातार हवाई आक्रमण गरेर गद्दाफीलाई भाग्न बाध्य तुल्यायो । पछि उनी लुकिरहेको ठाउँबाट नाटोसमर्थित नेसनल ट्रान्जिसनल काउन्सिलका विद्रोहीहरूले उनलाई बाहिर ल्याए अनि उनले जीवनको भिक्षा माग्दै गर्दा क्रूर तरिकाले उनको हत्या गरे ।

त्यसपछि सन् १९९८ मा केन्या र तान्जानियास्थित अमेरिकी दूतावासहरूमा भएको बम आक्रमणको जवाफ दिन तत्कालीन राष्ट्रपति बिल क्लिन्टनले अफगानिस्तानमा ओसामा बिन लादेनको तालिम शिविर भनिएका ठाउँमा क्रुज क्षेप्यास्त्र प्रहार गर्न लगाए । अनि लादेनलाई पक्राउ गर्न र आवश्यक भए मार्न पनि उनले आदेश दिए ।

त्यतिखेर क्लिन्टन प्रशासनका अधिकारीहरूले विदेशी नागरिकको हत्यामाथिको प्रतिबन्ध लादेन जस्ता व्यक्तिको हकमा लागू नहुने किनकि उनले दूतावासमाथिको आक्रमणको योजना बुनेकाले उनी मिलिटरी टार्गेट भएको र उनलाई मारेर अमेरिकाले आत्मरक्षा गरेको तर्क गरेका थिए । 

अनि सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको ट्विन टावरमा गरिएको आक्रमणको केही दिनपछि अमेरिकी संसद्ले सैन्यबल उपयोगलाई आधिकारिकता दिने कानून पारित गरेर अल कायदा र त्यससँग साइनो गाँसिएका संगठनका सदस्यहरूलाई मार्न सरकारलाई अनुमति दिएको थियो । त्यतिखेर बुश प्रशासनले क्लिन्टनकै जस्तो तर्क गरेको थियो । 

सन् २००२ मा सीआईएले सशस्त्र ड्रोन प्रयोग गरेर अलकायदाका नेता काएद सलिम सिनान अल–हरेतीको हत्या गरेको थियो र त्यसक्रममा उनीसँगै रहेका एक यमनी मूलका अमेरिकी पनि मरेका थिए । त्यतिखेर मानवअधिकारवादी संगठन एम्नेस्टी इन्टरनेसनलले अमेरिकाविरुद्ध गैरन्यायिक हत्याको आरोप लगाएको थियो ।

अमेरिकाले इराक युद्ध शुरू गरेपछि सन् २००३ मा सद्दाम हुसेन र उनका दुई छोरालाई मार्ने हिसाबमा बग्दादस्थित एक रेस्टुराँमा क्षेप्यास्त्र प्रहार गरेको थियो । तर सद्दाम र उनका छोराहरू त्यहाँबाट हिँडिसकेका थिए । उक्त आक्रमणमा १४ जना सर्वसाधारण मारिएका थिए ।

इरानका सुलमानीको हत्या रक्तरञ्जित अमेरिकी परराष्ट्रनीतिको पछिल्लो घटना हो र अमेरिकाको यस्तो नीति भविष्यमा पनि कायम रहने देखिन्छ । 

सन् २००९ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाले पाकिस्तानमा ड्रोन आक्रमणहरूलाई ह्वात्तै बढाएका थिए । उनले ५०० भन्दा बढी ड्रोन आक्रमणको आदेश दिएको बताइन्छ । त्यसपछि टार्गेटेड किलिंग्स शब्दावलीलाई मूलधारका सञ्चारमाध्यमले बाक्लै गरी प्रयोग गरे । पाकिस्तानमा गरिएका ड्रोन आक्रमणमा परी २ हजार १८ लडाकू र १३८ सर्वसाधारणको मृत्यु भएको आँकडा लङ वार जर्नलमा प्रकाशित छ ।

अनि सन् २०११ मा अमेरिकाका नेभी सील कमान्डोहरूले पाकिस्तानको अबोटाबादमा प्रवेश गरेर त्यहाँ एक घरमा लुकिबसेका ओसामा बिन लादेनको हत्या गरे ।

हत्या गरिएको बेलामा लादेन निःशस्त्र रहेको तर उनले प्रतिकार गरेकाले उनलाई मारिएको अमेरिकाले जिकिर गरेको थियो । आफ्नो भूमिमा अमेरिकी सेना प्रवेश गरेर कारवाही चलाउँदा आफूलाई कुनै खबर नगरिएको भनी पाकिस्तानले आपत्ति जनाएको थियो । 

त्यसपछि सन् २०११ मा अमेरिकाले ड्रोन आक्रमण गरेर यमनी मूलका अमेरिकी नागरिक अनवर अल–अवलाकीलाई यमनमा मारेको थियो । 

अनि लगभग दुई वर्षअघि उत्तर कोरियाका नेता किम जोङ–उनले आफूलाई अमेरिकाले बायोकेमिकल हतियार उपयोग गरेर हत्या गर्ने प्रयास गरेको भनी बयान दिएका थिए । उनलाई एक सार्वजनिक समारोहमा मार्ने षड्यन्त्र गरिएको भनी उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले लेखेको थियो ।

यसरी अमेरिकाले आफूलाई चित्त नबुझेका वा आफूलाई खतरा हुने ठानेका विदेशी राष्ट्रप्रमुख, सरकारी अधिकारी, निजी व्यक्ति र आतंकवादीहरूलाई उनीहरूकै भूमिमा मार्ने गरेको इतिहास छ । इरानका सुलमानीको हत्या रक्तरञ्जित अमेरिकी परराष्ट्रनीतिको पछिल्लो घटना हो र अमेरिकाको यस्तो नीति भविष्यमा पनि कायम रहने देखिन्छ । 

(विभिन्न सन्दर्भ सामग्री संकलन र अध्ययन गरी यो आलेख तयार पारिएको हो ।)

विन्देश दहाल
विन्देश दहाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्