बैशाख ३, २०८१
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
काठमाडाैं | फागुन १६, २०८०
सोमवार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एनआईसी एसिया बैंकबारे एउटा गम्भीर खुलासा गरे ।
अरू वाणिज्य बैंकमा निक्षेप उल्लेख्य बढ्दा एनआईसी एसियाबाट भने पछिल्लो केही सातामै २७ अर्ब निक्षेप झिकिएको गभर्नर अधिकारीले बताएका थिए ।
डुब्ने हल्ला फैलिएपछि बैंकको २७ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको हो । सोमबार बैंकर्स संघको पत्रकार सम्मेलनमा सम्बोधन गरेका गभर्नर अधिकारीले एनआईसी एसियाबाट ठूलो रकम बाहिरिएको भए पनि राष्ट्र बैंकको सीडी रेसियोसम्बन्धी व्यवस्थाले बैंक जोगाएको टिप्पणी गरेका थिए ।
गभर्नर अधिकारीले भने, ‘राष्ट्र बैंकले कुनै संस्थालाई ढल्न दिँदैन । बैंक/वित्तीय संस्था फेल हुने अवस्थामा छैनन् । सर्वसाधारणको बचत रकम कुनै हालतमा डुब्दैन ।'
उनले बैंकहरूको खराब कर्जा केही प्रतिशत बढ्यो भन्दैमा समस्या नहुने र कर्जाको प्रोभिजनिङ निकै राम्रो भएको दाबी गरे । गभर्नरले बैंक डुब्न नदिने भरोसा देखाए पनि राष्ट्र बैंकले एनआईसी एसियामा गरेको सुपरिवेक्षणमा पुँजीकोष कायम गराउन वासेल मापदण्डको रिपोर्टिङमा छेडखानी गरेको तथ्य फेला परेको छ ।
बैंकका एक निर्देशकले भने, 'एनआईसीमा समस्याहरू त देखिन्छन्, एउटा बैंक डुब्दा समग्र बैंकिङ प्रणालीमा नकारात्मक असर पर्छ । हामी कारबाही गरेर अघि बढ्ने कि प्रणाली बचाउने गरी अघि बढ्ने भन्ने दोधारमा छौं ।'
उनले धेरै जोखिमभार रहेको शीर्षकको कर्जा कम जोखिमभार रहेको क्षेत्रमा प्रवाह भएको देखाएर एनआईसी एसियाले पुँजीकोषको अवस्था मजबुत रहेको भन्ने गलत तथ्य देखाएको बताए ।
बैंक डुब्ने हल्लापछि अहिले एनआईसी एसिया बैंकबाट निक्षेप फिर्ताको क्रम तीव्र रूपमा बढिरहेको छ । गत साता राष्ट्र बैंकले विज्ञप्ति जारी गर्दै बैंकहरूको पुँजीकोषको अवस्था र कर्जा निक्षेप अनुपातको अवस्था राष्ट्र बैंकको निर्देशनबमोजिम नै रहेकाले ढुक्कसँग बैंकिङ कारोबार गर्न गरेको आह्वानविपरीत एनआईसी एसियाले निक्षेपकर्ताको विश्वास जित्न सकेको छैन ।
माघ महिनामा एनआईसी एसियाबाट बचतकर्ताले १३ अर्ब निक्षेप झिकेका थिए भने फागुनको मध्यसम्म थप १४ अर्बको हाराहारीमा रकम झिकिएको छ । राष्ट्र बैंकले तत्काल हस्तक्षेप नगरे फागुनको अन्त्यसम्म यो आंकडा ५० अर्बसम्म पुग्ने अनुमान गरिएको छ ।
के हो बैंकको समस्या ?
एनआईसी एसियाको विगतदेखिको गतिविधिका कारण डुब्ने अवस्थामा पुगेको नेपाल राष्ट्र बैंकका कर्मचारीहरू बताउँछन् । राष्ट्र बैंकका एक उच्च अधिकारीले लोकान्तरसँग भने, 'आक्रामक विस्तारका नाममा एनआईसीले पहिल्यैदेखि अस्वाभाविक गतिविधि गरेको थियो र राष्ट्र बैंकले कतिपय सन्दर्भमा त्यसलाई लगाम पनि लगाउनुपरेको थियो ।'
उनका अनुसार अल्पकालीन फाइदाका लागि बैंकले 'जे पनि गर्ने' नीति लिएको थियो । विशाल ग्रुपको मुख्य लगानी रहेको उक्त बैंकले बैंकिङभन्दा बढी व्यापार र फाइदालाई केन्द्रमा राखेको थियो ।
एनआईसीले कुनै बेला बचत निक्षेपको ब्याजदर एकैपटक ५ प्रतिशतसम्म घटबढ गरेको थियो । ब्याजदरमा आफूखुसी गर्न थालेपछि राष्ट्र बैंकले अघिल्लो महिनाको एक दशांशभन्दा बढी घटबढ गर्न नपाउने नियम बनायो ।
एनआईसीले ब्याजदरमा छेडखानी गरेर अन्य बैंकहरूसँग अस्वस्थ प्रतिस्पर्धा गर्दै निक्षेप खोसाखोस गर्ने प्रवृत्ति देखाएको चर्चा अहिले पनि बैंकिङ क्षेत्रमा चल्ने गर्छ ।
एक वाणिज्य बैंकका सीईओले लोकान्तरसँग भने, 'बजारमा एकपटक रातो आतंक फैलिएको थियो, त्यो आतंकको नतिजा अहिले देखिएको छ ।'
उनले भनेको 'रातो आतंक' एनआईसी एसियाको नाम र लोगोमा भएको रातो रंगप्रति लक्षित छ ।
एनआईसीमाथि रेमिट्यान्स बचतमा बचतकर्ताहरूमाथि ब्ल्याकमेलिङ गर्ने गरेको आरोप पनि लाग्ने गर्छ ।
ती सीईओले भने, 'बढी ब्याज दिनेभन्दै जस्तोसुकै प्रकृतिको पैसालाई पनि रेमिट्यान्स भएको स्वघोषणा गर्न लगाएर एनआईसीले निक्षेप बढाउने रणनीति लियो । अनि पछि वास्तविक स्रोत नदेखाए राष्ट्र बैंकले जफत गर्छ भन्दै डराइदिन काम भयो ।'
बढी ब्याजको लोभमा बैंकमा राखिएको पैसै जफत हुने भएपछि धेरै निक्षेपकर्ता अत्तालिएका थिए । अहिले एनआईसीले आफैंले त्यतिबेला गरेको गल्तीको परिणाम भोगिरहेको ती सीईओको विश्लेषण छ ।
एनआईसीले यति मात्र गरेन, त्यस्तै ऋणको किस्ता भुक्तानी नियमित नहुनेबित्तिकै ऋण कायम गरेर प्रिमियम बढाइदिने अनि तिर्न नसक्दा राम्रो धितो लिलामी गर्ने धन्दा चलाएको भन्दै यसअघि ऋणीहरू बैंक घेर्नसमेत पुगेका थिए ।
के छ अहिलेको बैंकको अवस्था ?
पुस मसान्तको विवरणअनुसार बैंकसँग ३ खर्ब ६० अर्ब रुपैयाँ निक्षेप रहेकोमा २ खर्ब ३३ अर्ब रुपैयाँ मुद्दती खातामा छ । सामान्य निक्षेपमध्ये २७ अर्ब निकालिसकिएको छ । फागुन महिनाभरि ५० अर्ब भन्दा बढी निक्षेप झिकिन सक्ने बैंककै अनुमान छ ।
बैंकका एक कर्मचारीले राष्ट्र बैंकबाट दरिलो आश्वासन पाएकाले बैंकको आत्मविश्वास बढेको बताएका छन् । उनले भने, 'केही सूचक खराब हुँदैमा बैंक डुब्ने होइन र हामीमाथि राष्ट्र बैंकको ठूलो आडभरोसा छ ।'
बैंकसँग तत्काल निकाल्न मिल्ने १ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप रहेको उनको भनाइ छ । बैंकहरूले सामान्यतया कुल निक्षेपको कम्तीमा १२ प्रतिशतसम्म रकम स्थायी तरलता अनुपात (एसएलआर) बापत तरल अवस्थामा राख्नुपर्छ ।
एनआईसी एसियाको हकमा यो भनेको करिब ४२ अर्ब रुपैयाँ हाराहारीमा हो । ५० अर्ब निक्षेप खिचिने अवस्थामा बैंक कसरी सर्भाइभ गर्छ त भन्ने प्रश्नको उत्तर ती कर्मचारीसँग छैन ।
डुब्ने अवस्थाको संकेत एनआईसी एसियाबाटै
गत जेठ महिनायता बैंकले ३० वटा शाखारहित बैंकिङ काउन्टरहरू बन्द गरिसकेको छ । त्यस्तै पछिल्लो समय देशभरिका ५० भन्दा बढी अन्य बैंकिङ काउन्टर बन्द गर्न राष्ट्र बैंकमा निवेदन दिएको छ ।
बैंक डुब्ने पछिल्लो हल्ला चलेपछि काउन्टर बन्द गर्ने बैंकको निवेदनउपर कुनै निर्णय नभएको राष्ट्र बैंकका कर्मचारी बताउँछन् । एनआईसीको सिराहा जिल्लाको मिर्चैया र लहान, धनुषा जिल्लाको बुद्धशान्ति, इटहरी नगरपालिकास्थित एक्सटेन्सन काउन्टरलगायत धेरै शाखाहरू बन्द भइसकेका छन् ।
आर्थिक गतिविधि बढी हुने काठमाडौं उपत्यकाभित्रका शाखाहरू तत्कालै बन्द नगरे पनि मर्ज गर्ने वा अन्यत्र सार्ने वा घरबहाल घटाउन लगाउने, कर्मचारी निष्कासन गर्ने रणनीति बैंकले अपनाएको छ ।
बैंकको विश्वसनीयतामा प्रश्न आउनुमा अर्को कारण बैंकका उच्च तहका कर्मचारीले धमाधम जागिर छाड्नु पनि हो । बैंकका डेपुटी सीईओ सुधीर पाण्डेले दिएको राजीनामा सञ्चालक समितिले अस्वीकृत गर्यो । उनी राजीनामा दिएपछि एक दिन बैंक पुगेर काम पनि गरे, तर अहिले बैंक जान छाडेका छन् । उनी २०७५ देखि बैंकको डेपुटी सीईओका रूपमा कार्यरत थिए ।
स्रोतका अनुसार एक दर्जनभन्दा बढी उच्च तहका कर्मचारीहरू बैंकबाट राजीनामा दिएर बाहिरिन खोजेका छन् । राजीनामाको विषय बाहिर आए बैंक थप अप्ठ्यारोमा पर्ने भन्दै बैंकले राजीनामाको विषयबारे केही बोलेको छैन ।
पूर्व गभर्नर तिलक रावल राष्ट्र बैंकको नीतिका कारण बैंक तत्काल नडुबे पनि केही सातामै २७ खर्ब निक्षेप बाहिरिनु खतराको संकेत भएको टिप्पणी गर्छन् । 'मलाई लाग्छ कसैले नियोजित रूपमा निक्षेप बाहिर लगेको होइन,' उनले भने, 'यदि हो भने त्यो एकदमै विडम्बना हो ।'
यसले बैंकिङ क्षेत्रको अवस्था गम्भीर रहेको देखाउने रावलको भनाइ छ ।
'यस्तो भयो भने बैंक 'रन अन टाइम' हुन बेर लाग्दैन,' उनले भने, 'तर बैंकका अन्य सूचकहरू राम्रो रहेकाले तत्काल निक्षेपकर्ताको रकम जोखिममा पर्दैन ।'
त्यस्तै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष रहिसकेका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले अहिलेको अवस्था 'बाघ कराउने र बाख्रो हराउने' जस्तै बनेको बताए ।
उनले लोकान्तरसँग भने, 'यतिबेलै धितो लिलामीको सूचनाले पत्रिकाका पाना भरिएका छन् र यतिबेलै बैंक समस्यामा परेका समाचारहरू पनि आइरहेका छन् । यसले वित्तीय क्षेत्र संकटमा रहेको देखाएको छ ।'
उनले अझै समस्या देखिए राष्ट्र बैंकले टेकओभर गर्ने र 'ड्यु डीलिजेन्स रिपोर्ट' अनुसार थप कारवाही गर्ने अन्तर्राष्ट्रिय मान्यता रहेको बताए ।
जेठ १८ मा १६ वटा, साउन ४ मा ४ वटा कात्तिक २४ मा ६ वटा र पछिल्लो समयमा माघ २९ गते थप ४ वटा काउन्टर एनआईसी एसियाले बन्द गरिसकेको छ । फागुन दोस्रो साता आइपुग्दा यो बैंकसँग जम्मा ४७ वटा शाखारहित बैंकिङ सेवा काउन्टर बाँकी छन् । बैंकले माघ २९ गते प्रकाशन गरेको प्रेस विज्ञप्तिमा ३६० शाखा र ११५ वटा विस्तारित काउन्टर सञ्चालनमा रहेको उल्लेख थियो ।
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...
बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...
आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...