नेपालको पर्यटन प्रवर्द्धनमा उपयोगी हुनसक्छ युरोपेली मोडल, युरोपबाट हामीले के सिक्ने ?

सन्तोष अधिकारी
सन्तोष अधिकारी

त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर अधिकारी हाल डेनमार्कको डेमन्फोन्ट युनिभर्सिटीमा अध्ययरत छन् ।

सन् २०१९ मा करीब ८९ मिलियन (८ करोड ९० लाख) पर्यटकले फ्रान्स भ्रमण गरेको पर्यटनसम्बन्धी विभिन्न रिपोर्टमा उल्लेख छ । प्राकृतिक, सांस्कृतिकदेखि पुरातात्विक विविधताको केन्द्रको रूपमा परिचित फ्रान्समा ३७ वटा त विश्व सम्पदा सूचीमा सूचीकृत स्थलहरू छन् । विदेशी पर्यटकबाट यो देशले कुल करको ३० प्रतिशत संकलन गर्दै आएको छ भने कुल गार्हस्थ उत्पादनमा पर्यटनको मात्र ९.७ प्रतिशत योगदान रहेको छ । कुल गार्हस्थ उत्पादनमा पर्यटनको ११ प्रतिशत योगदान रहेको स्पेनमा पनि सन २०१९ मा करीब ८३ मिलियन पर्यटकले पाइला टेकेका छन् ।

स्रो स्थानमा रहेको अमेरीका मा ८० मिलियन, चौथोमा रहेको चीनमा ६३ मिलियन र पाचौंमा रहेको इटलीमा ६२ मिलियन पर्यटक पुगेका छन् । निश्वका उत्कृष्ट १० पर्यटकिय देशमा एसियाली देश थाइल्यान्ड नवौं स्थानमा छ, तर सबैभन्दा बढी पर्यटक पुग्ने १० देशमा युरोपका मात्र ६ देश छन् । किन युरोपियन देशमा यति धेरै पर्यटकले भ्रमण गर्छन त ? यसको मूल कारण हो युरोपियन देशहरूले अपनाएको समान खालको नीति, चुस्त सुरक्षा व्यवस्था र प्रभावकारी प्रचार–प्रसार । यी बाहेक पनि युरोपका अन्य देशहरू पोर्चुगल, माल्टा, क्रोएसिया, ग्रिसलगायतका देशको आम्दानीको मूल स्रोत नै पर्यटन हो ।


Advertisement

युरोपका देशहरूले पर्यटक आकर्षण गर्न प्रयोग गर्ने अधिकांश स्रोत र विधि पनि समान नै छन् । उदाहरणका लागि फ्रान्सले लोभरे म्युजियाम, आइफिल टावर, प्यालेस अफ भर्सेलस जस्ता स्रोतलाई प्रचार गरेर करोडौं पर्यटक भित्र्याएको छ भने थाइल्यान्डले रात्रिकालिन जीवनशैली अनि प्राकृतिक सुन्दरता र उदार खालको आतिथ्यतालाई बेचेर पर्यटक आकर्षित गर्दै आएको छ ।

करोडौंमा पर्यटक भित्र्ययाउने यी देशले जे कुराको प्रचार गरेर फाइदा लिएका छन् त्योभन्दा धेरै गुणा पर्यटक आकर्षण गर्ने गन्तव्य, स्रोत र साधान नेपालसंग छ, तर विडम्बना किन नेपाल भ्रमण वर्ष घोषणा गर्दा पनि २० लाख पर्यटक भित्र्याउने साँघुरो लक्ष्यमा सीमित छ त ? अरू देशले वार्षिक करोडौं पर्यटक ल्याएर देशको अर्थतन्त्रलाई पर्यटनमा निर्भर बनाउने अवस्थामा पुग्दा सगरमाथादेखि गौतम बुद्धको जन्मस्थल अनि हिन्दुहरूको पबित्र स्थल पशुपतिनाथदेखि मुक्तिनाथलाई बोकेको भूमि किन ओझेल परिरहेको छ त ? राज्यले नगरेर मात्र होइन गर्ने विधि र प्रक्रिया नपुर्‍याएर नै पर्यटक आइरहेका छैनन् ।


Advertisement

धेरै साना देशले पनि ठूलो संख्यामा पर्यटक भित्र्याएर प्रगति पथमा लम्किरहेका छन् । पर्यटनलाई नारामा अर्थतन्त्रको मेरुदण्ड भनिएपनि यस क्षेत्रबाट सरकार तथा निजी क्षेत्रले यथोचित लाभ लिन सकेको देखिँदैन । नेपाल पर्यटनमा अझै पछि पर्नुको मूल कारण त विगतको सशस्त्र द्वन्द्वको ह्याङओभर र त्यसबाट देश मुक्त भइसकेको सन्देश वृहतरूपमा आम विदेशी माझ नपुग्नु नै हो । नेपाललाई अझै धेरै विदेशीले द्वन्द्वको दृष्टिले हेरेको पाइन्छ । अर्का तर्फ २०७२/०७३ को विनाशकारी भूकम्प पनि नेपाली पर्यटनका लागि अझै अभिसाप बनिरहेको छ ।

दुई ठूला छिमेकी देश भारत र चीन अनि बढी पर्यटक भित्रिने नजिकैको देश थाइल्यान्डसँग इयूले अख्तियार गरेजस्तै ती देशमा आएका पर्यटकलाई पनि नेपाल आउने सोही देशको भिसाले काम गर्ने नीति अख्तियार गर्न सक्छ । यस्तो खालको सम्झौता र नीति निर्माण नेपालले गर्‍यो भने करोडौंको संख्यामा आउने ती देशका पर्यटकको थोरै हिस्सा मात्र नेपाल आयो भने नेपाली पर्यटन उकासिन सक्छ ।

यस्ता तीतो यथार्थतालाई देशको सकरात्मक छविको व्यापक प्रचारप्रसारबाट मात्रै आझेलमा पार्न सकिन्छ अनि मात्र पर्यटकको विश्वास जित्न सम्भव हुन्छ । अन्यथा घोषणा गर्दैमा र बोलाउँदैमा कोही पनि विदेशी सहजै घुम्न जान तयार हुँदैन । एयारलाइन्सदेखि एयरपोर्टसम्मको अर्को समस्या त छँदैछ, यसको व्यवस्थापन राज्यको थोरै इफोर्टले नै सम्भव हुनसक्छ तर त्यसका निम्ति इच्छाशक्ति र कार्ययोजना सही भए पुग्छ, तर उल्लेखित समस्या हल हुँदैमा पर्यटक आइहाल्ने भने होइनन् । नेपालको पर्यटनको विकासमा अन्य देशको अनुभवको आदनप्रदान पनि सहयोगी बन्न सक्छ ।

सबैभन्दा पहिला युरोपियान देशहरूमा नै किन यति धेरै पर्यटक जान्छन् भन्ने कुराको चर्चा गर्न सान्दर्भिक लाग्यो । युरोपका सानादेखि ठूला धेरै देशको अर्थतन्त्रको आधार नै पर्यटन बनिसकेको छ । यसको पहिलो कारण हो भिसा अर्थात प्रवेशाज्ञमा सहजता । युरोपियन युनियनभित्र रहेका २८ देशका नागरिकले विनाभिसा सहजरूपमा ती देशमा भ्रमण गर्न सक्छन् । जसका कारण घुम्नका सौखिन युरोपियनहरू फुर्सद हुनेबित्तिकै अर्को देशमा लामो या छोटो यात्राको योजना बनाइहाल्ने गर्छन् । यति मात्रले युरोपियन मुलुकमा पर्यटक हराभरा भएका होइनन् । ईयूका यी देशमध्ये कुनै एक देशको सेञ्जेन भिसामा युरोप प्रवेश गर्ने अन्य महाद्विपका पर्यटक पनि सहजरूपमा २८ देश नै घुम्न सक्छन् । एक देशको भिसा लिएपछि २८ देश स्वतन्त्रपूर्वक घुम्न पाउने नीतिका कारण पनि एसियन, अफ्रिकन, अमेरिकन, दक्षिण अमेरिकनमूलका पर्यटक पनि युरोपमा धेरै आकर्षित हुने गरेका छन् ।

अब यसबाट नेपालले के सिक्ने त ? हो ईयूको जस्तो नीति नेपालले चाहेर बन्ने कुरा होइन तर पर्यटकलाई आकर्षित गर्न पर्यटकलक्षित विशेष नीति निर्माण गर्न सक्छ । त्यसका लागि खास देशसँग पर्यटनलाई मात्र केन्द्रित गरेर नीति निर्माण गर्न सकिन्छ । दुई ठूला छिमेकी देश भारत र चीन अनि बढी पर्यटक भित्रिने नजिकैको देश थाइल्यान्डसँग इयूले अख्तियार गरेजस्तै ती देशमा आएका पर्यटकलाई पनि नेपाल आउने सोही देशको भिसाले काम गर्ने नीति अख्तियार गर्न सक्छ । यस्तो खालको सम्झौता र नीति निर्माण नेपालले गर्‍यो भने करोडौंको संख्यामा आउने ती देशका पर्यटकको थोरै हिस्सा मात्र नेपाल आयो भने नेपाली पर्यटन उकासिन सक्छ ।

प्रवेशाज्ञको सहजताको कारण पनि छिमेकी देशमा आएका ती पर्यटक नेपाल आउन अवश्य आकर्षित हुनेछन् । अर्कातर्फ चीन, भारत, थाइल्यान्डजस्ता देशका पर्यटन व्यवसायीले नेपाललाई समेत भ्रमण प्याकेजको रूपमा राखेर स्वस्फूर्त देशको प्रचारप्रसार गर्न सक्नेछन् । यीबाहेक अन्य देशसँग पनि नेपालले पर्यटककेन्द्रित सम्झौता र नीति निर्माण गर्न सक्छ । यस्तो नीति विश्वका कैयन देशले द्विदेशीय त्रिदेशीय सम्झौता गरेर अख्तियार गरि राखेका छन् । अब नेपालको पर्यटनलाई माथि उकास्ने हो भने चुस्त सुरक्षा प्रणाली निर्माण गरेर पर्यटक आगमनको आधार सहज बनाउँदै विश्वसँग जोडिनुको विकल्प छैन ।

दोस्रो कारण नेपालले पर्यटनको प्रचारप्रसारमा भाषामा ध्यान दिन जरुरी छ । नेपालले पर्यटन वर्ष २०२० को घोषणा त गरेको छ त्यसको प्रचारप्रसार धेरै सानो भूगोल, भाषा र जनमानसमा सीमित छ । हामीमा अझै पनि अंग्रेजीमा प्रचार गरिएपछि विश्वका धेरै मानिसले बुझ्छन् भन्ने भ्रम छ । अनि अंग्रेजी बोल्ने मात्र पर्यटक हुन् भन्ने अति साँघुरो सोच पनि । अहिलेको विश्वमा यो यथार्थ हो कि अंग्रेजी नजान्ने या जान्न नचाहने धेरै वैज्ञानिक र विद्वानहरू पनि छन् ।

अंग्रेजीबाहेक पनि चाइनिज, स्पेनिस, पोर्चुगिच, हिन्दी, रसियान, अरबिक भाषा बोल्ने मानिसको संख्या विश्वमा ठूलो छ । यी भाषा विश्वका धेरै देशमा बोलिन्छ । जसरी हामी कैयन नेपाली अंग्रेजी बोल्न जान्दैनौं या चासो दिदैनौं त्यसैगरी यी भाषा बोल्ने मानिसको ठूलो हिस्साले पनि अंग्रेजीमा बनाइएका र बोलिएका सामग्रीमा चासो दिँदैनन् । के उसो भए अंग्रेजी बोल्ने मात्र पर्यटक हुन् भन्ने मान्यतालाई त्यागेर विविध भाषामा नेपालको प्रचार सामग्री बनाउन जरुरत छैन त ? अवश्य छ । अंग्रेजी बुझ्ने बाहेकका अन्य अर्बौं पर्यटकलाई लक्षित गरेर देशको प्रचारप्रसार गरेमा मात्र पनि पर्यटन वृद्धिमा ठूलो प्रभाव पार्न सक्छ ।

नेपालका बारेमा विविध अन्तर्राष्ट्रिय भाषामा प्रचार सामग्री बनाएर प्रसारण गर्दा तीसम्बन्धित भाषाका नागरिकले पनि अपनत्व महसूस गर्छन् अनि नेपालका बारेमा बुझ्न र घुम्न रुचि देखाउने छन् । जस्तो भाषिक विविधता भएको युरोपमा कुनै अर्को देशमा हुने ठूला–ठूला इभेन्टहरूको प्रचार सम्बन्धित देशको भाषामा गरेर ती देशका नागरिकलाई आकर्षित गर्ने गरिन्छ, जसरी हामी कुनै विदेशीले नेपाली भाषा बोल्यो भने ऊप्रति सम्मान र निकटताको महसूस गर्छौं त्यसैगरी हाम्रो पर्यटनको प्रचार पनि सम्बन्धित देशको भाषामा केन्द्रित भएर गर्‍यौं भने अवश्य पर्यटन आकर्षणमा ठूलो टेवा पुग्नेछ, जुन युरोपियन मुलुकले अवलम्बन गरेका छन् ।

भाषिक विविधताको प्रयोग पर्यटन प्रबद्र्धनको मूलभूत स्रोत हो । यसो गर्न सक्दा नेपालको बारेमा फरक–फरक भाषा बोल्ने र बुझ्ने विश्वका धेरै मानिसलाई ज्ञान हुनेछ । यसका निम्ति नेपालले विविध भाषामा प्रचार सामग्री निर्माण गरेर सम्बन्धित भाषा बोल्ने र बुझ्ने जमातसम्म सञ्चार माध्यमको प्रयोग गरेर पहुँच पुर्‍याउन जरुरी छ ।

अब प्रश्न उठ्न सक्छ यति भयो भने पर्यटक बढिहाल्छन् त ? अवश्य बढ्दैनन् किनकी यी कुराले नेपालको पहिचानलाई फराकिलो बनाउन सक्छ तर पर्यटक बढीहाल्ने भन्ने ग्यारेन्टी हुँदैन । सुरक्षा र मनोरञ्जन पर्यटक आकर्षणका अन्य महत्वपूर्ण माध्यम हुन् । धेरै पर्यटक जानु पछाडिका युरोपका देशहरूको मुख्य विशेषता पनि सुरक्षा र मनोरञ्जन नै पर्छन् । वास्तवमा अर्को देशमा जाने हरेक पर्यटकको पहिलो शर्त नै जाने देशमा आफू कति सुरक्षित छु भन्ने नै हुने गर्छ । तसर्थ दश वर्षे द्वन्द्वको ह्याङओभर सकिएको गतिलो सन्देश दिन अन्तर्राष्ट्रिय स्तरमा नेपालले प्रभावकारी पहल गर्न जरुरी छ ।

साथै पर्यटक घुम्दा हरेक ठाउँमा सुरक्षित हुन्छन् भन्ने महसूस गराउन आएका पर्यटकमाझ त्यही स्तरको सन्देश प्रवाह गर्न सक्नुपर्छ । जसका कारण उही पर्यटक बारम्बार आउनेछन् भने उनीहरूले नै नेपालको सुरक्षा स्तरको बारेमा अन्यलाई बताउने छन्, जुन पर्यटन प्रवर्द्धनका लागि विश्वासिलो आधार बन्नेछ ।

मनोरञ्जनका लागि आएका विदेशीहरू साँझ नपर्दै सुत्नुपर्ने र घुम्न जाने स्थलहरूमा सानाठूला व्यवधान खडा भए भने यसले धेरै नकरात्मक सन्देश जानेछ । यसका लागि पर्यटन संस्कार र सुरक्षा संवेदनशीलतामा गम्भीरता अपनाउन आवश्यक छ । यस्ता विषयको गम्भीरताको कारणले नै युरोपका धेरै देश पर्यटकका निम्ति सुरक्षित र आकर्षणका केन्द्र बनेका हुन् भन्ने कुरामा दुईमत छैन ।

विदेशका सीमित म्यागेजिन र सञ्चार माध्यममा आक्कलझुक्कल चर्चा भएकै आधारमा पर्यटनले उचाइ लिन्छ भनेर ढुक्क भइयो भने नेपालको पर्यटन समयानुकूल परिष्कृत र परिमार्जित हुन सक्दैन, बरु अरू देशले अपनाएका सफल आधारहरूको अनुकरणबाट नै नेपाली पर्यटनको भविष्य उज्ज्वल बन्न सक्छ ।

सुरक्षा वास्तवमै अति संवेदनशील पाटो हो । मानौं इराक, सिरिया या अफगानिस्तान जस्ता देशले विदेशीलाई घुम्न आउनका निम्ति जति धेरै अफर र छूट दिएपनि एउटा पर्यटक ती देशमा जाने योजना बनाउँदैछ भने हजारपटक सोच्नेछ या त्यस्ता अफरले आकर्षण गराउन सक्ने छैन । यसको मूलभूत कारण त्यहाँको खराब सुरक्षा अवस्था नै हो, तसर्थ देशको सकरात्मक छवि निर्माण र प्रचारप्रसारमा विदेशीमाझ गतिलो छाप छोड्न राज्यको स्तरबाटै पहल नगरेसम्म हाम्रो पर्यटनको आयतन फराकिलो बनिहाल्न सक्दैन ।

युरोपियन पर्यटनका यी अनुभवलाई नेपालको पर्यटनमा लागू गर्न सकेमा नारामा मात्र होइन यथार्थमै पर्यटन देशको अर्थतन्त्रको मेरुदण्ड बन्नसक्छ, अन्यथा घोषणा गरेर या आह्वान गरेकै भरमा नेपाली पर्यटन विश्व स्तरमा पुग्न सक्दैन । धेरै पर्यटकका निम्ति अझै भर्जिनल्यान्डको रूपमा रहेको नेपालले पर्यटन वर्ष घोषणा गरेर मात्र होइन दायरालाई विस्तार गर्दै आगन्तुकका निम्ति विश्वासिलो वातवरण बनाएर अघि बढ्नु को बिकल्प छैन ।

विदेशका सीमित म्यागेजिन र सञ्चार माध्यममा आक्कलझुक्कल चर्चा भएकै आधारमा पर्यटनले उचाइ लिन्छ भनेर ढुक्क भइयो भने नेपालको पर्यटन समयानुकूल परिष्कृत र परिमार्जित हुन सक्दैन, बरु अरू देशले अपनाएका सफल आधारहरूको अनुकरणबाट नै नेपाली पर्यटनको भविष्य उज्ज्वल बन्न सक्छ ।

सन्तोष अधिकारी
सन्तोष अधिकारी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्