राष्ट्रिय सभा सदस्य चयनका लागि शुरू भयो मतदान

संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा रिक्त १८ जना सदस्यका लागि सातवटै प्रदेशमा मतदान शुरू भएको छ ।

बिहान १० बजेदेखि शान्तिपूर्णरूपमा मतदान शुरू भएको निर्वाचन आयोगले जनाएको छ ।


Advertisement

प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, बाग्मती प्रदेशको ललितपुर, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको दिपालयमा मतदान शुरू भएको हो ।

जावलाखेलस्थित खेल मैदानमा मतदानका लागि लाइन लागेका जनप्रतिनिधि


Advertisement

प्रदेश सभाका सदस्य, महानगर, उपमहानगर र नगरपालिकाका मेयर/उपमेयर तथा गाउँपालिका  अध्यक्ष/उपाध्यक्षले राष्ट्रिय सभा सदस्य चयनका लागि मतदान गर्न पाउँछन् ।

स्थानीय तहका मेयर/उपमेयर तथा अध्यक्ष/उपाध्यक्ष गरी १५०६ तथा प्रदेश सभाका ५५० गरी कूल २०५६ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ रहेको छ ।

फागुन २० गते रिक्त हुन लागेका १९ सीटमध्ये १८ सदस्य चयनका लागि निर्वाचन हुन लागेको हो । एक सदस्य भने राष्ट्रपतिले मनोनित गर्नेछिन् ।

निर्वाचनपछि आजै रातिसम्म नतिजा सार्वजनिक गर्ने गरी निर्वाचन आयोगले तयारी थालेको छ ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्