संघर्षले खारिएका वीरको यात्रा : 'नखेल छोरा …'पछि जिद्दी बन्दै सागमा स्वर्णसम्म

प्रदिप अधिकारी
प्रदिप अधिकारी

अधिकारी लोकान्तरका लागि मनोरञ्जन र खेलकुदमा कलम चलाउँछन् ।

भनिन्छ- संघर्षले सफलता अवश्य दिलाउँछ । यो भनाइ कञ्चनपुरका तेक्वान्दो खेलाडी वीरबहादुर महरा (२४) मा पनि लागू भयो । नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा तेक्वान्दोमा उनले नेपाललाई स्वर्ण पदक दिलाए । वीरलाई लाग्छ- सागमा स्वर्ण पदक जित्नु निकै ठूलो सफलता हो । अझ उनको भनाइ मान्ने हो भने तेक्वान्दोका लागि गरेको दु:खको अगाडि यो सफलता फिक्का नै हो ।

सामान्य किसान परिवारमा जन्मेहुर्केका वीरबहादुर बच्चाबेलामा गुच्चा खेल्थे । नदीका बगरमा फूटबल खेल्थे । उनले बाल्यकालमा तेक्वान्दो चिनेका थिएनन् ।


Advertisement

उनी त्यस्तै १०-११ वर्षका थिए, स्थानीय लोकबहादुर महराले सोचेछन्- गाउँका केटाहरूलाई तेक्वान्दो सिकाउनुपर्‍यो । अनि वीरबहादुर पनि लोकबहादुर महराले शुरू गरेको तेक्वान्दो प्रशिक्षणमा भर्ना भए । अनि पञ्चाधिन माविको प्रागंणमा किक हान्न थाले ।

भर्ना त भए तर उनीसँग स्पेशल ड्रेस थिएन । गाउँमा भन्नेबित्तिक्कै कहाँ पाइन्थ्यो र तेक्वान्दोकै ड्रेस ? अनि कट्टु र गञ्जीमै किक हान्न थाले । 'ड्रेस र बेल्ट त थिएननै हामीसँग त्यतिबेला खुट्टामा चप्पल पनि थिएन,' सिकाइका दिन सम्झिए उनले ।


Advertisement

उनी तेक्वान्दो सिक्दै थिए । लत लाग्दै थियो । तर घरबाट 'नखेल छोरा' भन्ने आशयका कुरा उनको कानमा पर्थ्यो ।

'चोटपटक लाग्छ, खुट्टा दुख्छ, खुट्टा सुन्निन्छ । नखेल छोरा भनेर ममीबुवाले भन्नुहुन्थ्यो,' शुरूआती दिनबारे उनले भने । नभन्दै उनी घर जाँदा खुट्टामा चोटपटक लागेको हुन्थ्यो । अनि ममीबुवाले भन्थे रे- नखेल छोरा, खेलेरै केही पनि हुँदैन !

उनले बाल्यकाल बिताइरहँदा गाउँका हुर्केका केटाहरू पैसा कमाउन भारत जाने प्रचलन थियो । त्यो अहिले पनि छ । त्यसैले छोराले बरू पैसा कमाउन बढी ध्यान

दिए हुन्थ्यो भन्ने आमाबुवामा परेको हो कि भन्ने उनले अनुमान गर्थे । अनि सोच्थे-  ह्या ! खेल्छु, पैसा भन्या पछि कमाउँला ।

उनले तेक्वान्दोका लागि लगातार समय दिन नसके पनि 'मनबाट मर्न' चाहिँ दिएनन् । घरको काम गर्दै तेक्वान्दो सिकिरहे । सफलता प्राप्तिका लागि उनले के सम्म गरेनन्, काठ चिर्ने कामदेखि भारतमा गएर मजदुरीसम्म गरे ।

उनले तेक्वान्दो सिक्नका लागि यतिमात्रै संघर्ष गरेका छैनन् । दु:खका कथाहरू टन्नै छन् ।

तेक्वान्दोको कखरा सिकेपछि थप सिकाइका लागि कैलाली जान्थे उनी । तर बाधक बन्थ्यो- लामो बाटो अनि मोहना नदी ।

कञ्चनपुरबाट कैलाली जान उनले जहिल्यै मोहना नदी पार गर्नुपर्थ्यो । नदी पार गर्ने भर नै नाउ थियो । कहिलेकाहिँ त बाढी आउँथ्यो । नदीमा बाढी आए पनि उनको तेक्वान्दोको लक्ष्यमा कहिल्यै बाढी आएन । ज्यानको बाजी लगाएर नदी पार गर्दै सुन्दर भविष्यलाई सपना देख्थे उनी ।

तेक्वान्दो यात्रा

उनी तेक्वान्दो सिक्दै थिए । पाँचौ राष्ट्रिय खेलकुद भयो । ग्रीन बेल्टमा थिए उनी । त्यहाँ उनी जिल्ला सेलेक्सनमै हारे । खेल हारेपनि मन मारेका थिएनन् । उनले सोचेका थिए- सिक्न बाँकी छ, सफलता टाढा छैन ।

पछि धनगढीमै छैटौं राष्ट्रिय खेलकुद भयो । उनी त्यतिबेला ब्ल्याक बेल्ट पुगिसकेको थिए । तर पनि पदक आएन ।

छैटौं राष्ट्रिय खेलकुदपछि उनी सुदूरपश्चिमको टीममा परे । अनि राष्ट्रिय टीम प्रवेशको तयारीमा जुटे । नेसनल गेम पनि खेले । त्यसमा उनले कास्य पदक जिते । कास्य पदक ल्याएपछि केही ग्यापमा पोखरामा नेसनल गेम भयो ।

त्यहाँ उनले अपेक्षागरेभन्दा उत्कृष्ट प्रदर्शन गरे । आर्मीका नामी खेलाडी रोहित तामाङलाई हराए । 'म त सुदूरपश्चिमबाट सिभिलबाट आएको थिएँ, केही पनि थाहा थिएन । तर पनि राम्रो प्लेयरलाई हराएँ,' उनले थपे, 'पछि साथीहरूले राम्रो खेलिस् भनेर प्रशंसा गर्दा थाहा भयो । उ त निकै राम्रो खेलाडी रहेछ । त्यस्तो राम्रोलाई पनि हराएछु भन्ने लाग्यो ।'

पोखरामा गेम हुँदा पुलिस टीमको क्याप्टेन बनेर लक्ष्मणबहादुर ऐर गएका थिए । उनले महराको गेमलाई 'वाच' गरेका रहेछन् । पछि पुलिसको भर्ना खुलेपछि ऐरले  महराको गुरू केशव भट्टलाई सम्पर्क गरेछन् । भनेछन्- वीरलाई पुलिसमा भर्ना हुन लगाउ ।

केशव भट्टमार्फत उनले गाउँमा खबर पाए । त्यसपछि विसं २०७० सालमा महरा पुलिसमा भर्ती भए ।

*****

०७१ सालमा दोस्रो सिन्धुपाल्चोक तेक्वान्दो प्रतियोगिता भएको थियो । त्यसमा गोल्ड मेडलसँगै उत्कृष्ट फाइटर पाएको थिएँ । त्यसपछि मेरो मनोबल पनि उच्च भयो । खेलेँ भने जित्ने रहेछु भन्ने लाग्यो ।

छैटौं कोरियन एम्बासडर पनि खेले । त्यहाँ पनि पदक आएन । लुम्बिनीमा पुलिसबाटै खेले । त्यहाँ पनि कास्य पदक जिते ।

सातौं कोरियन एम्बासडर खेले । त्यहाँ उनले स्वर्ण पदक जिते । आठौं राष्ट्रिय खेलकुद, राखेपको प्रतियोगितामा पनि स्वर्ण जिते । अझ भनौं, त्यसपछि खेलिएका सबै खेलमा उनले स्वर्ण पदक जितिरहेका छन् ।

यो गेमपछि १२ औं संस्करणको साग सेलेक्सन शुरू भएको थियो । पोखरामा हराएको रोहित तामाङ नै सेलेक्सनमा उनको प्रतिद्वन्द्वी पर्‍यो । 'जित्न सक्छु जस्तो लाग्यो, कन्फिडेन्स बढ्यो । अनि उसलाई हराएँ,' पुराना दिन सम्झिँदै उनले भने, 'त्यसपछि म साग खेल्न भारतको गुहावटी गएँ ।'

सागमा उनको पहिलो फाइट श्रीलंकासँग परेको थियो, जिते । सेमिफाइनलमा भुटानलाई पनि जिते । फाइनलमा अफगानिस्तानसँग मात्र तीन अंकले हारे । उनले १२ औं सागमा रजत पदक ल्याए । त्यसपछि तेक्वान्दोमा वीर उदाए ।

'अनुभव कम भएका कारण उपाधि गोल्ड मेडल हात परेन,' उनी भावुक सुनिए ।

*****

हालै सम्पन्न सागमा वीरबहादुर महराले ६८ केजी तौलमुनि पाकिस्तानी खेलाडी महम्मद फहिमलाई ४१-३६ अंकले पराजित गर्दै स्वर्ण पदक जिते ।

पहिला चोटपटक लाग्छ नखेल भन्ने बुवाआमा यतिबेला छोराको प्रगतिमा दंग छन् । उनले देशको नाम रोशन गरेका छन् । नाम अनि दाम कमाएका छन् ।

'यसअघि १२ औं सागमा सिल्भर मेडल ल्याउँदा सरकारले तीन लाख दिएको थियो । खेलेर पनि नाम र दाम कमाइने रहेछ भनेर बुझ्नुभएको छ,' वीर नोस्टाल्जिक भए ।

उनको पहिला दुई लक्ष्य थिए- पहिलो, परिवारलाई खुशी पार्ने, दोस्रो- ओलम्पिक खेल्ने ।

त्यसैले अहिले उनी भन्ने गर्छन्- अबको लक्ष्य ओलम्पिक खेल्नु हो ।

 

प्रदिप अधिकारी
प्रदिप अधिकारी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्