इञ्जिनियरिङको परीक्षामा कडाइ गरेपछि ६५ परीक्षार्थीद्वारा परीक्षा बहिष्कार, २ जना मात्र सहभागी !

जनकपुरधाम, ४ वैशाख- पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत मोडल क्याम्पस जनकपुर परीक्षा केन्द्रमा बीई सिभिल इञ्जिनियरिङ पहिलो सेमेस्टरको परीक्षा दिइरहेका ६५ परीक्षार्थीले परीक्षा बहिष्कार गरेका छन् । कडाइ गरिएको भन्दै ६७ मध्ये ६५ परीक्षार्थीले परीक्षा बहिष्कार गरेपछि २ जना मात्र परीक्षामा सहभागी भएका छन् ।

जनकपुरकै सेन्ट्रल इञ्जिनियरिङ कलेकका विद्यार्थीको परीक्षा केन्द्र मोडेल क्याम्पसमा तोकिएको छ ।

हाल बीई सिभिल इञ्जिनियरिङ पहिलो, तेस्रो, पाँचौं र सातौं सेमेस्टरको परीक्षा चलिरहेको छ । परीक्षा गत चैत २७ गतेबाट शुरु भएको हो ।

पहिलो सेमेस्टरअन्तर्गत सर्भे इञ्जिनियरिङको परीक्षाका लागि केन्द्रमा आएका परीक्षार्थीलाई गेटबाटै चेकजाँच गरेपछि उनीहरू परीक्षामा सहभागी नभएका हुन् । चीट निकाल्ने नाममा जथाभावी ढंगले अमर्यादित व्यवहार गरी आफूहरूको मानवअधिकार हनन गरेको परीक्षार्थीहरूको आरोप छ ।

यता परीक्षा केन्द्रका प्रमुख वीरेन्द्र साहले भने आफूहरूले अमर्यादित व्यवहार नगरेको बताए ।

'हामीले यसअघि पनि परीक्षामा कडाइ गर्नुपर्छ भनेर प्रयास गरेका थियौं, हिजो पनि गर्‍यौं र आज पनि गेटबाटै पुरुष परीक्षार्थीलाई पुरुष र महिला परीक्षार्थीलाई महिला प्रहरीको सहयोगमा चेकजाँच गरी मोबाइल र चिट निकालेका हौं, यसको विरोध गर्दै ६७ मध्ये ६५ परीक्षार्थी परीक्षामा सहभागी भएका छैनन्,' उनले भने ।

परीक्षा बहिष्कार गर्ने परीक्षार्थीहरूद्वारा पूर्वाञ्चल विश्वविद्याललाई लेखेको पत्र:

बैशाख ४, २०७५ मा प्रकाशित

अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि प्रदेश नम्बर दुई प्रतिनिधि हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस