प्रधानमन्त्रीले देखेका, तर जनताले अनुभूति गर्न नपाएका अभूतपूर्व उपलब्धि !

सुशील पन्त
सुशील पन्त

लोकान्तरका समाचार सम्पादक सुशील पन्त समसामयिक राजनीति र संसदीय मामिलामा कलम चलाउँछन् । 

केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको उद्घाटन मन्तव्यका क्रममा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार सरकारका काम कारवाहीको खुलेर प्रशंसा र भरमग्दुर बचाउ गरे ।

‘बिरामी प्रधानमन्त्री’ले झण्डै दुई घण्टासम्म चाखलाग्दो ढंगले सरकारका काम र उपलब्धिको फेहरिस्त प्रस्तुत गरे । संसद्मा राष्ट्रपतिले सरकारका  नीति तथा कार्यक्रम प्रस्तुत गरेको झल्को आउने गरी प्रधानमन्त्रीले मन्त्रालयका प्रगति विवरण पेश गरे । सारमा बुधवार ओलीको भाषण सुन्नलायक थियो । कसैले पट्यार लागेर हाई काढेको या निदाएको देखिएन । कूशलतापूर्वक उनले सरकारले गरेका कामको बढाइचढाइ प्रस्तुत गरे । 


Advertisement

यति होल्डिङ कम्पनी र गोकर्ण फरेस्ट रिसोर्टलाई पोस्न कम मूल्यमा सरकारी जग्गा भाडामा दिइएको भनेर भइरहेका मिडियाबाजीप्रति उनले कठोर जवाफ फर्काए– ‘व्यापारिक घरानाको विवादमा सरकार फस्दैन’ भनेर ।

यतिमात्र होइन उनले ‘ब्ल्याकमेलर’हरूको स्वार्थ नमिले पनि सरकारले गल्ती नगरेको स्पष्टीकरण दिए । पार्टीमा र बाहिर चर्को बहस भइरहेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्ने संकेत दिँदै केन्द्रीय समिति बैठकमा यसबारे धेरै बहस गर्नुको अर्थ नभएको सन्देश पनि ओलीले दिन भ्याए ।


Advertisement

जनताले अनुभूति गर्न नपाएका सरकारका उपलब्धि !

अन्य मञ्चमा जस्तै केन्द्रीय कमिटी बैठकमा पनि प्रधानमन्त्री ओलीले धेरै काम भएको दाबी गरे, अर्थात् सरकारका कामको पर्याप्त बचाउ गरे । बैठकको शुरूमै प्रधानमन्त्रीले आफ्नो सरकारले गरेका ‘राम्रा’ कामको बचाउ गरेर केन्द्रीय कमिटी बैठकमा सरकारको आलोचना गर्ने ठाउँ दिएनन् । नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले यस्तो दाबी गरिरहँदा सँगै रहेका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को मुहारमा भने उतिसारो चमक थिएन । 

नारायणी किनारमा अलि ठूलो आकारको डुंगा चलाएर पानीजहाज युगको शुरूआत भएको भन्नु, विराटनगरमा गोबरग्यास प्लान्ट उद्घाटन गरेर नेपालमा सिलिन्डर युगको अन्त्य भएको भन्नु र वर्षौंदेखि बहस हुँदाहुँदा बल्लबल्ल डोजर चल्ने अवस्थामा पुगेको नागढुंगा सुरुङ मार्गलाई लिएर नेपाल सुरुङ मार्गको युगमा प्रवेश गर्‍यो भन्नु आत्मरति मात्र हुनेछ ।

चितवनको ठूलो डुंगालाई देखाएर पानीजहाज युगमा प्रवेश गरेको प्रचार ‘हात्ती र हात्ती छाप चप्पल उस्तै हो नानू !’ भने जस्तै हो । 

प्रधानमन्त्रीले ह्याप्पिनेस इन्डेक्स (खुशी सूचकांक)मा नेपालको सुधार भएको भनेर दाबी गरे तर जनताको वास्तविक खुशी नाप्न घरदैलोमा पुग्नै पर्दैन, माइतीघर मण्डलामा खसेका उखु किसानका आँसु सम्झिए पुग्छ । 

सरकारले राम्रो काम गरेको भनेर जतिसुकै दाबी गरेपनि त्यसको अनुभूति जनताले गर्न पाएका छैनन्, यो कटुयथार्थ हो । प्रधानमन्त्रीले ह्याप्पिनेस इन्डेक्स (खुशी सूचकांक)मा नेपालको सुधार भएको भनेर दाबी गरे तर जनताको वास्तविक खुशी नाप्न घरदैलोमा पुग्नै पर्दैन, माइतीघर मण्डलामा खसेका उखु किसानका आँसु सम्झिए पुग्छ । 

करप्सन पर्सेप्सन इन्डेक्समा भएको सुधार भनेको २० को १९ मात्र हो, त्यो पनि प्रतिवेदनमा मात्र । सरकारी कार्यालयमा । शान्ति सुरक्षा सूचकांकमा १२ अंकको सुधार भएको दाबी ठट्टाजस्तो सुनिन्छि । अनियन्त्रित उत्खनन्को विरोध गर्नेहरू टिप्परले किचेर मारिनु, ठाउँ–ठाउँमा अवैध बन्दुक पड्किएर जनता आतंकित भइरहेका घटनालाई नजरअन्दाज गरेर शान्ति सुरक्षामा सुधार भयो भनेर भन्न मिल्छ ?  

प्रधानमन्त्रीको निष्ठामाथि प्रश्न नगरौं, प्रतिकूल स्वास्थ्यका बावजुदपनि काममा खटिएको देखिन्छ । नेपाल सधैंभरि यस्तै गरीबीमा रहन सक्दैन भनिरहेका पनि छन्, तर सरकारको कार्यशैली र मन्त्रीको कार्यशैलीमा तात्विक भिन्नता देखिएको छैन । लोकेन्द्रबहादुरदेखि शेरबहादुरसम्मका मन्त्रीजस्तै अहिलेका मन्त्रीको काम पनि सिंहदरबार–पुल्चोकमा झण्डा हल्लाउँदै सडक जाम गर्नेबाहेक केही भएको छैन । आफ्नालाई पोस्नेबाहेक उनीहरूले जनताको पक्षमा खासै काम गरेका छैनन् । यो शैलीले आगामी तीन वर्षपछि पनि समृद्धि मृगतृष्णा जस्तै हुनेछ ।

प्रधानमन्त्री र विद्वान सल्लाहकारहरूले गैरसरकारी संस्थाका तथ्यांक र रिपोर्टलाई आधार मानेर जनताको खुशी मापन गरेका हुन् भने त्यो अर्को दृष्टिदोष हो । यस्ता इन्डेक्स त डा. रामशरण महत अर्थमन्त्री रहेको समयमा कति आए कति ! के जनताको जीवनस्तरमा परिवर्तन भयो ? यदि ती तथ्यांक (मिथ्यांक) सही भएको भए नेपाल रामराज्य भइसक्थ्यो । बेलायतको फाइनान्सियल टाइम्सले त महतलाई एसिया प्यासिफिक क्षेत्रको अब्बल अर्थमन्त्री घोषणा गरेको थियो । महत अर्थनीतिले नेपालका सीमित व्यापारिक घरनालाई अर्बपति बनाउने शिवाय केही गरेको होइन ।

चुनाव त फेरि पनि जितिन्छ, देश बनाउन गाह्रो रहेछ !

राष्ट्रिय सभागृहको मञ्चमा बसेका नेकपाका ९ मध्ये एक नेताले हालैको दिनमा पंक्तिकारसँग भनेका थिए– ‘चुनाव त अर्कोपटक पनि जितिन्छ, तर देश बनाउन गाह्रो रहेछ । बुधवारको सम्बोधनमा ओलीले भने– अर्कोपटक चुनावमा जाँदा जनतासँग भोट माग्ने विषय पर्याप्त छन् ।

प्रतिपक्षी दल नेपाली कांग्रसभित्रको आन्तरिक कलह र विवादका कारण शायद अर्कोपटक पनि चुनाव जितिन्छ भन्ने आत्मविश्वास नेकपाका नेतामा होला । गत महिना चितवनको इच्छाकामना गाउँपालिकामा पुगेर प्रचण्डले अर्को चुनावमा नेकपाले दुईतिहाइ ल्याउने दाबी गरेका थिए । अहिलेका नेताहरू अर्को पटकको चुनावलाई हेरेर मात्र राजनीतिको गोटी चालिरहेको देखिन्छ । समकालीन नेताहरूले आफूलाई दूरदर्शी नेता बनाउन नचाहेजस्तो देखिन्छ ।

सिंहदरवारका वातानुकूलित कोठामा बसेर म्याकबूक र आइप्याडमा टाइप गरिएका प्रतिवेदनलाई आधार मान्दा त समृद्धि नागढुंगा नजिकै आइसकेको छ, तर जनताको जीवनस्तरलाई हेरेर मूल्यांकन गर्दा समृद्धि अलि टाढा छ ।

जमाना फेरिएर नया–नयाँ बाजागाजा र रेकर्डिङको प्रविधि भित्रिएपनि नेपालीहरू उही नारायण गोपाल, अरुण थापा र अरुणा लामाका गीत नै सुनिरहन्छन् । यति धेरै गायक जन्मेपनि नारायणगोपाललाई माथ गर्ने गायक निस्कन सकेन । नेपालको राजनीतिमा अहिलेपनि किन उनै बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी र मदन भण्डारीको नाम लिइन्छ ? समकालीन नेताहरू बीपीजस्तै ५०औं वर्षपछि पनि स्मरणयोग्य किन बन्न सक्दैनन् ?

नेकपा सरकारको महान उपलब्धिको रूपमा प्रचार भइरहेको र निकट भविष्यमा नारायणी नदीमा चल्ने ‘पानीजहाज’ले चितवन नवलपरासीका केही मानिसलाई मनोरञ्जन देला, केहीले रमिता हेर्लान् । के यो पानीजहाज या विराटनगमा उद्घाटन गरिएको ग्यास पाइपलाइनले नेपाली जनताको जीवनस्तरमा सुधार र तात्विक भिन्नता ल्याउन सक्छ ? यति बलियो र स्थिर सरकारले जनताको जीवनमा सुधार ल्याउनेगरी काम गर्नुपर्ने होइन र ? 

राष्ट्रिय सभा गृहमा ‘बफादार’ केन्द्रीय सदस्यहरूले सरकारले उत्पातै राम्रो गरेको छ भनेर सुनाउलान् तर स्वयं ती केन्द्रीय सदस्यहरू अनौपचारिक कुराकानीमा भने सरकारको कामबाट पटक्कै सन्तुष्ट देखिँदैनन् । प्रधानमन्त्रीले भनेको सही हो, धरहराको छैटौं तल्लाको ढलान भयो । धरहरा नहुनु नै काठमाडौंमा बस्ने सीमान्तकृत र मजदूर समुदायको दुःखको कारण थियो त ? चार धाम गएर पुण्य कमाएजस्तै धरहरा चढेपछि सर्वसाधारणको जीवनमा परिवर्तन आउने हो र ? 

सरकारले उत्पातै काम गरेको दाबी गरेपनि काठमाडौंको धूलो ज्यूँकात्यूँ छ । बालुवाटार–सिंहदरबार रूटमा धूलो र खाल्डाखुल्डी अपवाद होलान्, तर काठमाडौंका अधिकांश स्थानमा स्कूले बालबालिका धूलो खाँदै हिँड्न विवश छन् । भक्तपुरबाट नगरकोट पुग्दा दक्षिण अफ्रिकाका पर्यटकका स्वरूप युरोपियन जस्ता देखिन्छन् । प्राथमिकता पानीजहाज नामको डुंगा चलाउनु हो कि ग्यास च्याम्बर जस्तै उकुसमुकुस भएको धूलो नियन्त्रण गर्नु हो ? चिकित्सकहरूका अनुसार अहिलेको यो धूलो र प्रदूषणको भयाभह केही वर्षमै देखिनेछ । 

बिचौलियाका कारण बजारमूल्य नियन्त्रण बाहिर छ । किसानले मूल्य पाएका छैनन्, उपभोक्ताले महंगो तिरिरहेका छन् । खाद्यान्नमा विषादी र मिसावटले जनताको स्वास्थ्य जोखिममा छ । शिक्षा र स्वास्थ्यको व्यापारीकरणको गति भ्यागुतोजस्तै उफ्रिरहेको छ । सरकारी अस्पताल सांसद प्रेम सुवालको भाषामा भूतघरजस्ता भएका छन्, उपचारका लागि निजीमा जानुपूर्व लालपूर्जा बन्दकी राख्नुपर्छ । न्युन र मध्यम वर्गीय परिवारका लागि शिक्षा पहुँचबाहिरको विषय बनेको छ । 

नेकपानिकट शिक्षा साहुका स्कूलमा नर्सरी र यूकेजीको मासिक शुल्क १० हजारभन्दा माथि छ । उनीहरूले गरिरहेको कालोबजारीबारे राज्यका निकाय मौनप्रायः छन् । यी कुरालाई नजरअन्दाज गरेर देशमा राम्रैराम्रो भइरहेको छ भन्ने कुरा नेकपाका कार्यकर्ताले पत्याउलान्, जनताले त खै !

सिंहदरवारका वातानुकूलित कोठामा बसेर म्याकबूक र आइप्याडमा टाइप गरिएका प्रतिवेदनलाई आधार मान्दा त समृद्धि नागढुंगा नजिकै आइसकेको छ, तर जनताको जीवनस्तरलाई हेरेर मूल्यांकन गर्दा समृद्धि अलि टाढा छ । यो वास्तविकतालाई प्रधानमन्त्रीले आत्मसात गरे समृद्धिको यात्रा वास्तविक धरातलबाट शुरू हुनेछ ।

सुशील पन्त
सुशील पन्त

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्