प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताबीच देखिएको अविश्वास अन्त्य गर्न सभापति शेरबहादुर देउवाले पहल गरेका छन् ।
बुधवार अपराह्न शीर्ष नेताहरूलाई आफ्नो निवासमा बोलाएर विवाद समाधानका लागि सुझाव लिने तयारी गरेका हुन् ।
आफ्नो निवास बुढानिलकण्ठमा देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह लगायतका नेताहरूलाई आमन्त्रण गरेको देउवानिकट स्रोतले जानकारी दियो ।
बहुमतको बलमा एकलौटी निर्णय गरेको भन्दै संस्थापनइतर नेताले देउवाको आलोचना गर्दै आएका थिए ।
गत पुस ११ गते वरिष्ठ नेता पौडेलपक्षको बहिष्कारका बाबजुद बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशन कार्यतालिका घोषणा गरेको थियो ।
२०७७ सालको फागुनमा गर्ने गरी महाधिवेशनको कार्यतालिका घोषणा गरेपछि पौडेलपक्ष रुष्ट बनेको थियो । केन्द्रीय समितिको बैठकले गरेको विभागको संख्या बढाउने र तरुण दलको म्याद थप्ने निर्णय पनि विवादमा परेको थियो ।
पौडेलपक्षले केन्द्रीय समितिको बहुमतले गरेको निर्णय तत्काल फिर्ता गर्नुपर्ने माग गरेको थियो । निर्णय फिर्ता नभएसम्म पार्टीको औपचारिक बैठकमा सहभागी नहुने घोषणा पौडेलले गरेका थिए ।
देउवाले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोटमा पनि एकलौटी गरेका थिए । केन्द्रीय समिति सदस्य डाक्टर मिनेन्द्र रिजालले देउवाको यो कदम पार्टी कब्जा गर्ने दिशातर्फ उन्मुख रहेको आरोप लगाए ।
संस्थापन पक्षले पेल्दै गइरहेको निष्कर्षका साथ पौडेलले पुसको तेस्रो साता जिल्ला सभापतिहरूको भेला बोलाए । पार्टी केन्द्रीय कार्यालय सानेपामा ३ दिनसम्म चलेको बहुमत जिल्ला सभापतिको भेलाले केन्द्रीय समितिको निर्णय फिर्ता गराउनुपर्ने माग गर्यो ।
जिल्ला सभापतिको भेलापछि सभापति देउवा केही लचक बनेका छन् । वरिष्ठ नेता पौडेल उपचारका लागि भारत जानुभन्दा अगाडि पुस २७ गते देउवानिवास बुढानिलकण्ठमा सभापति देउवा, वरिष्ठ नेता पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच पार्टीलाई एक बनाएर अघि बढाउने छलफल भयो । छलफलमा दुवै पक्ष लचक देखिएको एक नेताले बताए ।
पौडेल भारतको राजधानी दिल्लीबाट फर्किएपछि देउवासँग फोनमा छलफल गरेका थिए ।
सोमवार पार्टी केन्द्रीय कार्यालय सानेपामा उपसभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह र कृष्ण सिटौलाले पार्टीभित्र देखिएको विवाद समाधान गर्ने विषयमा छलफल भएको थियो ।
सभापति देउवाको प्रतिनिधित्व गरेका निधिले आफूहरू पुस ११ गतेको केन्द्रीय समितिका केही निर्णयहरू सच्याउन तयार रहेको बताएपछि नेता सिंह र सिटौला खुशी भएका थिए ।
स्रोतका अनुसार केन्द्रीय महाधिवेशनको मिति यथावत् नै राख्ने पक्षमा देउवा देखिएका छन् भने अन्य अधिवेशनको मिति सच्याउन र विभागको संख्या केही कम गर्न देउवा तयार भएका छन् ।
स्रोतको दाबीलाई देउवानिकट मानिने सहमहामन्त्री डा. प्रकाशशरण महतले पुष्टि गरेका छन् । ‘केन्द्रीय महाधिवेशनको मितिबाहेक अन्य अधिवेशनको कार्यतालिका हेरफेर गर्न गर्न सकिन्छ,’ महतले भने ।
लोकान्तर संवाददाता