सरकारले भन्याे: 'कोरोना भाइरसका कारण आत्तिनुपर्ने अवस्था छैन’

चीनको हुवान प्रान्तबाट शुरु भएको नोभेल कोरोना भाइरस एक नेपालीमा देखिएपछि सरकारले उच्च सतर्कता अपनाउन थालेको छ । उनी त्यही प्रान्तबाट आएका नेपाली हुन् ।
एक जनामा देखिए पनि सङ्क्रमण बढ्नसक्ने आशङ्कामा सरकारले विभिन्न क्षेत्रमा डेस्क स्थापना गरेर सङ्क्रमण फैलन नदिन आवश्यक तयारी थालिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । काठमाडौँ, पोखरा, चितवन, लुम्बिनीलगायत क्षेत्रमा डेस्क नै स्थापना गरेर निगरानी र सतर्कता अपनाउन थालिएको हो । 

त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलमा आगन्तुकको परीक्षणका लागि चौविसैघण्टा स्वास्थ्यकर्मीको टोली खटाइएको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए।


Advertisement

'कोही आत्तिनुपर्ने अवस्था छैन तर पनि सङ्क्रमित क्षेत्रबाट आएकालाई भने विशेष निगरानी गरिएको छ,' श्रेष्ठले भने। सामान्य ज्वरो आउँदैमा डराइडराइ अस्पताल जानु नपर्ने उनले बताए। सङ्क्रमण दर बढन्सक्ने आशङ्कामा निगरानी बढाइएको र बढ्ने अवस्था देखिएमा त्यसको सामना गर्न आवश्यक तयारी भइरहेको सरकारले जनाएको छ। 

विमानस्थलबाट आउने सबै व्यक्तिको ज्वरोको जाँच शुरु गरेको र एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । स्वास्थ्यकर्मी बढी जोखिममा हुने भएकाले आवश्यक सावधानी अपनाउन भनिएको छ । स्वास्थकर्मीलाई आवश्यक प्रशिक्षण दिन थालिएको छ। 


Advertisement

नोभेल कोरोना भाइरसले रुघाखोकीदेखि गम्भीर प्रकारको स्वाशप्रश्वाशको समस्या निम्त्याउन सक्ने चिकित्सकले बताएका छन् । शुरुमा जनावरबाट मान्छेमा आएको यो भाइरस पछिल्लो समयमा मान्छेबाट मान्छेमा सरेको विश्वस्वास्थ्य सङ्गठन (डक्लुएचओ) ले पुष्टि गरिसकेको छ । 

कोरोना भाइरस विभिन्न सात खालमा छ । सन् २००३ मा चाइनामा सार्स कोरोना देखा परेको थियो । त्यसपछि सन् २०१२ मा मर्स कोरोना देखियो । अहिलेको ३१ डिसेम्बरमा चीनको हुवान शहरबाट नोभेल कोरोना भाइरस देखिएको हो । यसलाई '2019,N-cov'नाम दिइएको छ । 

मुख्य लक्ष्यण

नोभेल कोरोना भाइरसको मुख्य लक्षण भनेको ज्वरो आउनु, सास फेर्न अफ्ठेरो हुनु र छातीमा सङ्क्रमण हुनु हो । रुघाखोकी जस्तै लक्षण देखिने भाइरस श्वासप्रश्वास, एक जनाले प्रयोग गरेको सामान वा रुमाल प्रयोग गर्दा, हात मिलाउँदा सर्नसक्ने चिकित्सकको भनाइ छ ।

यसको नियन्त्रणका लागि तत्कालै पहिचान गर्ने, त्यसलाई व्यवस्थापन र निदानात्मक उपाए अपनाउने, सङ्क्रमित व्यक्तिको नजिकका मान्छे खोजेर उनीहरुको निगरानी गर्ने जस्ता उपाए अपनाउनुपर्नेमा चिकित्सकको जोड छ । 

यस्तै विभिन्न देशमा गएका यात्रीले आफ्नो स्वास्थ्यमा सचेतना अपनाउनुपर्छ । धेरै भिडमा नजाने, व्यक्तिगत सुरक्षा र सरसफाइमा ध्यान दिने, सकेसम्म हात नमिलाउने मिलाएमा साबुन पानीले राम्ररी हात धुनसमेत चिकित्सकले भनेका छन् । 

विश्व स्वास्थ्य सङ्गठनको आकस्मिक कमिटीको यही जनवरी २२, र २३ मा जेनेभामा बसेको बैठकले यसलाई अहिलेसम्म विश्वको ठूलो स्वास्थ्य समस्याको रुपमा घोषणा गरेको छैन । मध्यम तहको भनेर घोषणा गरेको छ । सङ्गठनको तथ्यङ्क अनुसार दुई हजार ७९८ जनामा भाइरस सङ्क्रमण भएको पुष्टि भएको छ । चीनबाहेक नेपालसहित ११ देशमा सङ्क्रमण भएको पुष्टि भएको छ । चीनमा दुई हजार ७४१ जना छन् भने बाँकी अन्य मुलुकका छन् । अहिलेसम्म ८० जनाको मृत्यु भएको जनाइएको छ । 

चीन बाहिर भियतनाममा मात्रै मान्छेबाट मान्छेमा सरेको पुष्टि भएको तर मान्छेबाट मान्छेमा कतिसमयमा र कुन परिमाणमा सर्छ भन्ने कुरा अझै यकिन छैन । कति अवधिमा रोग सर्छ भन्ने प्रष्ट नभए पनि सामान्यतः दुई देखि १० दिनभित्रमा लक्षण देखिने जनाइएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार बढी सङ्क्रमण फैलिएको चीनको हुवान प्रान्तमा १९० जना नेपाली रहेको तथ्याङ्क आएको छ । जसमध्ये १०० जना सम्पर्कमा आइसकेका छन्। अन्यलाई पनि वी च्याट ग्रुव वा अन्य कुनै माध्यामबाट सम्पर्कमा ल्याउने प्रयास भइरहेको जनाइएको छ । 

सन् २००२ मा चाइनामा सार्स कोरोना भएको थियो । त्यसको पुष्टि २००३ मा विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले ग¥यो । त्यहाँ आठ हजार जनामा सङ्क्रमण भएकोमा ७७४ को मृत्यु भएको थियो । मृत्युदर बढी थियो । सन् २०१२ मा साउदी अरबमा मर्स कोरोनाको सङ्क्रमण हुँदा मृत्युदर ३५ प्रतिशत थियो । अहिले तीन प्रतिशत मृत्युदर हुनु सामान्य भएको मन्त्रालयको दाबी छ । सन् २०१५ मा दक्षिण कोरिया पनि देखिएको थियो । 

नेपालमा यसरी भयो पुष्टि

हुवान प्राप्तबाट आएका एक व्यक्ति रुघाखोकी र ज्वरो देखिएपछि अन्य बिरामी झैँ आफैँ ओपिडीमा सामान्य तवरले उपचारमा आएका थिए । उनको नमूना परीक्षणका लागि विश्व स्वास्थ्य सङ्गठनको हङ्कङ्स्थित प्रयोगशालामा पठाइएको थियो । उक्त परीक्षणमा उनीमा नोभेल कोरोना भाइरस पुष्टि भएको शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका चिकित्सक डा विवेकलालले जानकारी दिए। 

उनी अहिले घर फर्किसकेका छन् । उनीसँगको सम्पर्कमा रहेका अरुमा भने भाइरस नदेखिएको डा विवेकलालले पत्रकारलाई जानकारी दिए। उनी नेपालमा गत पुस १६ गते चिकित्सकको सम्पर्कमा आएका थिए । पुस २८ गते भर्ना भएकोमा माघ ९ गते उक्त भाइरस रहेको पुष्टि भएको थियो । अहिलेसम्म परीक्षण गरिएका चारमध्ये तीन जनामा भने भाइरस नरहेको पाइएको छ । शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशाला हेर्ने डा रुना झाले अहिले कुनै पनि व्यक्ति परीक्षणको क्रममा नरहेको जानकारी गराए।

अर्का चिकित्सक डा अनुप बाँस्तोलाले मौसमी रुघाखोकी जस्तै रहेको बताउँदै दुबैको रोक्ने तरिका पनि उस्तैउस्तै हो भने । नियमित हात धुने, बिरामीको नजिक नजाने, गएमा सुरक्षा अपनाएर जाने, माक्स लगाउने सङ्क्रमित, व्यक्तिलाई छोएमा तत्कालै साबुन पानीले हात धुनेलगायतका उपाए अपनाउन उनले सबैलाई सुझाव दिए। 

सामान्य रुघाखोकी लागेका पनि टेकु अस्पतालमा आउने क्रम बढेको भन्दै उनले सङ्क्रमित क्षेत्रका मानिसलाई मात्रै विशेष निगरानी जरुरी रहेको तर अन्य मानिसले सामान्य रुपमा उपचार गराउँदा हुने बताए। स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर दाहालले समयमै स्वास्थ्य संस्थामा जाँच गराउनुपर्नेमा जोड दिए। –नारायण ढुंगाना/रासस

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्