सारस्वत दर्शनको सार

कमल रिजाल
कमल रिजाल

लोकान्तरका नियमित स्तम्भकार कमल रिजाल धार्मिक संस्कार र समसामयिक विषयमा कलम चलाउँछन् ।

श्री शब्दको अर्थ हो लक्ष्मी । ठूला वडा वा सम्मानसूचक शब्द पनि हो यो । यससित सम्बन्धित पञ्चमी तिथि पनि छ हाम्रो संस्कृतिमा, जसलाई श्रीपञ्चमी भनिन्छ । यस दिन विद्याकी अधिष्ठातृ देवी सरस्वतीको पूजा हुन्छ । सरस्वतीको पूजा गरी अक्षराम्भ गराउँदा बालबालिकालाई पढ्न आउँछ भन्ने जनविश्वास छ । कृषकहरू हलोको पूजा गरी हलसारो गर्छन् यसै दिन । खेतीपाति सुरु गर्ने शुभ दिनको अर्थमा पनि लिइएको छ यस दिनलाई । वसन्त पञ्चमी पनि हो यस दिनको अर्को नाम । यसै दिनदेखि प्रकृतिमा वसन्त ऋतुको आगमन क्रम शुरु हुन्छ भन्ने मान्यतामा छ । वसन्त पञ्चमीका दिन माता सरस्वतीको साथमा ऋतु तथा प्रकृति र रति–कामदेवको पनि पूजा हुने गर्छ । यो विशुद्ध ऋतु परिवर्तनसित सम्बन्धित क्रिया हो । वैदिक युगदेखि नै चल्दै आएको हो यो चलन ।  यसलाई ऋषिमुनिहरूले वसन्तोत्सव भनेका छन्, वात्स्यायनले सुवसन्तक र महाकवि कालिदासले ऋतुत्सवको संज्ञा दिएका छन् यसलाई । 

सरस्वती शब्द सृ धातुबाट बनेको छ । यसको अर्थ हुन्छ प्रकृतिलाई सरस पारी परिवर्तनशील गराउने । वेदमा उनलाई जलदेवी भनिएको छ । वेदले उनलाई कतै नदीको रूपमा प्रस्तुत गरेको छ, कतै तीर्थको रूपमा । अहिले पनि विशिष्ट दुई नदीको सङ्गममा अदृष्यरूपमा अर्को पनि एक नदी हुन्छ भन्ने विश्वास छ, जसलाई सरस्वती भनिन्छ । यसैको कारण सो स्थान त्रिवेणी बन्न पुग्छ, जसले विशिष्टतम तीर्थको संज्ञा पाएको छ । उनलाई महाभारतमा वेदजननी, जैनधर्ममा श्रुतिदेवी, बौद्धधर्ममा प्रज्ञादेवी र बौद्धाधर्मावलम्बी मुलुक जापानमा बेन्जाइतेन आदि नामले पुकार्ने गरिएको छ । घाँटु, सोरठी, मारुने आदि नृत्यको शुरुमा पनि उनकै सम्झना गर्ने चलन छ । (डा.ऋषिप्रसाद शर्मा सरस्वती पूजाविधि पृष्ठ ४०)   


Advertisement

मूलतः माता सरस्वती विशिष्टतम वैदिक देवता हुन् । प्रायः सबै वैदिक संहिताहरूमा उनीबारे धेरथोर चर्चा भएको छ । ऋग्वेद प्रथम मण्डलका तेस्रो सूक्तमा विश्वामित्रपुत्र मधुच्छन्दाले उनलाई नदीरूप धारण गरी पृथिवीलाई हराभरा पार्ने र ज्ञानज्योतिद्वारा लोकलाई प्रकाशित गर्ने अर्थमा प्रस्तुत गरेका छन् । (ऋग्वेद १।३।१२) ऋग्वेदकै अर्को एक प्रसङ्गमा उनलाई पवित्रता र निरन्तरताको धरोहर मानेर उपासना गरिएको छ । (ऋग्वेद १।१३।।९) ऋग्वेद सातौं मण्डलका सूक्त ९५ं र ९६ ले पनि उनीलाई यस्तै रूपमा अथ्र्याउने काम गरेको छ । सूक्त ९५ को पाँचौं र छैटौं मन्त्रले मानिसलाई विद्या, बुद्धि, धन, सम्पत्ति आदि सबै किसिमको कल्याणकारी साधनले सम्पन्न गराउन सक्ने महाशक्तिको रूपमा उभ्याएको छ । अथर्ववेदमा उनका नाममा झन्डै आधा दर्जन सूक्त रहेका छन् । शौनक, वामदेव, मित्रावरुण आदि विशिष्टतम ऋषिहरूले गाएका यी सूक्तहरूले उनलाई यस्तै यस्तै शक्तिको रूपमा देखाउन खोजेका छन् ।  

शुक्लयजुर्वेद संहितामा उनी वैदिक मन्त्रद्रष्टा ऋषिकै पंक्तिमा उभिएकी छन् । माध्यान्दिनीय बाजसनेय शुक्लयजुर्वेद संहिताको १९ औँ, २० औँ र २८ औँ अध्यायमा उनै माता सरस्वतीसहितका ऋषिहरूद्वारा साक्षात्कार भएका मन्त्रहरू छन् । यिनमा अग्नि, सोम, सूर्य, इन्द्र, अश्विनीकुमार, पितृगण, देवगण, वायु, वरुण, प्रजापति, त्वष्टा, द्यावापृथिवी आदि विभिन्न देवीदेवताका विशेषताको व्याख्यान भएका छन् । यी मन्त्रहरूमा संसारको स्वरूप, तिनको विशेषता र तिनलाई प्रायोग गर्ने तरिकाबारे सूक्ष्मतमरूपमा उल्लेख भएका छन् । 


Advertisement

उपनिषद् युगमा माता सरस्वतीबारे थप अध्यायन भएको छ । ऋषिहरूले निकै गहिराइमा पुगेर उनको स्थान र विशेषता पत्ता लागाएका छन् यहाँ । ऋग्वेदीय सरस्वती रहस्योपनिषद्का अनुसार उनका आध्यात्मिक, आदिदैविक, आधिभौतिक तीन रूप छन् । आदिभौतिक रूपमा उनी भक्तहरूले स्थापना गरेका स्थानमा निवास गर्छिन् र आस्था र विश्वासको आधारमा उनीहरूको मनोकामना पूरा गर्छिन् । आधिदैविकरूपमा उनी ब्रह्माजीको मुखरूपी कमल वनमा विचरण गर्छिन् । उनको वर्ण सेतो छ । ओठ रातो छ । घाँटी शङ्ख जस्तोे सुन्दर छ, जसलाई मुक्तहारले थप सुन्दर बनाएको छ । उनका चारहात छन्, जसमा अक्षसूत्र, अङ्कुश, पाश र पुस्तक धारण गर्छिन् र यसैमार्फत् भक्तहरूको संरक्षण र सम्बर्धन गर्छिन् ।  

आध्यात्मिकरूपमा भने उनी सुषुम्ना नाडी निवासी वाणीकी अधिष्ठातृ देवी हुन् । हाम्रो शरीरको मेरुदण्डको दायाँ, वाँया इडा र पिङ्गला नामका दुई नाडी छन् । बीचको खोक्रो भाग सुषुम्ना नाडीको स्थान मानिन्छ । सरस्वती यिनै इटा र पिङ्गलालाई दाया वाँया राखेर बीचको सुषुम्नामा निवास गर्छिन् । मेरुदण्डमा गुदद्वारदेखि शिरसम्म मूलाधार, स्वाधिष्ठान, मणिपूर, अनाहत, विशुद्ध आज्ञाचक्र र सहस्रार गरी छवटा चक्र हुन्छ्न् । माता सरस्वतीले साधकहरूलाई उनीहरूको साधनाको स्तर अनुसार सर्वप्रथम मूलाधार चक्र नजिक तलतिर फर्केर सर्प जस्तो गुडुल्केर रहेको कुण्डलिनी शक्तिलाई उर्ध्व मुख गराउँछिन् र क्रमशः षड्चक्र भेदन गरी शिरमा रहेको सहस्रार चक्रमा पुर्‍याई ज्ञानको ढोका खोलिदिन्छिन् । उनले कुण्डलिनी शक्तिलाई माथितिर लाँदा आफ्नै निवासस्थान मानिएको सुषुम्ना नाडीको मार्ग प्रयोग गर्छिन् ।  

वाणीको परा, पश्यन्ति, मध्यमा र वैखरी चार रूप छन् । परास्वरूप नाभीमण्डलमा रहेको मणिपूर चक्रमा रहेको हुन्छ । पस्यन्ति स्वरूप हृदयमा रहेको अनाहत चक्रमा र मध्यमा स्वरूप घाँटीमा रहेको विशुद्ध चक्रमा रहन्छ भने वैखरी स्वरूपको स्थान मुखप्रदेश मानिएको छ । परास्वरूप अत्यन्त सानो हुन्छ । त्यसैले उसलाई परा भनिएको हो । यसलाई कसैले पनि देख्न सक्दैन । पश्यन्ति स्वरूपलाई ऋषिमुनिले ध्यानमा बसेको बेला अनुभव गर्न सक्छन् । त्यसैले उसलाई पश्यन्ति भनिएको हो । मध्यमा स्वरूप भनेको घाँटीमा आउने घुरघुर आवाज हो । यहाँसम्म पशुपक्षी लगायत सबैको बोल्ने शब्दको स्वरूप एउटै हुन्छ तर मुखबाट बाहिर निस्कने बेला भने तत्कालै वक्ताको इष्ट भाषामा अनुवाद हुन पुग्छ । सुषुम्ना निवासी सरस्वतीको आध्यात्मिक स्वरूपकै कारण यस्तो चमत्कार सम्भव भएको हो । (कल्याण उपनिषद् अङ्क पृष्ठ ६४३ र ४४) 

पौराणिक युगतिर आइपुग्दा कथाको जीवन्त पात्रको रूपमा समेत उपस्थित हुन पुगेकी छन् उनी । भागवतमा व्यासजीले उनलाई सृष्टिकर्ता ब्रह्माजीकी छोरी भनेका छन् । व्यासजीका अनुसार ब्रह्माजीले सृष्टि प्रक्रिया अघि बढाउने क्रममा उनलाई आफ्नै मुखबाट जन्म दिएका थिए । (भागवत ३।१२।२६) उनको सौन्दर्य देखेर एकपटक स्वयं ब्रह्माजी नै मोहित हुन पुगेका थिए । जबकि उनी स्वयं भने वासना रहित थिइन् । ‘वाचं दुहितरं तन्वीं स्वयम्भूर्हरतीं मनः । अकामां चकमे क्षत्तः सकाम इति नः श्रुतम् ।’ (भागवत ३।१२।२८)  यसैको कारण ब्रह्माजीलाई आफ्नो सो स्वरूप त्याग्नुपरेको थियो । उनको सो स्वरूपले कुहिरो बनेर अहिलेसम्म पनि दुनियाँलाई अँध्यारोतिर धकेल्ने प्रयास गर्दै आएको छ । ‘स इत्थं गृणतः पुत्रान् पुरो दृष्ट्वा प्रजापतीन् । प्रजापतिपतिस्तन्वं तत्याज व्रीडितस्तदा । तां दिशो जगृहुर्घोरांं नीहारं यद्विदुस्तमः ।’ (भागवत ३।१२।३३)

श्रीपञ्चमीमा तिनै सरस्वतीको सम्झना गरिने भएकाले यस दिनलाई विशेष पर्व मान्ने गर्छन् उनका भक्तहरू तर पर्व मनाउनुको अर्थ वर्षको एकदिन उनको सम्झना गर्नु मात्र होइन, सँधैभरि उनको सम्मान र सम्झना गर्नुपर्छ भन्ने सन्देश लिनु पनि हो । ज्ञान विना संसार चल्दैन । बच्चाले आमालाई चिन्दैन, आमाले बच्चालाई चिन्दैन । बाबु आमा, छोरा छोरी, पति पत्नीको अवस्था पनि त्यस्तै हो । यस अर्थमा सँधैभरि उनकै साथमा रहेका हुन्छौं हामी । उनले नै चलाएकी छन् खेलाएकी छन्, भलै अज्ञातरूपमै सही । यस अर्थमा भन्ने हो भने सरस्वती जयन्तिको औचित्य झनै बढी देखिन्छ ।

कमल रिजाल
कमल रिजाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्