माघ १८, २०८०
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
काठमाडाैं | चैत २६, २०८०
२१ फागुनमा कांग्रेस र माओवादी केन्द्रको समीकरण टुट्नुको मुख्य कारण कम्युनिस्ट पार्टीमा देखिएको सकस हो । माओवादीका प्रायः नेता कम्युनिस्ट एकीकरणको पक्षमा हुनुहुन्थ्यो । ४/५ वर्ष सत्तामा बसे पनि निर्वाचनमा जानुपर्ने भएकाले पार्टीको भविष्य सुरक्षित नभएको महसुस उहाँरूलाई भयो । त्यसैले कुनै तरिकाले पार्टी एक बनाउन सक्यौं भने हाम्रो पनि भविष्य छ भन्नेमा पुग्नुभयो ।
माओवादीका केही नेता दुईचार वर्षपछाडि एक नम्बरको नेतृत्वमा पुग्न सक्ने सम्भावना भएका हुनुहुन्छ । त्यसैले २/४ वर्षपछि पार्टीको एक नम्बर नेता बन्ने आकांक्षा उहाँहरूमा देखिन्छ । एक नम्बर नेता हुन उहाँहरूलाई पार्टी पनि ठूलै चाहिएको छ । ठूलो पार्टीमा गएर नेता हुन सक्छु भन्ने आत्मविश्वास भएका नेता माओवादीमा हुनुहुन्छ । त्यसैले निरन्तररूपमा पार्टीलाई एमालेसँग मिलाउन लाग्नुभएको थियो ।
एमालेका आधिजस्तो नेताहरू पनि सकसमा हुनुहुन्छ । मेरै उमेर समूहका नेताहरू पनि चार वर्ष सत्ताबाहिर बस्यो भने पार्टी कसरी थेग्न सकिएला भन्नेमा थिए । दुई नेताको ‘पर्सनालिटी क्ल्यास’मा पार्टी अप्ठ्यारोमा पर्ने हो कि भन्ने चिन्तामा हुनुहुन्थ्यो । यसैले सत्तामा पुग्ने अभिलाषा र राजनीतिक जीवनमा ४/५ वर्ष ‘साइडलाइन’मा बस्दा पार नलाग्ला भन्नेमा देखिनुभयो । यसैले एमालेका नेताहरू पनि निरन्तर पार्टी मिलाउन लाग्नुभएको थियो । यो कुराको सूचना मैले त हाम्रो पार्टी सभापतिलाई दिएको पनि हो । तर सभापति प्रचण्डजीमाथि भर परिरहनुभयो । पछिल्लो चरणमा पनि प्रचण्डप्रति हाम्रो सभापतिको विश्वास थियो ।
मन्त्री फेर्न, राष्ट्रिय सभाको अध्यक्ष माओवादीलाई दिन कांग्रेस तयार भएकै हो । प्रचण्डको कार्यकाललाई लम्ब्याउन पनि तयार भएकै हो । यो सबै कुरा गर्छु भन्नुका बावजुद पनि प्रचण्डले गठबन्धन तोड्नुभयो । सचेत मनबाट ‘एलायन्स ब्रेक’ गर्ने कुराका लागि प्रचण्ड अगाडिदेखि नै तयारीमा हुनुहुन्थ्यो । त्यो तयारीलाई मूर्तरूप दिने बहाना खोज्दै हुनुहुन्थ्यो । त्यसैका लागि मन्त्री फेर्ने, राष्ट्रिय सभाको अध्यक्ष लिने, कोशीमा आफ्ना मान्छे हारेको भन्ने बहाना देखाउनुभयो ।
सभापति र सरकारमा रहनुभएको हाम्रो उपप्रधानमन्त्रीको प्रचण्डप्रति असाध्यै ठूलो विश्वास र भरोसा थियो । विशेषतः सिटौलाजी राष्ट्रिय सभामा आइसकेपछि दुई पार्टीको गठबन्धन तोड्न कसैले पनि सक्दैन भन्ने सोच्नुहुन्थ्यो । जुन अकारणको भरोसा थियो । हामीतिर अकारणको भरोसा, अर्कातिर पार्टी निर्माण गर्ने सचेत मन भएपछि समीकरण टुट्यो ।
सभापति धेरै विषयमा संलग्न हुनुहुन्न । पहिले पनि सबै चिजमा संलग्न हुने उहाँको शैली होइन । सीमित कुरामा मात्रै ध्यान दिनुहुन्छ । अहिले त महत्त्वपूर्ण विषय बाहेकमा सभापतिजीको ध्यान छैन । पार्टीभित्र विभिन्न ठाउँका छलफलपछि एक ठाउँमा बसौं, कुराकानी गरौं, तपाईंसँग के सूचना छ, मसँग यी सूचना छन्, मलाई फलानाले यसो भन्दै थियो भनेर खोजीनीति गर्ने अभ्यास र वातावरण छैन ।
पार्टीमा सक्रिय र निर्णायक भूमिकामा रहनुहुने साथीलाई सोध्दा पनि कुरा भएको थिएन भन्नुहुन्छ । सभापतिले तत्काल गर्नुपर्ने निर्णय र सीमित विषय जसले उहाँलाई प्रभावित गर्दछ, तीबाहेक अरूमा पार्टीभित्र निरन्तर छलफल गर्ने पद्धति कांग्रेसमा नभएको जस्तो लाग्छ । सीमित नेताबीच प्रगाढरूपमा सरसल्लाह हुने, आवश्यकता पर्दा मात्रै छलफल र परामर्शमा संलग्न हुने परिस्थिति छ । यस्तो परिस्थिति धेरै पार्टीका लागि फलदायी हुँदैन ।
नयाँ समीकरणको जग
एमालेले ठूला मन्त्रालय नलिँदैमा सरकारको जग कमजोर भयो भन्ने म मान्दिनँ । महत्त्वपूर्ण के हो भने एउटा गठबन्धन भत्केर समीकरण र सहकार्य बनेको छ । प्रचण्डले गठबन्धन शब्द मन परेन, सहकार्य भनौं भन्नुभएछ । तर, सत्तामा ओली किङमेकर हुनुहुन्छ । किङमेकर ओलीजीले चाहँदासम्म सरकार रहने, नचाहँदा नरहने आजको अवस्था छ । प्रचण्डजीले हामीतिरको पुलमा आगो लगाएर हिँड्नुभएको छ । प्रचण्डजी यता आगो लगाएर हिँडेकाले ओलीजी जतासुकै हिँडे पनि हुने स्थिति छ । यो गठबन्धन कायम राख्ने, भत्काउने कि अर्को बाटोमा जाने भनेर अग्रसरता लिने ठाउँमा ओलीजी पुग्नुभयो, यसैले प्रचण्डजीले पनि ओलीसँग भरोसा गर्नेगरी सधैँ न्यान्यो सम्बन्ध भइरहने देखिँदैन ।
सरकारको मनोदशा पनि बेग्लै छ । ओलीजीले संसद्मा कांग्रेसको निकै आलोचना गर्नुभयो, तर कांग्रेसलाई प्रस्टैरूपमा ‘बोली पनि नचल्ने भयो ?’ भन्नु एकपल्ट आँखा झिम्क्याएबराबर हो । यसमा प्रचण्डले अस्वाभाविक ‘रियाक्ट’ गर्नुभयो । तपाईं ठूला पार्टीहरू मिल्ने भए मिल्नुस्, देखाउनुस्, भनेर जवाफ दिनुभयो । प्रचण्डले हामीलाई होइन, ओलीलाई जवाफ दिनुभएको हो । प्रचण्डजीलाई ओलीजीप्रति अविश्वास छ भन्ने कुरा मज्जाले छचल्कियो, त्यसैले उहाँहरूको आपसी सम्बन्धको रसायन जहिले पनि भत्किन सक्ने खालको छ । उहाँहरूको ‘प्रेम सद्भाव’बारे कसलाई थाहा छैन र ? विगतका अभिलेखलाई हेरे पुग्छ । यसरकारण आजको दिनमा ‘इनिसिएटिभ’ हामी वा प्रचण्डजीको हातमा होइन, ओलीजीको हातमा छ ।
ओलीजी अग्रसरता लिने ठाउँमा पुग्नुभयो भनेर प्रचण्डजीले अघिल्लोपटक गठबन्धन तोड्नुभएको हो । ओलीजीको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएपछि हाम्रो मायाले वा हामीले फकाएर कांग्रेससँग आउनुभएको होइन । उहाँले एक्लै ‘इनिसियटिभ’ लिने ओलीसँग गाह्रो पर्न सक्छ भनेर अनि भरोसा नभएर कांग्रेससहितको गठबन्धन बनेको हो । आज फेरि त्यहीँ पुग्नुभएको छ । त्यसले गर्दा पनि गठबन्धनको आयु कति लामो हुन्छ भन्ने एउटा प्रश्न हो ।
अर्को आमरूपमै चर्चा भएको विषय भूराजनीति । नेपालको भूराजनीतिमा हिजोको गठबन्धनमा एउटा पक्ष र आज अर्को पक्ष हावी भयो भन्ने आमरूपमा चर्चा भएको छ । नेपालको शीर्ष तहको राजनीतिक नेतृत्वले सिधासिधा यो गठबन्धन यताका लागि कम्फर्टेबल, यो गठबन्धन उताका लागि कम्फर्टेबल भन्ने खालको भाष्य निर्माण गरेका छन् । यसले व्यक्तिका लागि फाइदा होला, तर नेपाल देशका लागि फाइदा हुँदैन । हामी भारत र चीन दुवैसँग राम्रो सम्बन्ध राख्न चाहन्छौं । भारतसँग अझ प्रगाढ र नजिकको सम्बन्ध छ । अझ धेरै कारणले गर्दा चीनसँग भन्दा भारतसँग नजिकको सम्बन्ध होला । तर, भारत र चीन दुवैलाई आलोपालो सत्तोसराप गर्ने खालको राजनीति भएको छ । यो देशभक्त नेताले गर्ने राजनीति होइन । यो सिधा कारोबारी राजनीति हो । नेतामा सत्तामा रहने, कारोबार चलाउनका लागि जसको सहयोग र पहुँच जे शर्तमा पाइन्छ, त्यो लिन्छु भन्ने देखिन्छ ।
एमालेसँग संवाद
एमाले र कांग्रेसको समीकरणबारे मेरो बेग्लै मान्यता छ । अहिले २७५ सदस्यीय संसद् छ । १३८ सिट ल्याउन एउटा पार्टीलाई सहज छैन । यसको नजिक पुग्न पनि सजिलो छैन । त्यसैले प्रतिनिधिसभा सदस्यको आकार घटाउनुपर्छ । प्रत्यक्षको १६५ बाट आकार घटाउन सकिँदैन । समानुपातिकलाई ११० बाट घटाएर एक्लै बहुमत ल्याउने अथवा बहुमतनजिक पुर्याउने स्थिति बन्न सक्छ । केही पहिचानका समुदायलाई सहजरूपमा चुनाव जितेर प्रत्यक्षबाट आउन नसक्ने देखेपछि दलित, महिला, मधेश र पहाडका अल्पसंख्यकलाई प्रतिनिधिसभामा लान नसके यसले प्रतिनिधिमूलक चरित्र गुमाउँछ । त्यसैले त्यो प्रणालीलाई मूर्तरूप दिन म आफैंले पनि महत्त्वपूर्ण भूमिका खेलें ।
तर, यसबीचका अभ्यासले समानुपातिकको ११० सिटको अभ्यास ठीक छैन भन्न अप्ठ्यारो मान्नुपर्ने अवस्था छैन । धेरैका लागि समानुपातिक चोर बाटो भयो । चुनाव लड्नका लागि तयार नहुने तर समानुपातिकको चोरबाटो हेर्नेतिर देखियो ।
मीनेन्द्र रिजालजस्तो पहिचानको मान्छेलाई किन समानुपातिक चाहियो ? सहजरूपले चुनाव जितेर आउन सक्नेलाई किन समानुपातिकको चोर बाटो चाहियो ? चोर बाटोलाई रोक्न समानुपातिकलाई ११० बाट ६० मा ल्याउने हो भने २२५ को प्रतिनिधिसभा हुन्छ । २२५ को प्रतिनिधिसभा भयो भने एउटा पार्टीको बहुमत आउँछ । नभए पनि यसको नजिक वा हाराहारीको सिट आउँछ । बहुमतको नजिक पुग्दा सानो पार्टी जोडेर सरकारमा बहुमत पुर्याउन सकिन्छ । यसले निर्वाचनभन्दा पहिले गठबन्धन बनाउने आवश्यकता पनि हुन्न ।
निर्वाचनअघि गठबन्धन बनाउँदा दुईवटा कुरामा चरम स्वार्थ देखियो । एकअर्कालाई झुक्याउने, सरकार बदल्ने, गठबन्धन बदल्ने र के गर्दा राजनीतिक कारोबार माथि जान्छ भन्नेतिर ध्यान जाने भयो । सरकारमा बसेका पार्टीलाई निरन्तर एक अर्काप्रति अविश्वास, बाहिर बसेकामा सरकारमा हुने पार्टीलाई फकाएर कहिले गठबन्धन भत्काउन पाइन्छ भन्ने स्वार्थ देखियो । सबैको काम दिनरात राजीतिमा रुमल्लिने भयो । देश बनाउन अग्रसर हुनेतिर कसैको कदम देखिएन । सरकारले सरकारको काम नगर्ने प्रतिपक्षले प्रतिपक्षको काम नगर्ने नियति भयो । स्वस्थ लोकतान्त्रिक पद्धति नहुने भयो ।
एमालेले पछिल्लो केही दिनयता कांग्रेससँग हाम्रो दूरी छ भन्ने देखाउन थालेको छ । हामी कांग्रेससँग छैनौं है भनेर एमालेका नेताहरू बोल्न थाल्नुभएको छ । कांग्रेस नेताहरूले एमालेसँग मिल्नुपर्छ भन्दा शुरूमा उहाँहरू पनि खुशी हुनुभएको थियो । किनकि हामीलाई कांग्रेसले पनि भनेको छ । माओवादीले पनि गठबन्धन बनाएको छ भनेर आनन्दको अनुभूति भएको थियो । त्यो अनुभूतिबाट फर्केर कांग्रेससँग जान हामीलाई हतार छैन भनिरहनुभएको छ ।
तर, यतिखेर संविधान र देशको विषयमा केही गर्नुछ । सरकार र प्रतिपक्षको समझदारीमा पनि गर्न सकिन्छ भनेर एउटा दूरी उहाँहरूले स्थापित गर्न खोजेको देखिन्छ । प्रचण्डजीलाई ‘एस्योर’ गर्न खोजको होला । कांग्रेसले फ्लर्ट गर्न खोजेकोजस्तो देखियो भने प्रचण्डले फेरि पुरानै गठबन्धनतिर फर्काउन सक्छन् भन्ने चिन्ता एमालेमा होला । प्रचण्डले यस्तो नगर्नुहोला भन्ने पनि छैन ।
देशमा शासन बिग्रेको छ । अघिल्लो चुनावमा हाम्रो मत ७ प्रतिशत घट्यो । अघिल्लोपटक चुनावमा २३ सिट जित्दा कांग्रेस आज ५७ सिटमा छ । ७ प्रतिशत भोट घट्दा पनि संसदमा हामी सबैभन्दा ठूलो पार्टी बन्यौं । जनताको मत घटे पनि सत्ताको कारोबारी र गठबन्धनको राजनीतिबाट फाइदा लिन सकिने अवस्था छ । तर, आजको दिनमा जनताप्रति उत्तरदायी हुनेभन्दा अर्को पार्टीसँग आफ्नो पार्टीको सम्बन्ध के रहन्छ भन्नेतर्फ राजनीति सोझियो ।
कतिपय ठूला भ्रष्टाचारका मुद्दा बाहिर आएका छन् । ती विषयमा पनि लेनदेन भयो । मोलतोल भयो । कसले कसलाई जोगायो, कसले कसलाई जोगाएन भन्ने कुरा सुनिन्छ । आमरूपमा यसरी चर्चा हुन्छ भने हाम्रो ध्यान विभिन्न राजनीतिक कारोबारमा रहेछ भन्ने देखिन्छ । कोसँग सम्बन्ध राम्रो छ र त्यसको आधारमा आफ्नो जोखिम कम हुन्छ भन्ने स्वार्थ हावी हुन थाल्यो । जनताको समस्यातिर ध्यान पटक्कै छैन, बरु कारोबारी राजनीति कसरी गर्न सकिन्छ, त्यतातिर मात्रै ध्यान छ । एक अर्कासँगको सम्बन्धको बढी महत्त्व छ । त्यति हुँदाहुँदै हामी संवैधानिक निकायमा नियुक्ति गर्ने पदमा मेरो मान्छे हुन्छ कि हुँदैन भन्नेमा लाग्ने प्रवृत्ति छ । मान्छेको भरोसा खोज्ने क्रममा प्रधानमन्त्रीले त आफ्नो पार्टीको नेता होइन, आफ्नै भाइलाई मात्रै विश्वास गर्न सक्ने देखियो ।
एकअर्काप्रति अविश्वास र आशंका चुलिएको छ, जसले जसलाई पनि झुक्याउन सक्छ भन्ने मानसिकता छ । यसलाई बदल्नका कहीँ न कहीँ निर्वाचन प्रणाली बदल्नैपर्छ । यसैले निर्वाचन प्रणाली बदल्नका लागि कांग्रेस र एमालेबीच सहकार्य हुनुपर्छ । तर, यो सहकार्य सरकारमा बस्नका लागि मात्रै होइन । यी दुई दलबीच एउटा–एउटा समझदारी नभइकन यो सम्भव छैन । कांग्रेस र एमालेबीचको समझदारीले धेरै कुरा सम्भव छ भन्ने संविधान बनाउँदा देखिएको छ । संविधान बन्दाको सकसमा कांग्रेस र एमाले एक ठाउँमा आए । यिनीहरूले अरू पार्टीलाई पनि ल्याएपछि नेपालमा संविधान जारी हुन सकेको थियो । कांग्रेस र एमालेले साझा अग्रसरता नलिएको भए संविधान बन्थेन ।
त्यसैले अहिले निश्चित एजेन्डाका लागि संविधान संशोधन गरेर मुलुकमा चुलिएको निराशालाई प्रतिवाद गर्दै संविधान जोगाएर यसको राम्रोसँग कार्यान्वयन गर्नुपर्छ । मुलुकको ध्यान सुशासनप्रति, आर्थिक समृद्धि र जनताका मुद्दाप्रति हुने परिस्थिति निर्माण गर्न कांग्रेस र एमालेबीच एउटा समझदारी गर्नुपर्छ । सरकार बनाउनलाई होस् वा नबनाउन होस्, कांग्रेस र एमालेको साझा जिम्मेवारी बन्दै गएको छ ।
सरकार बनाउने र भत्काउने ठूलो अभिरुचिको विषय होइन । यो संसद्मा भएका साथीहरूले गर्ने कुरा हो । कति चाँडो वा ढिलो हुन्छ थाहा छैन, तर भू–राजनीति खल्बलिएको छ । अविश्वास चुलिँदो छ । ढिलोचाँडो एउटा पाटो हो । मेरो ध्यान सरकार परिवर्तन बजेट अगाडि कि पछाडि भन्नेतिर छैन । तर कांग्रेस र एमालेको साझा अग्रसरताबाट मात्रै नागरिकमा देखिएको निराशालाई चिर्न सकिन्छ । राम्रो संविधान बनाएका छौं । यसलाई जोगाउनुछ । त्यसैले कांग्रेस र एमालेबीच संवाद जरुरी छ । यसो भन्दा सरकार बनाउन मात्रै भनेर बुझिनुहुन्न । मुलुकको समग्र राजनीतिलाई कुन बाटो दिन सकिन्छ भन्नेमा दुई पार्टीबीच सघन संवादको आवश्यकता छ । सरकारको मुद्दा र देशलाई सहज वातावरणमा लिएर जाने मुद्दा अलगअलग विषय हुन् ।
(डा. रिजालले लोकान्तरका लागि रमेश सापकोटासँग गरेको कुराकानीमा आधारित । पार्टीको आन्तरिक राजनीतिक विषयमा गरिएको कुराकानी अर्को भागमा– सम्पादक)
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...