चैत १, २०८०
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
पुस २५, २०७९
अर्बपति इलोन मस्कले गत अक्टोबर महिनामा सामाजिक सञ्जाल ट्विटर किनेपछि उनीभन्दा अघिको व्यवस्थापनले ट्विटरलाई कसरी अमेरिकी संस्थापन पक्षको हतियार बनाएको थियो भन्ने विषयमा लगातार खुलासा भइरहेका छन् ।
अमेरिकी पत्रकार म्याट तयिब्बीले ट्विटरमै अनेकौं थ्रेड लेख्दै सरकारी निकायहरूको सेवाका खातिर ट्विटरले नियम बंग्याएको विषयलाई उजागर गरिरहेका छन् । ट्विटर फाइल्स अन्तर्गतका थ्रेडमा वामपन्थी र दक्षिणपन्थी झुकाव भएका तैयिब्बी लगायत कैयौं लेखकले अनेकौं खुलासा गरिरहेका छन् ।
उनीहरूलाई ट्विटरका विभिन्न फाइल तथा आन्तरिक संवादका पाठहरू उपलब्ध गराइएपछि धमाधम खुलासा भएका हुन् । कम्पनीका आन्तरिक ईमेल तथा स्ल्याक नामक च्याट यापमा कर्मचारीहरूले कम्पनीको नीति तथा कन्टेन्ट मोडरेसनका विषयमा गरेका कुराकानीका आधारमा खुलासा गरिएका हुन् ।
अहिलेसम्म १२ वटा खुलासा गरिएका छन् । तयिब्बीले आफ्नो सबस्ट्याक पेजमा गत जनवरी ५ मा प्रकाशित गरेको लेखमा ती खुलासाहरूको संक्षेपमा वर्णन गरेका छन् ।
पहिलो खुलासा तैयिब्बीले सन् २०२२ डिसेम्बर ६ मा गरेका थिए । राष्ट्रपति जो बाइडनका छोरा हन्टरको ल्यापटप काण्डसँग यो खुलासा सम्बन्धित छ । सन् २०२० को अक्टोबर महिनामा हन्टरको ल्यापटपमा उनीविरुद्धका विभिन्न फाइलहरू भेटिएको विषयमा द न्युयोर्क पोस्टले खुलासा गरेको थियो ।
तर ट्विटरले पोस्टको त्यो समाचारलाई ‘ह्याक गरिएको सामग्री’ विरुद्धको नीतिलाई आधार बनाएर ब्लक गरिदियो । ट्विटरका कार्यकारी अधिकृतहरूलाई ब्लक गर्ने यो निर्णय समस्याग्रस्त रहेको थाहा थियो । यसरी समाचार ब्लक गर्नु कम्पनी नीतिअन्तर्गतको कदम हो भन्ने विषयमा ट्विटरका सञ्चार अधिकृत ब्रान्डन बोरम्यानले नै शंका प्रकट गरेका थिए ।
ट्विटरका एक ठेकेदारले सांसदहरूलाई यस विषयमा धारणा व्यक्त गर्न लगाउँदा डेमोक्रेटिक पार्टीका सांसदहरूले ट्विटरलाई थप कठोर हुन भनेका थिए । उनीहरूले अमेरिकी संविधानको पहिलो संशोधनमार्फत प्रत्याभूति गरिएको अभिव्यक्ति स्वतन्त्रता समेत निरपेक्ष नरहेको बताएका थिए । अर्थात्, डेमोक्रेटिक पार्टी प्रतिकूल हुने समाचारलाई अभिव्यक्ति स्वतन्त्रताको अधिकारले नसमेट्ने भनी उनीहरूले अलोकतान्त्रिक तथा निरंकुशतावादी कुरा गरेका थिए ।
दोस्रो खुलासा बारी वेसले डिसेम्बर ८ मा गरेका थिए । ट्विटरले केही प्रयोगकर्ताहरूलाई छद्म रूपमा प्रतिबन्ध लगाएको (श्याडो ब्यानिङ) गरेको उदाहरणसहित खुलासा गरिएको थियो । विवादास्पद भनिएका अकाउन्टका विषयमा निर्णय लिनका लागि ट्विटरले बेग्लै एक परिषद् एसआईपी–पीईएस पनि बनाएको थियो ।
संस्थापन पक्षले नरुचाएको कुरा गर्ने व्यक्तिलाई अनेक किसिमका कालोसूचीमा राखेर अधिकतम प्रयोगकर्तामाझ पुग्नबाट रोकिने गरेको खुलासा भएको छ । अमेरिकाका कन्जर्भेटिभ राजनीतिक टिप्पणीकार ड्यान बोनिन्गोलाई सर्च ब्ल्याकलिस्टमा राखिएको थियो भने कोभिडका विषयमा स्थापित भाष्यभन्दा फरक कुरा राख्ने स्ट्यानफोर्ड स्कूल फर मेडिसिनका प्राध्यापक डा. जय भट्टाचार्यलाई ट्रेन्ड्स ब्याकलिस्टमा राखिएको थियो ।
बोनिन्गोको खाता पूरै बन्द नगरेको भए पनि उनलाई ट्विटरमा सर्च गर्दा पनि नभेटिने बनाइएको थियो भने भट्टाचार्यका अभिव्यक्तिलाई ट्विटर ट्रेन्डमा नदेखिने व्यवस्था गरिएको थियो । यसरी संस्थापन पक्ष प्रतिकूलका आवाज बोल्नेहरूलाई विशाल संख्यामा पहुँच बनाउन रोकेर अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पारिएको थियो ।
तेस्रो, चौथो र पाँचौं खुलासामा अमेरिकाका तत्कालीन राष्ट्रपति डोनल्ड ट्रम्पलाई अधिकतम प्रयोगकर्तामाझ पुग्न नदिने तथा अन्ततोगत्वा पूर्ण प्रतिबन्ध नै लगाउने कदम चालिएको उल्लेख छ । ट्रम्पलाई प्रतिबन्ध लगाउनुपर्ने कुनै उचित कारण नरहेको भए पनि नियम परिवर्तन गर्दै हटाइएको खुलासा त्यसमा भएको छ ।
म्याट तैयिब्बीले गरेको छैटौं खुलासा निकै महत्त्वपूर्ण छ । त्यसमा अमेरिकी अनुसन्धान निकाय एफबीआईसँग ट्विटरले घनीभूत सम्बन्ध कायम गरेको उल्लेख छ । एफबीआईका अधिकारीले सान फ्रान्सिस्कोस्थित फील्ड अफिसबाट ट्विटरलाई नियमित रूपमा सूची पठाएर खाता बन्द गर्न लगाउने वा अधिकतम प्रयोगकर्तामाझ पुग्न नदिने गरेको खुलासा छ ।
सातौं खुलासा माइकल शेलनबर्गर नामक लेखकले गरेका छन् र त्यसमा पनि हन्टर बाइडनको ल्यापटपको कथा समावेश छ । त्यो समाचार दबाउनका लागि ट्विटरले एफबीआईसँग ३४ लाख डलरभन्दा बढी रकम लिएको उल्लेख छ ।
आठौं खुलासा पनि निकै महत्त्वपूर्ण छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले गर्ने मनोवैज्ञानिक युद्धलाई कसरी ट्विटरले गुपचुप सहयोग गर्छ भन्ने विषयमा ली फाङ नामक खोज पत्रकारले खुलासा गरेका छन् । ट्विटरले अमेरिकी संसदमा स्पष्ट रूपमा यस्तो किसिमको व्यवहार आफूहरूले नगर्ने गरेको भने पनि फेक अकाउन्ट खोलेर अमेरिकाका शत्रुहरूका विरुद्ध मनोवैज्ञानिक युद्ध गर्ने पेन्टागनको प्रयासलाई ट्विटरले सघाएको यसमा उल्लेख छ ।
विशेषगरी अमेरिकी सेनाको सेन्ट्रल कमान्डले अरबी भाषाका ५२ वटा अकाउन्टको सूची ट्विटरलाई पठाएको थियो । उक्त अकाउन्टमार्फत आफूहरूले निश्चित सन्देशलाई बढी महत्त्व दिएर प्रवाह गरिरहेको पेन्टागनको भनाइ थियो र ट्विटरले ती अकाउन्टलाई सेतोसूचीमा राखेको थियो । सन् २०१७ देखि २०२० सम्म ट्विटरले रक्षा मन्त्रालयको यस कारवाहीलाई सहायता दिएको थियो ।
नवौं खुलासामा ट्विटरले सीआईए, एफबीआई र डिपार्टमेन्ट अफ होम सिक्योरिटीसँग बैठक गरेको उल्लेख छ । ती सरकारी निकायले ट्विटरलाई विभिन्न अकाउन्टलाई प्रतिबन्ध लगाउन वा निगरानी गर्न लगाएका थिए ।
दशौं खुलासामा लेखक डेभिड ज्विगले कोभिडका विषयमा भएका बहसलाई ट्विटरले कसरी मोडिदियो भन्ने कुरा उल्लेख छ । अमेरिकी अधिकारीहरूले कोभिडका विषयमा बनाएको भाष्यप्रति असहमति राख्ने चिकित्सक तथा अन्य स्वास्थ्यविज्ञलाई अविश्वसनीय बनाउनका लागि ट्विटरले योगदान गरेको अनि उनीहरूले दिएको जानकारीलाई रोकेको खुलासामा उल्लेख छ ।
कोभिडका विषयमा संस्थापनको भाष्यभन्दा विपरीत तर सत्य कुरा राख्ने धेरै प्रयोगकर्ताहरूको खाता बन्द नगरिदिएकोमा बाइडन प्रशासनका अधिकारीहरू बेस्सरी रिसाएको कुरा पनि खुलासा भएको छ ।
एघारौं र १२औं खुलासामा पनि ट्विटर र अमेरिकी सरकारी निकायबीचको अपवित्र सम्बन्धको बारेमा उल्लेख गरिएको छ । सन् २०१७ को अन्त्यतिर ट्विटरले बाहिरबाहिर चाहिँ आफू स्वतन्त्र रहेको भन्ने अनि आफूहरूको विवेकमा मात्र कुनै सामग्री हटाउने प्रतिज्ञा गर्ने निर्णय गरेका थिए । तर ट्विटरको भित्री निर्देशिकामा चाहिँ अमेरिकी गुप्तचर निकायले भनेबमोजिम अकाउन्ट हटाउने कुरा लिखित रूपमै राखिएको पाइएको छ ।
यसरी ट्विटरले अमेरिकी संविधानद्वारा प्रत्याभूत गरिएको निरपेक्ष अभिव्यक्ति स्वतन्त्रतालाई हानि गर्ने अनेकौं कदम चालेको खुलासा भएको छ । निजी कम्पनी भइकन पनि सरकारी प्रचारबाजीको माध्यम बन्ने अनि सरकारलाई मन नपरेका कुरामाथि प्रतिबन्ध लगाउने काम ट्विटरले गरेको भेटिएको छ ।
अमेरिकी गुप्तचर निकायहरूले आफ्नो भाष्यप्रतिकूल अभिव्यक्ति दिने प्रयोगकर्ताका बारेमा ट्विटरलाई बताएपछि ट्विटरले त्यस्ता प्रयोगकर्ताको फलोअर संख्या घटाइदिने अनि फलोअरहरूले नै ट्वीट देख्न नसक्ने बनाइदिने काम गरेको पाइएको छ । अमेरिकाको युद्धपरस्त परराष्ट्रनीतिको विरोध गर्ने अमेरिकी तथा अन्य मुलुकका प्रभावशाली प्रयोगकर्ताको खातामा छेडछाड गर्ने गरिएको गुनासो पहिले पनि सुनिएको हो भने खुलासाले त्यसलाई पुष्टि गरेको छ ।
अभिव्यक्ति स्वतन्त्रताका कट्टर पक्षधर भएकाले इलोन मस्कले ट्विटर किनेपछि त्यहाँ विगतमा भएका गलत अभ्यासको खुलासा गर्न लगाएका हुन् । अनि उनले विगतमा प्रतिबन्धित गरिएका कतिपय खाताहरू पनि खोल्न लगाएर अर्को पक्षको आवाज पनि सुन्न मिल्ने बनाएका छन् । त्यसो त एलेक्स जोन्स र कान्ये वेस्ट जस्ता विवादास्पद प्रयोगकर्ताहरूको ट्विटर खातामाथिको प्रतिबन्ध फिर्ता लिन नमानेर मस्कले पनि अभिव्यक्ति स्वतन्त्रता पूर्णतया निरपेक्ष नहुने स्पष्ट पारेका छन् ।
अनि ट्विटरलाई गलत अभ्यासबाट मुक्त तथा पवित्र पार्ने उद्देश्यका साथ मात्र मस्कले यो कदम नचालेका हुन सक्छन् । मस्कलाई दक्षिणपन्थी विचारधाराप्रति लगाव छ र उनी विगतमा ट्विटरले दक्षिणपन्थी कन्जर्भेटिभहरूलाई गरेको भेदभावप्रति रुष्ट थिए ।
अहिले ट्विटर किनेर उनी दक्षिणपन्थीहरूलाई निस्संकोच अभिव्यक्तिको अवसर दिलाउन चाहन्छन् । भविष्यमा उनले अमेरिकी निकायसँग मिलेर वामपन्थीहरूलाई प्रतिबन्ध लगाउने काम नगर्लान् वा उनी एफबीआई जस्ता निकायको दबाबमा नझुक्लान् भन्न सकिन्न ।
उता पश्चिमका मूलधारे सञ्चारमाध्यमहरूले ट्विटर फाइल्सलाई खासै स्पेस दिएका छैनन् र दिएको भए पनि त्यसलाई नकारात्मक रूपमा प्रस्तुत गरिरहेका छन् ।
उनीहरू अमेरिकी गुप्तचर निकायले दिएको सूचनालाई कुनै विवेक प्रयोग नगरी जस्ताको त्यस्तै दोहोर्याउने अनि मनोवैज्ञानिक युद्धमा सहयोग गर्ने कठपुतली हुन् । त्यसैले अमेरिकी डीप स्टेटलाई लज्जाबोध हुने खुलासालाई उनीहरूले स्थान नदिएका हुन् । अझ, सीएनएनले त म्याट तैयिब्बी अविश्वसनीय पात्र हुन् भनेको छ । उनको भनाइलाई गम्भीरतापूर्वक लिन नहुने भन्दै सीएनएनले महत्त्वहीन बनाउन खोजेको छ ।
तर लोकतन्त्रको चम्किलो उदाहरणका रूपमा आफूलाई संसारसामु पेश गर्ने अमेरिकाले प्रविधि कम्पनीको उपयोग गरी कसरी राजनीतिक दमन गरिरहेको छ भन्ने कुरालाई ट्विटर फाइल्सले छ्यांगै बनाइदिएको छ । ट्विटर लगायतका ठूला प्राविधिक तथा सामाजिक सञ्जाल कम्पनीहरूलाई थप पारदर्शी बनाउनका लागि पनि यसले पाठ सिकाएको छ ।
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
नेकपा एमालेसँग मिलेर नयाँ समीकरण बनाउने प्रयास भइरहेका बेला भित्रभित्रै वैकल्पिक गठबन्धनका लागि पनि प्रयास गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि एकपटक चिप्लिएका छन् । देउवाले एमालेसँ...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...