२३ जेठ २०८३, शनिबार
लोकान्तर खोज (फलोअप)

धनुषामा भेटियो प्राचीन सभ्यताको प्रमाण, फेला परेका वस्तु २५ सय वर्ष पुराना !

जेठ १९, २०७५
धनुषामा भेटियो प्राचीन सभ्यताको प्रमाण, फेला परेका वस्तु २५ सय वर्ष पुराना !

जनकपुरधाम, १९ जेठ – धनुषाको मुसहरनिया गाउँपालिकाको मुखियापट्टिमा भेटिएका पुरातात्विक वस्तु २५ सय वर्ष पुराना भएको पुरातत्व विभागले पुष्टि गरेको छ । २ नम्बर प्रदेशकै सबैभन्दा प्राचीन मानव बसोबास तथा संस्कृति रहेको पुष्टि हुने गरी मुखियापट्टिमा ती वस्तु फेला परेका थिए ।

गत वर्ष चैत्रमा जमुनी नदीको तटबन्ध निर्माण गर्ने क्रममा स्थानीय रामप्रगास ठाकुरसहित ३ दाजुभाइको खेतमा डोजरमार्फत् माटो खन्ने क्रममा प्राचीन मूर्ति फेला परेका थिए । लगत्तै पुरातत्व विभागका पुरातत्व अधिकृत सुशीलकुमार गौतमले फेला परेका मूर्ति तथा भाँडाकुँडा संकलन गरेका थिए ।

थप अनुसन्धानका लागि पुरातत्व विभागबाट उपसचिव तथा प्रवक्ता रामबहादुर कुँवरको नेतृत्वमा आएको ६ सदस्यीय टोलीले जेठ १२ गतेदेखि १७ गतेसम्म खानी उत्खनन् गरेको छ । टोलीमा पुरातत्व अधिकृत भाष्कर ज्ञवाली, शुशीलकुमार गौतम, इञ्जिनियर रोशनी महर्जन, फोटोग्राफर रामचन्द्र श्रेष्ठ रहेका थिए । उत्खनन्बाट प्राचीन सभ्यताका वस्तु फेला परेका छन् ।

उत्खनन्बाट कुषाणकालीन र मौर्यकालीन पुरुष तथा नारीका मूर्ति, फलामका औजार बनाउँदा बसेको अवशेष ‘आइरन स्ल्याग’, ‘टीसी बीड’, इँटा, ‘टेराकोटा ब्यान्गेल’, ‘नोर्दर्ण ब्ल्याक पोलिश वेयर (एनबिपी)’, ‘ब्ल्याक स्लीप वेयर’, ‘पोर्टो एनबीपी’, ‘कोर्ड मार्क’, ‘रेड वेयर’ जस्ता महत्वपूर्ण वस्तु फेला परेको पुरातत्व अधिकृत भाष्कर ज्ञवालीले लोकान्तरलाई बताए ।

‘उत्खनन् गर्दा संरचनामा पूजाका लागि बनाइएको मूर्ति सहितको संरचना, विभिन्न समयमा बसोबास गरेका मानिसको संस्कृतिको ‘फ्लोर लेभेल’ समेतका प्रमाण देखिएकाले त्यो ठाउँ २ नम्बर प्रदेशकै सबैभन्दा प्राचीन सभ्यता सहितको बसोबास रहेको पुष्टि भएको छ,’ उत्खनन् स्थलमा पुगेका लोकान्तरकर्मीलाई ज्ञवालीले भने ।

उत्खनन्का क्रममा ४ मिटर लम्बाई, ३ मिटर चौडाई र २.३० सेन्टिमिटर गहिराईको खाल्डोमा विभिन्न तहगत लेयर खनिएको थियो । ती सांस्कृतिक तहको अध्ययन समेत गर्दा कुषाणकाल र मौर्यकालभन्दा अगाडिका सभ्यताको सांस्कृतिक तहहरू फेला परेको पुरातत्व विभागका प्रवक्ता उपसचिव रामबहादुर कुँवरले बताए ।

‘पुरातात्विक क्षेत्र कति क्षेत्रमा फैलिएको हुनसक्छ भन्ने जानकारी प्राप्त भयो । क्षेत्र कति पुरानो हो, यो ठाउँमा कुन–कुन समयमा कुन–कुन सभ्यता र संस्कृतिको विकास भएको छ ? कस्ता–कस्ता मानिसले बसोबास गरेका थिए भन्ने तथ्य खोजी गर्न उत्खनन् गरिएको थियो,’ कुँवरले भने, ‘विगतमा डोजर लगाइएको ठाउँमा सांस्कृतिक सिलसिला पाउन सकिन्छ भन्ने योजनासहित अर्को ठाउँमा ट्रेन्च खन्दा सम्पूर्ण तहहरू देखियो । माथि ३ फिटसम्म कुनै सांस्कृतिक तह फेला नपरेपनि पछि सबै तहहरू फेला पर्न थाले ।’

‘सतहमा देखिएका खपडा संकलन, फोटोग्राफी, रेकर्डिङ, गरिसक्यौं,’ उनले भने, ‘समग्रमा अहिले नै सम्पूर्ण परिणाम आइहाल्यो त भन्न सकिन्न । तर, प्रारम्भिक अनुसन्धानले यो प्राचीनस्थल रहेको प्रमाणित भएको छ । प्राचीन मानवको बसोबास रहेको उच्च स्तरको संस्कृति रहेको पाइन्छ ।’ उत्खनन गरिएका खाल्डोलाई तत्काल प्लाष्टिक राखेर पुरिएको छ ।

टोलीको अध्ययन र अनुसन्धानबाट मुखियापट्टि २ नम्बर प्रदेशकै प्राचीन स्थलको रूपमा पुष्टि भएको छ । करीब ५ वर्षअघि समेत २ नम्बर प्रदेशकै सिरहाको खपटेडाँडामा समकालीन प्रमाण फेला परेका थिए । जनकपुर मिथिला सभ्यताको प्राचीनस्थल रहेको भएपनि यसअघि धनुषाको मणिमण्डप, बाउन्नविघा लगायतका पौराणिक स्थलमा उत्खनन् गर्दा समेत यति प्राचीन प्रमाण फेला परेका थिएनन् । ‘मुखियापट्टिमा फेला परेका प्रमाणको आधारमा २५ सय वर्षभन्दा पनि पुरानो संस्कृति रहेको पुष्टि हुन्छ,’ कुँवरले लोकान्तरसँग भने ।

संरक्षण कसरी गर्ने ?

उत्खनन् गर्दा स्थानीय प्रहरीले सुरक्षा प्रदान गरेपनि जग्गाको नियमित सुरक्षा व्यवस्थापन गरिएको छैन । खानी भेटिएको जग्गा निजी भएकाले जग्गाधनीले खनजोत र खेतीपाती समेत गर्न पाएका छैनन् । स्थानीय वडा अध्यक्ष नरेशप्रसाद यादवले जग्गा चलनचल्तीको दरमा अधिग्रहण गर्नुपर्ने बताए । तर, संघीय सरकार, प्रदेश सरकार वा स्थानीय सरकार कसले अधिग्रहण गर्ने भन्ने एकीन नै गरिएको छैन ।

‘स्थानीय गाउँपालिकाले मात्रै अधिग्रहण गर्न सक्ने अवस्था छैन । प्रदेश वा संघीय सरकारले अधिग्रहण गरेर त्यहाँ संरक्षित क्षेत्र घोषणा गर्नुपर्छ,’ उनले भने । फेला परेका मूर्ति र अन्य वस्तुलाई राखेर संग्रहालय बनाउन सके गाउँलाई पौराणिक पर्यटकीय स्थलको रूपमा विकसित गर्न सकिने उनले बताए । गाउँ भारतीय सीमा नजिक रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्