०५ साउन २०८३, मंगलबार

आगोमा जलेर अस्पतालमा छट्पटाउँदै ८ महिनाकी गर्भवती, छाला खोज्न सकस

माघ ७, २०७५
आगोमा जलेर अस्पतालमा छट्पटाउँदै ८ महिनाकी गर्भवती, छाला खोज्न सकस

काठमाडौं – ‘ऐया ! दुख्यो ..., ऐया ! पोल्यो ...., ममी दुख्यो ...., ऐया !’

कीर्तिपुर अस्पतालको प्लास्टिक सर्जरी वार्डको १२ नम्बर शय्यामा छट्पटाउँदै थिइन्, ८ महिनाको गर्भ बोकेकी कान्ती पासवाङ ।

अस्पतालको शय्यामा प्रसव पीडामा छट्पटाएकी होइनन् उनी । गत पुस २६ गते आगोले पोलेर पासवाङको शरीरको आधा भाग जलेको छ । पेटदेखि खुट्टासम्मको भाग र दुवै हातका नाडीमा आगोले पोलेको घाउ छ ।

आइतवार दिउँसो २ बजे अस्पतालमा दुईजना नर्सले पासवाङको जलेको शरीरमा औषधी लगाउँदै, घाउपट्टि (ड्रेसिङ) लगाइदिँदै थिए ।

अघिल्लो दिन लगाएको पट्टि खोल्दा र औषधि लगाएर ड्रेसिङ गर्दा अत्याधिक दुखाइले सहन नसक्दा पासवाङ दारा किट्दै, शय्याको डण्डीमा दुई हातले समाएर चिच्याउँदै थिइन् ।

उनको चिच्च्याहट प्लास्टिक सर्जरी वार्डभर सुनिन्थ्यो । पासवाङका पति प्रमोद पासवाङ र आमा उनलाई सान्त्वना दिँदै थिए ।

यसरी जलिन् उनी

बाराको कलैया घर भएकी २५ वर्षीया कान्ती पासवाङ बिहान ८ बजे चुलोमा आगो बालेर खाना पकाउँदै थिइन् । खाना बनाउँदै आगो ताप्दै गरेकी पासवाङले लगाएको सारीमा एक्कासी आगो लाग्यो ।

पासवाङले हातले आगो निभाउने प्रयास गरिन् । तर सारीमा लागेको आगोले उनको शरीर एकैछिनमा जलायो । हातले आगो निभाउन खोज्दा दुवै हातको नाडी पनि जल्यो । उनी बेहोस भइन् ।

उनकी आमा र आफन्तले बिहान ११ बजे नारायणी अस्पताल पुर्याए । नारायणी अस्पतालले ललितपुरको कीर्तिपुर अस्पतालमा रिफर गर्यो । पासवाङलाई उनका आफन्तले पुस २७ गते शुक्रवार कीर्तिपुर अस्पतालमा ल्याएका थिए । 
पासवाङको अवस्था जटिल, छाला प्रत्यारोपण गर्नुपर्ने

पासवाङको शरीरको आधाभन्दा बढी भागको छाला आगोले जलेकाले उनको अवस्था जटिल रहेको उपचारमा संलग्न चिकित्सक डा. सुरेन्द्रजंग बस्नेतले बताएका छन् । पासवाङलाई तत्काल छाला प्रत्यारोपण गर्न सकेमा ज्यान बचाउन सक्ने डा. बस्नेतले बताए ।

‘उहाँको ज्यान बचाउन तत्काल सर्जरी गर्नुपर्ने छ । तर छाला प्राप्त भएको छैन,’ डा. बस्नेतले लोकान्तरसँग भने, ‘छाला दान गर्ने व्यक्ति नहुँदा उहाँको छाला प्रत्यारोपण हुन सकेको छैन ।’

छाला प्रत्यारोपणको लागि पासवाङको परिवारले नेपाल स्किन बैंकमा सम्पर्क गरेका थिए । तर पासवाङको लागि तत्काल छाला उपलब्ध नभएको बैंकले जनाएको छ । नेपालमा छाला पाउन मुस्किल भएपछि पासवाङका पति प्रमोद पासवाङलाई भारतबाट छाला किनेर ल्याउन चिकित्सकले नै सल्लाह दिएका थिए । तर आफ्नो आर्थिक अवस्था कमजोर भएकाले भारतबाट छाला किनेर ल्याउन सक्ने अवस्था नभएको प्रमोदले लोकान्तरलाई बताए ।

‘डाक्टरले छाला हाल्नुपर्छ भन्नुभएको छ, यहाँ पाइँदैन रे ! इण्डियाबाट ल्याउनको लागि पहिला ७० हजार पठाउनुपर्छ रे !’ राम्रोसँग नेपाली बोल्न नजान्ने प्रमोदले हिन्दी भाषा मिसाउँदै भने, ‘छाला ल्याउन पैसा छैन ।’

भारतमै मजदूरी गरेर दुईछाक टार्ने प्रमोद पत्नीको लागि छाला किन्न सक्ने अवस्थामा छैनन् । प्रमोद अस्पतालको शय्यामा छट्पटाइरहेकी पत्नीको पीडा टुलुटुल हेरेर बस्न विवश छन् । भारतबाट छाला किन्न नसक्ने भएपछि नेपालमै कसैले छालादान गरिदिए हुन्थ्यो भन्ने आशामा छन् पासवाङ परिवार । 

salt training

कमेन्ट गर्नुहोस्