२५ जेठ २०८३, सोमबार

पूर्वराजदूत कार्कीको विश्लेषण, नेपालमा स्थिर सरकार गठन भए चिनियाँ राष्ट्रपतिको भ्रमण

पूर्वराजदूत कार्कीको विश्लेषण, नेपालमा स्थिर सरकार गठन भए चिनियाँ राष्ट्रपतिको भ्रमण

काठमाडौं ३ पुस– भर्खरै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा वामपन्थी गठबन्धनको पक्षमा बहुमत आएपछि अन्तराष्ट्रिय समुदाय र छिमेकी देशहरुले चनाखोपूर्ण रुपमा नेपालको राजनीतिलाई नियाली रहेका छन् । अमेरिककाको वासिङटन पोष्टले नेपालको चुनावमा भारत र चीनको आखा शीर्षकमा समाचार नै लेखेको थियो । 

नेपालमा बामपन्थी गठबन्धनको बहुमत आएपछि कतिपय भारतीय मिडियाहरुमा नेपाल अब चाइना तर्फ ढल्किन लाग्यो भन्ने खालका विश्लेषण गर्न थालेका छन् । नेपालमा वामपन्थीको सरकार बन्ने र केपी ओली प्रधानमन्त्री बन्ने कुराले भारतीय मिडियाले रोइलो गरेका छन् ।

२६ मंसिरमा हिन्दुस्तान टाइम्सको सम्पादकीयमा लेखिएको छ ‘अहिले वाम गठबन्धनले जीत हासिल गर्दा भारतले संकेतहरू राम्ररी पढ्न नसकेको देखाउँछ । अब भारतले चाहे पनि नचाहे पनि नेपाली राजनीतिमा बेइजिङले ठूलो भूमिका खेल्छ ।’

२७ मंसिरमा चिनिया अखवार ग्लोबल टाइम्सको विश्लेषणमा ‘चीनसमर्थक नेपाली प्रधानमन्त्रीले दुई देशबीच आर्थिक साझेदारी बढाउँछन्’ भनेर लेखिएको छ । सोही विश्लेषणमा ‘ओलीले निर्वाचन अभियानका क्रममा नेपालमा चिनियाँ रेलवे सञ्जालको विस्तार र रोजगारी जन्माउने अन्य विकास निर्माण परियोजनाको कुरा गरेका थिए’ भन्ने लेखिएको छ । 

चीनका लागि पूर्व नेपाली राजदूत टंक कार्की भने अखवारहरुले लेखेजस्तो बन्न लागेको वामपन्थी गठबन्धन ‘प्रो चाइनिज’ या ‘एण्टि इण्डियन’ सेन्टिमेन्ट बोकेको हुँदैन् । तर उनी नेपाल प्रतिको हेपाहा नीतिमा भारतले पुर्नविचार गर्ने सम्भावना बलियो रहेको बताउँछन् ।

‘आफ्नो चासो भन्दा बाहिरको बिषयमा समेत हस्तक्षेप गर्ने भारतीयहरु उपनिवेशीक मानशिकताबाट माथि उठ्नै सकेका छैनन्, तर नेपालको जनमतको कदर गर्न भारत बाध्य हुन्छ’ कार्कीले लोकान्तरसँग भने, ‘नाकाबन्दी लगायत उसले लिएका नीति प्रत्युत्पादक भइसकेको अबस्थामा भविष्यमा यस्तो गल्ती गर्ला जस्तो लाग्दैन । नेपाल नीतिमा केही पुर्नविचार गर्ला जस्तो लाग्छ ।’

नेपालमा वामपन्थी गठबन्धन निर्माण यहाँको आन्तरिक विषय भएकोेले विदेशीले चासो देखाउन नपर्ने कार्कीको टिप्पणी छ । ‘वामपन्थी मिलुन् भन्ने नेपाली जनमत हो, यो कसैका विरुद्ध होइन भन्ने बुझ्न जरुरी छ’ कार्की भन्छन् । 

वामपन्थी गठबन्धनले आइतवार काठमाडौंमा जारी गरेको संयुक्त वक्तव्यमा पनि नेपालको संविधानद्वारा निर्देशित स्वतन्त्र परराष्ट्र नीतिको अनुशरण गर्दै सबै मित्र राष्ट्र, विशेषतः छिमेकी देशहरु तथा अन्तराष्ट्रिय संघ, संस्थाहरुसंग सुमधुर सम्बन्ध कायमगर्न कटिबद्ध रहेको उल्लेख छ । 

चीनका लागि पूर्व नेपाली राजदूत कार्की नेपालमा स्थिर सरकार गठन भयो भने निकट भविश्यमा चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमण हुने सम्भावना देख्छन् ।

यसअघि २०७३ सालको असोजमा हुने भनिएको भ्रमण नेपालको राजनीतिक खिचातानीका कारण स्थगित भएको थियो । 

‘वामपन्थी या गैरवामपन्थी जसको भएपनि स्थिर सरकार गठन भयो भने चिनियाँ राष्ट्रपतिको भ्रमण हुन्छ’ पूर्वराजदूत कार्की भन्छन्, ‘राष्ट्रपतिको भ्रमणका क्रममा हुने सम्झौता कार्यान्वयनका लागि स्थिर सरकार होस भन्ने उनीहरुको चासो हो ।’ 

सन् १९९७ मा तत्कालिन राष्ट्रपति ज्याङ जमिनले नेपालको भ्रमण गरेका थिए । सन् २०१२ मा चिनियाँ प्रधानमन्त्री बेन जिया बाओले नेपालको छोटा भ्रमण गरेपनि सन् १९९७ यता चिनियाँ राष्ट्रपतिले नेपालको भ्रमण गरेका छैनन् ।

‘राष्ट्रपतिको भ्रमण पर्यटकको जस्तो होइन, भ्रमणका क्रममा भएका सहमति कार्यान्वयन हुने आधार नदेखि भ्रमण नै हुँदैन’ कार्की भन्छन् । 

स्थिर सरकार अभावमै यसअघि तत्कालिन प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयन हुन नसकेको कार्कीको विश्लेषण छ । ‘नेपालले चिनियाँ स्वार्थमा दख्खल नपुराए मात्र उनीहरुले नेपाललाई भरपूर सहयोग गर्न तयार छन, सहयोग लिने समय आएको छ’ कार्की थप्छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्