खडक चन्दको गायन यात्रा : मलाई लगेपछि दाइहरूले दोहोरीमा हारिँदैन भन्थे

शेरबहादुर थापा
शेरबहादुर थापा

लोकान्तर संवाददाता थापा कर्णाली प्रदेशबाट रिपोर्टिङ गर्छन् ।

खड्कबहादुर चन्द राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सुर्खेत शाखाका अध्यक्ष हुन् । दोहोरी गीत प्रतिष्ठानको नेतृत्व तहमा रहेर काम गरिरहेका चन्द दुई तीन कक्षामा हुँदा नै आफूले दोहोरी गीत गाउन थालेको बताउँछन् । विशेष गरेर चाडपर्व र विवाह, पूजा, व्रतबन्धका समयमा दोहोरी उनी दोहोरी गाउँथे रे ! 'अझ यति कि मलाई लिएर गएपछि दोहोरीमा जीत पक्का झैं मानेर दाईहरूले गीत गाउन सँगै लैजानुहुन्थ्यो,' चन्द बाल्यकाल सुनाउँछन् ।

उनले सानैदेखि गीतमा छाप पर्नुको कारण आमाबुवानै हुन् । उनका आमावुवा पनि गाउँघरमा ठाडी भाका गाउँथे । त्यसैले त उनलाई गायन क्षेत्रमा परिवारको लगातार साथ र सहयोग भइरह्यो । उनी भन्छन्, 'मेरो बुवा पैसरी नृत्यको अगुवा पनि भएका कारण मलाई गीत संगीतमा लाग्न समस्या भएन । घरबाट सकारात्मक सहयोग पाइरहेँ ।’


Advertisement

वि.सं. २०४५ साल चैत ११ गते चिङ्गाड गाउँपालिकाको वडा नं. ४ मटेलामा जन्मिएका चन्द विगत लामो समयदेखि लोक तथा दोहोरी गीत प्रतिष्ठानमा आवद्ध भएर लोक–संस्कृतिको संरक्षणमा सक्रिय छन् । साथै उनी विभिन्न संघ–संस्थामा आवद्ध भएर सामाजिक कार्यमा पनि उत्तिकै क्रियाशील छन् । कला र सामाजिक कार्यलाई सँगसँगै अघि बढाउँदै लगेका छन् ।

लोकान्तरसँगको कुराकानीमा उनले दोहोरी गाउँदाका केही रमाइला क्षण पनि सुनाए । दोहोरी गाउँगाउँदै बिहे गरेर लैजानेसम्मको कुरा भयो । तर केटीका आमाबुवाले साँच्चै सोचेछन् । 'त्यसपछि उहाँहरूले हामीलाई लखेट्नुभयो,' उनी भन्छन्, ‘भाग्ने क्रममा केही साथी सिस्नोघारीमा परेछौं ।'


Advertisement

त्यसपछि उनी तीनसम्म विद्यालय गएनन् । घरमै बसे सिस्नोले पोलेको ठाउँमा घरेलु उपचार गरेर बसे । त्यो घटनालाई उनी अहिले पनि सम्झिन्छन् र सोच्छन्- उबेला त्यतिसम्म गरियो है !

उनी गायक र सर्जक मात्रै भएनन् । विद्यार्थी राजनीतिमा पनि जोडिए । राजनीतिसँगको उनको साइनो पुरानै हो । कारण- बुवा लोकबहादुर चन्द मटेला गाउँ पञ्चायतको पूर्व प्रधानपञ्च हुनु ।

घर परिवारमा राजनीतिक माहौललाई नजिकबाटै नियालेका चन्दलाई राजनीतिले नछुने कुरै थिएन । उनी २०६१ मा मावि इकाई कमिटीको अध्यक्ष भए । 'देशमा सशस्त्र द्वन्द्वको समय थियो । हामी कक्षा ५–६ मा पढ्दै गर्दा नेपाली सेनाले पिपलको बोटमा राखेका झण्डा हटाउन हामी केटाकेटीलाई लगाउने गर्थे,' राजनीति गर्दाका शुरूआती दिन सम्झिए उनले, 'रूखमा चढेर झण्डा निकाल्दा कति बेला गोली हानेर खसाल्ने हुन् कि भने चिन्ता हुन्थ्यो । उनीहरूको व्यवहारले मलाई त्यसबेलामा राजनीतिमा लाग्न प्रेरित गरेको थियो भन्ने लाग्छ ।’

*****

कक्षा ८ मा पढ्दा चन्दसहित केही साथीहरू मिलेर मालिका सांस्कृतिक संरक्षण केन्द्र स्थापना गरेका थिए । केन्द्रले  विभिन्न सांस्कृतिक कार्यक्रम गर्ने उनी देउसी–भैलो खेलेर जम्मा भएको पैसा सामाजिक काममा लगाउँथ्यो । यस संस्थाले अहिले पनि कला–संस्कृतिको संरक्षणमा निरन्तर काम गरिरहेको छ ।

*****

उनी सर्जक, हार्मोनियम बादक, कार्यक्रम सञ्चालक र लोक दोहोरी गायकको रूपमा कर्णालीमा परिचित छन् । उनी दाङ, बर्दिया, कालीकोट, जुम्ला, मुगु, दैलेख, काठमाडौं, पोखरा, तथा सुर्खेतका अधिकांश मेला महोत्सवमा उनले आफ्नो कला देखाइसकेका छन् । कर्णालीका लोक दोहोरी पारखीला२ उनले छमछमी नचाएका पनि छन् त कहिलेकाहीँ भावुक पनि बनाएका छन् ।

दोहोरी निर्णायकको भूमिकामा समेत बढी देखिने गरेका उनले दर्जनौं गीतको सिर्जना गरेका छन् । उनका केही सिर्जना सार्वजनिक भइसकेका छन् भने केही बजारमा आउने तयारीमा छन् । ‘म लोकदोहारी प्रतिष्ठानमा २०६७ सालमा आवद्ध भएको थिएँ । कार्यसमिति सदस्य हुँदै कोषाध्यक्ष, सचिव भएर हाल अध्यक्षको रूपमा कार्यरत छु,’ उनले भने, ‘हाल गीत संगीतको कक्षालाई व्यवस्थापन गरिरहेका छौं ।’

नृत्य, हार्मोनियम, मादल, बाँसुरी, तबला, गिटारलगायतका विधाहरूमा प्रशिक्षण दिइरहेको उनको भनाइ छ ।

*****

राष्ट्रिय स्तरका लोक दोहोरी प्रतियोगितामा सुर्खेतको प्रतिनिधित्व गरेर सहभागिता जनाइसकेका उनले गाउँ तथा जिल्लामा आयोजना हुने विभिन्न प्रतियोगितामा प्रथम भइसकेका छन् पछिल्लो चरण्मा संगठनात्मक विस्तारमा लागिरहेका उनले अग्रज कलाकारहरुको हक हितमा लाग्ने काम गर्दै आइरहेका छन् । ‘गीत संगीतको क्षेत्रलाई विस्तार गर्ने, विभिन्न सरकारसँग सहकार्य तथा समन्वय गर्दै कर्णालीको मौलिक पहिचान बोकेको लोकसंस्कृतिको प्रर्वद्धन गर्न लागि परिरहेको छु,’ उनी भन्छन्, ‘म अहिले गीत संगीतका एल्बम निकाल्न भन्दा पनि कर्णाली प्रदेश सरकारलाई कर्णाली प्रज्ञा प्रतिष्ठान वा सांस्कृतिक प्रतिष्ठान गठनका लागि ध्यानाकर्षणका लागि जुटेको छु । उहाँहरूबाट सकारात्मक जवाफ पनि आएको छ ।’

सरकारले नीति तथा कार्यक्रममा नै प्रतिष्ठान गठन गर्ने कुरा ल्याएको र सांस्कृतिक घर निर्माण गर्ने कुरा उल्लेख गरेको छ । यो कर्णालीको कला संस्कृतिको जगेर्ना गर्ने थलोका रूपमा हुने विश्वास प्रतिष्ठानको रहेको उनको भनाइ थियो ।

कर्णाली प्रदेश सरकारले कला साहित्यको क्षेत्रमा योगदान गरेका अग्रज व्यक्तिहरूको हितका लागि ध्यान दिनुर्ने उनी बताउँछन् । ‘अहिले त हरेक गाउँ बस्तीमा अधिकार सम्पन्न स्थानीय सरकारहरू छन् । हरेक स्थानीय तहले स्थानीय तहमा र प्रदेश सरकारले प्रदेश तहमा मौलिक कला तथा संस्कृतिका धरोहरलाई जगेर्ना गर्न आवश्यक छ,' उनले भने ।

उनले प्रदेश तथा स्थानीय सरकारले खेलकुद शाखा, शिक्षा शाखा जस्तै संस्कृति शाखा गठन गरेको भए कला साहित्यको संरक्षण गर्न कोसे ढुंगा बन्ने बताए । ‘संस्कृति शाखा गठन गर्न सकेको स्थानीय तथा प्रादेशिक रूपमा लामो समय कला साहित्यमा लागेका अग्रजहरूले रोजगारी पनि पाउने र युवा पुस्ताको पनि आकर्षण बढ्ने भएका कारण कर्णालीको मौलिक संस्कृति जगेर्ना गर्न सकिन्थ्यो,' उनले भने, ‘राज्यले यस बारेमा सोच्न जरुरी छ । कर्णालीका झ्याउरे, देउडा, सिंगारु, मयुर नाच, हुड्के, पञ्चेवाजा, रत्यौडी, धमारी, पैसेरी, खाडो नाच, राउटे नाच, मारुनी जस्ता मौलिक कला साहित्य जगर्ने गर्न सकिन्थ्यो ।’

उनी पछिल्लो समयमा सरकारी सेवामा प्रवेश गरेपनि लोक संस्कृतिको क्षेत्रमा जहाँ भएपनि निरन्तर लागिरहने प्रण गर्छन् ।

शेरबहादुर थापा
शेरबहादुर थापा

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्