पाँचखालका मनकारी मेयर : असहाय वृद्धको ऋण तिरिदिए, कोट फुकालेर लगाइदिए !

काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर– ११ खरेलथोक निवासी ६८ वर्षीय वृद्ध गोपालप्रसाद खरेल बिहीवार एक थान थोत्रो बैशाखी टेकेर नगरपालिकाको कार्यालयमा छिरे ।

सरकारले दिएको अपांगता परिचय पत्र नवीकरणका लागि पुगेका थिए, उनी । 


Advertisement

अपांगता परिचय पत्र वितरणसम्बन्धी निर्देशिका संशोधन भएपछि खरेलको अपांगता परिचय पत्र (ख) बाट (ग) वर्गमा झरेको छ ।

त्यही विषयमा गुनासो गर्न र आफ्ना अन्य केही गुनासा सुनाउन उनी नगर प्रमुख महेश खरेलको कार्यकक्षमा छिरे ।


Advertisement

हातमा २ बैशाखी, खरानी रंगको दौरा, निलो कोठे गलबन्धी र शीरमा ऊनको टोपी, यस्तै थियो उनको हुलिया ।

भित्र पुगेर ती वृद्धले आफ्नो दु:ख बिसाए । मेयर खरेलले वृद्धको गुनासो धैर्यतापूर्वक सुने । 

जवाफमा उनले अपांगता परिचय पत्रसम्बन्धी त्यस किसिमको गुनासो आफूहरूले सरकारलाई लेखेर पठाइसकेको बताए ।

त्यसपछि जे भयो त्यो भने न ती वृद्धले सोचेका थिए, न त्यहाँ उपस्थित नगरपालिकाका कर्मचारीले नै ।

उनले आफूले लगाइरहेको कोट फुकालेर ती वृद्धलाई लगाइदिए । 

'कोट नै फुकालेर दिनुहोला भन्ने त सोच्या थिएनौं,' पाँचखाल नगरपालिकाको कार्यालयमा कार्यरत अधिकृत रमेश बञ्जाराले लोकान्तरसँग भने, 'ल बुवा तपाईंको कोट पुरानो पनि भएको रहेछ, यो लगाउनुस् । अरू समस्या पनि म हेरौंला, चिन्ता नलिनुस्, भन्नुभयो ।'

मेयर खरेलले ती वृद्धले खानेपानी आयोजनाका लागि सहकारीबाट लिएको १८ हजार ऋण र तिर्न बाँकी ८ सय रुपैयाँ ब्याज पनि तिरिदिने वचन दिएका छन् ।

एडीबीको लगानीमा बनेको खानेपानी परियोजनामा स्थानीय उपभोक्ताले पनि ५ प्रतिशत योगदान गर्नुपर्ने थियो । 

सोही प्रयोजनका लागि ऋण दिएका थिए, गोपाल प्रसादले ।

***

ती वृद्धको शरीरमा न्यानो कपडा नदेखेर आफ्नो कोट लगाइदिएको मेयर खरेलले लोकान्तरसँग बताए । 

'मैले त स्वैच्छाले लगाइदिएको हो, त्यहीँ रहेका साथीहरूले फोटो खिचेर फेसबूकमा हाल्नुभएछ,' मेयर खरेलले भने, 'यसरी फेसबूकमा हालेको मलाई मन परेको छैन । मैले प्रचारका लागि गरेको पनि हैन ।'

मेयर खरेलले लोकान्तरलाई दिएको प्रतिक्रियाको सम्पादित अंश :

हिजो उहाँ आउनुभएको थियो । समस्या सुनाउनुभयो, ध्यानपूर्वक सुनें ।

खानेपानीका लागि लिएको ऋण तिर्न सहकारीले फोन गरिरहन्छ, मैले कहाँबाट ल्याएर तिर्नु ? भन्नुभयो ।

मैले तत्कालै सामुदायिक सहकारीलाई फोन गरेर अब उहाँलाई फोन नगर्नु, सावाँ र ब्याज दुवै म तिरिदिन्छु भनें ।

कुराकानीका क्रममा देखें– उहाँको शरीरमा बाक्लो लुगा थिएन । जाडो भएको जस्तो फील भयो ।

जाडो भएन बुवा ? ज्याकेट–कोट छैन ? भनेर सोधें । उहाँले छैन बाबु, जे भएको लगाएर आएँ भन्नुभयो । 

त्यसपछि मेरो मन के भयो, भयो…! एक्कासि पग्लियो । कोट फुकालेर लगाइदिएँ ।

मैले त स्वैच्छाले लगाइदिएको हो । त्यहीँ रहेका साथीहरूले फोटो खिचेर फेसबूकमा हाल्नुभएछ ।

फोटोबारे मैले पछि मात्र थाहा पाएँ । यसरी फेसबूकमा हालेको मलाई मन परेको छैन ।

मैले प्रचारका लागि गरेको पनि हैन ।

त्यो कोट एनिभर्सरीमा मलाई मेरी श्रीमतीले ल्याइदिएकी थिइन् । हामी दुवैलाई एकदमै मन पनि पर्थ्यो ।

मसँग त घरमा अरू ३/४ वटा कोट छँदैछन्, उहाँलाई जाडोमा थोरै भएपनि न्यायो दिन सकें, यसैमा खुशी छु ।

***

कोट दराजमा राख्या छु, मेयरबाबु दयावान हुनुहुन्छ : गोपालप्रसाद

मेरो नाम गोपालप्रसाद खरेल हो । उमेरको कुरा गर्नुहुन्छ भने ७० पुग्न २ वर्ष बाँकी छ ।

घरमा दुई जना मात्रै छौं, श्रीमती र म ।

हामी गरीब छौं । जसोतसो गुजारा चलिरहेको छ ।

गाउँमा थुप्रै समस्या छन्, त्यसमध्ये खानेपानी पनि हो ।

खानेपानीका लागि यसपालि ऋण लाग्यो । महिनैपिच्छे १३ सय बुझाउनुपर्छ । त्यो कहाँबाट ल्याउने हो ? कमाउने कोही पनि छैन । 

सबै गरेर सामुदायिक सहकारीबाट ल्याएको ऋणको साँवा र ब्याज गरी १८ हजार ८ सय पुग्यो । एउटा यो विषयले मलाई चिन्तित बनाएको थियो । 

अर्को, म अपांग भएको १६ वर्ष भयो ।

पहिला अपांगको 'ख' वर्गको कार्ड थियो मसँग । अहिले 'ग' मा झारिदियो ।

यसले मलाई अर्को चिन्ता थपेको थियो ।

यिनै दु:ख पीर-मर्का बिसाउन स्थानीय सरकारका प्रमुख मेयरबाबु कहाँ पुगेको थिएँ ।

उहाँसँग मेरो पुरानो चिनजान छ । बाउबाजेदेखिको चिनजान हो । हाम्रै वरपरका बाबु हुन् ।

मेरो कुरा कसो नसुन्लान् त बाबुले भन्ने लागेर हिजो (बिहीवार) खरेलथोकबाट गाडी चढेर पाँचखाल नगरपालिका झरें । 

म हिँड्न सक्दिनँ । गाडी पाए मात्रै झर्छु । मेयर बाबुलाई भेटें । 

शुरूमा खानेपानी भित्र्याउँदा लागेको ऋणको व्यथा सुनाएँ । प्रत्येक महिना सहकारीले फोन गरेर ब्याज बुझाउन भनेको कुरा पनि सुनाएँ । 

मेरो कुरा सुनेपछि मेयरबाबुले तुरुन्तै सहकारीमा फोन गर्नुभयो र अबदेखि उहाँलाई सम्पर्क नगर्नू, १८ हजार साँवा र ८ सय ब्याज गरेर १८ हजार ८ सय रुपैयाँ म तिरिदिन्छु भन्नुभयो ।

म निकै खुशी भएँ । बेलुका घर गएर बूढीलाई सुनाएँ, बूढी पनि गद्‌गद् भइन् । मख्खऽऽऽ परिन् । 

त्यसपछि अपांगको कार्ड 'ग' मा झारिदिएको कुरा गरेँ । यस विषयमा मेयरबाबुले हामीले पनि केन्द्रमा लेखेर पठाएका छौं भन्नुभयो । म कोशिश गर्छु भन्नुभयो उहाँले । 

त्यसपछि मेयरबाबुले मेरो शरीरतिर हेरेर तपाईंसँग ज्याकेट छैन, कोट छैन ? भन्नुभयो ।

मसँग भएको यत्ति हो बाबु भनेँ । अनि तुरुन्तै आफूले लाएको कोट फुकालेर मलाई लगाइदिनुभयो । कोट ला'एसी न्यानो भयो । हेर्दा पनि  राम्रो छ । तर बेलुका घर आएपछि फुकालेर दराजमा राखेको छु । 

अलिकति कोटको बाउला फुकाउनुपर्ने छ, सूचीकारलाई एकदुई दिनमै भेटेर बाउला फुकाएर लाउने विचार गरेको छु ।

मेयर बाबुले मलाई मात्रै होइन, गाउँका सबैका समस्या सुन्ने र सबैलाई सहयोग गरेर मनमनमा बस्नुभएको छ ।

सकेसम्म कसैलाई पनि रित्तो फर्काउनुहुन्न । गाउँमा धेरै सहयोग गर्नुभएको छ । 

उहाँको बाउबाजेको पालादेखि नै यस्तै हो । अझ मेयरबाबु दानी हुनुहुन्छ । 

उहाँलाई अझै राम्रो होस्, मेरो आशीर्वाद छ । 

उहाँलाई अरूले भेट्न सक्दैन । 

सम्पत्तिमा तलमाथि होला तर व्यवहारमा उहाँहरू उच्च हुनुहुन्छ । उहाँहरू दयावान् हुनुहुन्छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्