भलिबल सुन्दरी रेश्मा : सबैले छाडेको 'जर्सी नम्बर ८' नै लक्की !

प्रदिप अधिकारी
प्रदिप अधिकारी

अधिकारी लोकान्तरका लागि मनोरञ्जन र खेलकुदमा कलम चलाउँछन् ।

मिलेको ज्यान, राम्रो उचाई । गोलो तथा गोरो अनुहार । कन्फिडेन्ट, स्पष्ट र भाँती पुर्‍याएर बोल्ने कला । यो व्याख्या राष्ट्रिय महिला भलिबल टीमकी सदस्य रेश्मा भण्डारीको हो ।

उनको पहिलो परिचय भलिबल खेलाडी छ । अनिमात्र 'भलिबल सुन्दरी' । अहिले खेलप्रेमीहरूले उनलाई 'भलिबल सुन्दरी'को समेत उपमा दिएका छन् । त्यो उनले पनि सुनेकी छन् ।


Advertisement

भेटमा लोकान्तरकर्मीले रेश्मालाई सोधेको थियो- तपाईंलाई भलिबल सुन्दरी पनि भन्दा रहेछन् कस्तो लाग्छ ? उनले एकछिन सोचिन् र भनिन्, 'कस्तो लाग्छ भन्नु । त्यो त देख्नेहरूले भन्नुभयो । सुन्दा त खुशी नै लाग्छ । मैले पनि यो कुरा सुनिनै रहेको छु । सबै जनाले आफूलाई जोडेर राम्रो भन्दिदाखेरि खुशी नै लाग्छ ।'

चन्द्रागिरी नगरपालिका, तीनथानाकी रेश्मा सुन्दरी देखिन्छिन् । त्यसैले लोकान्तरकर्मीले अर्को प्रश्न तेर्‍स्यायो- एक्टिङमा रहर छ ? प्रश्न उनीअनुकूल नै थियो । उनलाई अभिनयमा रुची रहेछ । उनलाई समयले साथ दिए म्युजिक भिडियोमा अभिनय गर्ने रहर छ । तर फिल्ममा भने उनको मन गएको छैन ।


Advertisement

उनी आफैं भन्छिन्, 'टिकटकको केही सेकेन्डको अभिनयको भरमा मुभी गर्न सकिन्छ जस्तो लाग्दैन ।'

म्युजिक भिडियो खेल्ने रहर भने आफूमा भएको उनले बताइन् । उनी भन्छिन्, 'राम्रो रहेछ भने म्युजिक भिडियोमा चाहिँ मैले हात हाल्छु ।'

अब भलिबलकै कुरा गरौं ।

रेश्माले ५ कक्षासम्म नैकापको उज्जवल स्कूल पढिन् । उनकै भाषामा भन्ने हो भने त्यसपछि उक्त स्कूल कोल्याप्स भयो । ६ कक्षामा भर्ना हुने बेलामा उनलाई ममीले ब्राइट फ्युचरमा पढाउन खोजेकी रहिछिन् । तर बुवाको साथी कुमार राई न्यु डायमन्डको प्रिन्सिपल भएका कारण रेश्मा त्यही स्कूलमा भर्ना भइन् । न्यू डायमन्ड स्कूलसँगै रेश्माको भलिबल यात्रा पनि शुरू भयो ।

न्यू डायमन्ड स्कूल भलिबल स्तरीय खेलाडी उत्पादन गर्ने स्कूलको रूपमा परिचित छ । महिला तथा पुरुष भलिबलको राष्ट्रिय टीममा न्यु डायमन्डका खेलाडीहरू छन् र तिनले उत्कृष्ट प्रदर्शन पनि गर्दै आएका छन् ।

६ कक्षा पढ्दा नै रेश्माको हाइट राम्रो थियो । राम्रो हाइट भएका कारण पनि 'कुमार सर'ले उनलाई भलिबल सिकाउने गर्थे रे ! तर उनलाई भलिबलबारे केही पनि थाहा थिएन त्यो बेला । कस्तो खेल हो ? कसरी खेल्ने भन्ने सामान्य ज्ञान पनि नहुँदै उनलाई कुमारले भलिबल सिकाए । शुरूआती सिकाइका दिन सम्झिँदै रेश्मा भन्छिन्, 'कुमार सरले ब्रेक टाइममा मलाई भलिबल खेलाउनुहुन्थ्यो । ब्राइट फ्युचरका दिदीहरू हाम्रो स्कूलमा ट्रेनिङ गर्न आउँदा मलाई सरले अलिअलि खेल्न जान्दा पनि टिममा राखेर खेलाउनुहुन्थ्यो ।'

उनले २०६२ बाट भलिबल सिक्न थालेपनि पूरै टीम बनेर खेलेको चाहिँ २०६४ बाट हो ।

'भलिबल सिक्दा हात निलो हुन्थ्यो'

भलिबल सिक्दा बलले लाग्छ । ब्यालेन्स मिल्दैन, लडिन्छ । यो सामान्य कुरा भयो । कहिलेकाहिँ चोटपटक पनि लाग्छ । यो प्रक्रिया रेश्माले पनि पार गरिन् ।

भलिबल खेल्न परिवारको साथ र समर्थन पाए पनि कहिलेकाहिँ ममीले रेश्मालाई 'खेल्नुपर्दैन, जानुपर्दैन' भन्नुहुन्थ्यो रे !

'शुरूमा ट्रेनिङ गर्दा हात त पूरै निलो भएको थियो । त्यो ममीले देख्दा खेरि चाहिँ खेल्नुपर्दैन, जानुपर्दैन भन्नुहुन्थ्यो । तर ड्याडीले त्यस्तो केही पनि भन्नुहुन्नथ्यो,' पुराना दिन सम्झिइन् उनले । तर पनि रेश्माले भलिबल खेल्न छाडिनन् ।

रेश्माको भनाइ मान्ने हो भने अहिले पनि खेलाडीलाई बानी पर्‍यो भनेर हुँदैन । हातखुट्टा दुख्छ । उनी भन्छिन्, 'दुई-तीन दिन खेलेन भने हातहरू दुख्ने, खुट्टा दुख्ने हुन्छ । त्यो चाहिँ खेलाडीले सहनैपर्छ ।'

सशस्त्रमा इन्ट्री,ब्याक अनि रिइन्ट्री

सशस्त्रको भलिबल टीम निकै बलियो छ । नेपालको भलिबल क्लबमा सशस्त्रको नतिजा उत्कृष्ट छ । यसअर्थमा भलिबलमा सशस्त्रको टीम सफल टीम हो ।

रेश्माले स्कूलको गेम खेल्दै गर्दा सशस्त्रका कपिल श्रेष्ठ न्यु डायमन्ड आएका थिए । त्यो बेलामा कपिलले रेश्मालाई सशस्त्रमा पनि भलिबल टीम बन्दै छ भनेका रहेछन् । अनि उनले रेश्मालाई बोलाए पनि ।

२०६६ मा उनले एसएलसी सकेपछि एक दुई महिना सशस्त्रमा भलिबल ट्रेनिङ पनि गरिन् । पछि छोडिन् ।

उनी त्यतिबेला अलि जिद्दी थिइन् । कसैले केही भन्यो भने पचाउन सक्थिनन् । अनि सशस्त्र छोडिन् । उनी भन्छिन्- त्यतिखेर अलि ट्रेनिङ गरौं, खेलौं जस्तो लाग्दैनथ्यो ।

शसस्त्र छोडेपछि रेश्मा पनि भलिबलबाट केही समय ब्याक भइन् ।

मध्यमाञ्चलको गेम हुन लागेको थियो । फेरि कुमार राईले उनलाई बोलाए- सेलेक्सन छ आउ । उनी गइन् । सेलेक्ट पनि भइन् । खेलिन् पनि ।

२०६९ मा उनलाई सशस्त्रले  पुन: बोलायो ।  त्यसदेखि उनी अहिलेसम्म सशस्त्रमै छिन् । पहिला मिडिल ब्लकर पोजिसनमा बसेर खेल्ने उनी अहिले अलराउन्डरको भूमिकामा छिन् । उनी राष्ट्रिय टीममा परेको पछिल्लो पटक सशस्त्रमा गएपछि नै हो ।

*****

१३ औं दक्षिण एसियाली खेलकुदमा महिला भलिबलतर्फ नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्‍यो । सिल्भर मेडलमा चित्त बुझाउनु परेपनि खेलले 'गोल्ड मेडल'को दाबेदारी दिएको थियो । नेपाली टीमले पनि ट्रेनिङ गर्दादेखि नै टार्गेट चाहिँ गोल्ड मेडलकै लिएको थियो । खेलाडीहरूले पनि त्यहीअनुसार मेहनत गरेका थिए । टार्गेट कत्तिको पूरा हुन्छ थाहा थिएन तर सबैको वर्ड चाहिँ गोल्ड मेडल नै थियो ।

रेश्माको भनाइ मान्ने हो भने बोली र पुग्नु पनि उस्तैउस्तै भएको थियो ।

उनले सागमा नेपालको प्रदर्शनबारे भनिन्- हामी गोल्ड मेडलको एकदमै नजिक पुगेका थियौं, जित्दाजित्दै हारेको जस्तो भयो ।

नेपालले भारत जस्तो बलियो टोलीलाई फाइनलमा राम्रो टक्कर दिएको थियो । फाइनल खेल रेश्माले दिमागमा ताजै छ । भन्छिन्, 'झण्डै-झण्डै जित्यौं । अलिकति मिस्टेकले मात्रै हार्‍यौं । यो चाहिँ सधैं याद रहिरहन्छ ।'

जर्सी नम्बर ८!

रेश्माले राष्ट्रिय टीमबाट होस् या सशस्त्रबाट होस्- उनले ८ नम्बर जर्सी लगाएर खेल्छिन् । केही मानिसहरूले ८ र १२ अंकलाई अशुभ मान्छन् । त्यसैकारण उनको टीममा पनि ८ नम्बर जर्सी खाली थियो । तर उनले ८ नम्बरनै रोजिन् । उनी भन्छिन्- अनलक्की हुन्छ भनेर ८ नम्बर जर्सी कसैले नलगाउँदा रहेछन् । सबैले छाडेका थिए । तर मैले त्यही चूज गरेँ । म चाहिँ ८ नम्बरले गर्दा लक्की छु जस्तो लाग्छ ।

उनलाई अहिले ८ नम्बरले गर्दा आफ्नो 'लक' फेरिएको जस्तो लाग्छ । भन्छिन्- मलाई फापेको पनि छ जस्तो लाग्छ ।

'भलिबल सबथोक हो,सबथोक होइन'

भलिबलको बारेमा बारेमा कुनै ज्ञान नहुँदादेखि अहिलेसम्म रेश्माले यसमा १३ वर्ष बिताइन् । सफल पनि भइन् । तर पनि उनी भलिबल नै जिन्दगी हो भन्दिनन् । 'भलिबल नै लाइफ हो पनि भन्न सकिँदैन । कतिले भन्नुहुन्छ तर मेरो लागि चाहिँ हो जस्तो लाग्दैन,' उनी खुलाउँछिन्, 'भलिबल सकिएपछि पनि हाम्रो अरू लाइफ पनि छ । भलिबल सबैथोक पनि हो, सबैथोक होइन पनि । दुईटै हो मेरो लागि ।' उनलाई भलिबलको माया भने लागिरहन्छन् । किनकी उनले सानो बेलामा केही थाहा नहुँदा पनि भलिबल खेलिन् । त्यो लत अहिलेसम्म छ ।

'भलिबल फेयर गेम हो'

भलिबलमा विपक्षी टीमसँग झगडा हुँदैन । कुटपिट गर्नै मिल्दैन । यो रेश्माको भनाइ हो । उनका अनुसार भलिबलमा अपोनेन्टसँग टच हुनै पर्दैन । अर्कोको सेटमा जानै पर्दैन । भन्छिन्- त्यही भएर एकदम सजिलो र फेयर गेम हो भलिबल । आफूले सक्यो जित्यो, सकेन हार्‍यो । एकदमै रमाइलो छ यो गेम ।

*****

नेपाली महिला भलिबल टोली सेन्ट्रल जोनमा फस्ट भएर आएको थियो । बंगलादेशमा भएको यो प्रतियोगिता नेपाली महिला टोलीको यो सफलता पनि थियो । अझ यस प्रतियोगिताले नेपाली टोलीलाई गेम देखाउन सहज भएको रेश्मा बताउँछिन् । 'यसले गर्दा पनि हामीलाई साग गेममा खेल्न एकदमै सजिलो भयो,' उनी भन्छिन्, 'किनकि सागभन्दा ठ्याक्कै एक महिनाअगाडि भएको थियो । प्राक्टिस जस्तो पनि भयो ।'

*****

रेश्माभन्दा पहिला अरुणा स्पाइकर थिइन् । रेश्माको भनाइअनुसार अरुणाको डिफेन्स राम्रो थियो । उनको कमजोर । त्यही कारण १२औं सागमा उनी सेटमा परिरहन सकिनन् । भित्रबाहिर भइरहन्थिन् । यो कुराले रेश्मालाई पोल्थ्यो रे !

उनी भन्छिन्- मलाई मेरो डिफेन्स वीकले गर्दा म सेटमा परिनँ भन्ने लाग्थ्यो । नराम्रो लाग्थ्यो । तर अहिले मैले चान्स पाएको बेलामा पनि सुधारिन भने अर्को पटक भनेको के हो के हो हुन्छ नि त । त्यही भएर मैले यो पाली चाहिँ एकदमै मेहनत गरेकी थिएँ सेटमै खेलिरहनका लागि ।

फलस्वरूप नेपालमा सम्पन्न १३ औं सागमा रेश्माले पूरा म्याच खेलिन् । बाहिर भित्र गर्नु परेन । उनको मेहनत देखियो । त्यसैले त भन्छिन्- बिगार्ने, चेन्ज गर्नुपर्ने सिचुएसन आएको थिएन ।

 

प्रदिप अधिकारी
प्रदिप अधिकारी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्