सरकारसँग छैन एन्टीबायोटिक उत्पादन र आयातको तथ्याङ्क, प्रयोगभन्दा दुरुपयोग बढी

कात्तिक २९, २०७५

काठमाडौं – एन्टीबायोटिक संक्रमणका कारण हुने रोगविरुद्ध प्रयोग हुने महत्त्वपूर्ण औषधि हो । एन्टीबायोटिकले ब्याक्टेरियाका कारण हुने संक्रमणलाई निको पार्ने काम गर्छ ।

एन्टीबायोटिकले ब्याक्टेरियालाई नष्ट गरी ब्याक्टेरियाको वृद्धि हुने क्षमतालाई समेत घटाउने काम गर्छ । 


ADVERTISEMENT

विश्वमा एन्टीबायोटिकको विकासले संक्रमणका कारण हुने रोगहरूबाट मानिसको मृत्युदरमा कमी आएको थियो । एन्टीबायोटिकको प्रयोग मानिस, जीवजन्तु र वनस्पतिमा हुने संक्रमण रोगहरूमा गरिँदै आएको छ । 

पछिल्लो समयमा एन्टीबायोटिकको दुरुपयोगका कारण एन्टीबायोटिकले काम गर्न छाडेको चिकित्सकहरूले बताएका छन् ।

संक्रमण रोगविरुद्ध प्रभावकारी मानिएको एन्टीबायोटिकले सन् २०५० पछि ब्याक्टेरियालाई असर नगर्नेे त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का क्लिनिकल फर्माकोलोजी विभाग सहप्राध्यपक डा. सतीश देव बताउँछन् ।

‘पहिले प्रभावकारी मानिएको एन्टीबायोटिकले अब त्यही ब्याक्टेरियामा केही असर पार्न नसक्ने अवस्थामा पुग्दैछ,’ ब्याक्टेरियाले एन्टीबायोटिकस“ग लड्ने क्षमताको विकास गरिसकेको छ, जसलाई हामी एन्टीबायोटिक रेसिस्ट्यान्ट भन्छौं । अबको ३० वर्षमै एन्टीबायोटिक काम नलाग्ने अवस्थामा पुग्दैछ ।’

एन्टीबायोटिक रेसिस्ट्यान्सको कारण एन्टीबायोटिकको उपयोगितामा कमी हुँदै गएको उनको भनाइ छ ।

विश्व स्वास्थ्य संगठनले एन्टीबायोटिक प्रयोग हुँदा ब्याक्टेरियाले दिने प्रतिक्रियाबाट रेसिस्ट्यान्स हुने जनाएको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार एन्टीबायोटिक काम गर्न छाडेमा सन् २०५० पछि प्रतिवर्ष ब्याक्टेरियाका कारण हुने संक्रमणबाट विश्वमा एक करोड मानिसको मृत्यु हुनसक्छ ।

एन्टीबायोटिकको अल्पउपयोग, अतिउपयोग र दुरुपयोगले ब्याक्टेरियाले आफ्नो क्षमता बढाउँदै गएको विभिन्न अनुसन्धानहरूले देखाएको छ । एन्टीबायोटिकलाई चिकित्सकको सिफारिसविना प्रयोग गर्न नपाइने कानुनी व्यवस्था छ । तर नेपालमा एन्टीबायोटिक जथाभावी बिक्री र प्रयोग हुँदै आएको छ । 

औषधि व्यवस्था विभागसँग छैन तथ्याङ्क

गैरकानुरी रूपमा बिक्री वितरण भइरहेको एन्टीबायोटिकको प्रयोगलाई नियन्त्रण गर्ने प्रमुख निकाय हो औषधि व्यवस्था विभाग । 

तर नेपालमा एन्टीबायोटिकको आयत, उत्पादन र कति प्रयोग भइरहेको छ भन्ने यकिन तथ्याङ्क नै नभएको विभागका महानिर्देशक नारायणप्रसाद ढकाल बताउँछन् ।

‘एन्टीबायोटिक विदेशबाट आयत पनि हुन्छ र नेपालमै पनि बनाइन्छ, त्यसका लागि कच्चा पदार्थ भने बाहिरबाट नै आउँछ,’ महानिर्देशक ढकालले भने, ‘यति नै परिमाणको आयत र बिक्री हुन्छ भन्ने तथ्याङ्क चाहिँ हामीसँग छैन ।’
नेपालमा गैरकानुनी रूपमा एन्टीबायोटिकको बिक्री र प्रयोग भइरहेपनि यसलाई नियन्त्रण गर्न नसकिएको औषधि व्यवस्था विभागका महानिर्देशक ढकालले स्वीकारे । 

‘पहिला–पहिला संसारमा बरदानको रूपमा लिइएको एन्टीबायोटिक अहिले प्रभावविहीन बन्दै गएको छ, हाम्रै अस्पतालका आइसीयूमा समस्या देखिन थालिसकेको छ,’ महानिर्देशक ढकालले भने, ‘नेपालमा एन्टीबायोटिकको दुरुपयोग बढेको छ, यसलाई स्वीर्कानुपर्छ ।’

औषधि व्यवस्था विभागले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर छिट्टै एन्टीबायोटिकको आधिकारीक तथ्याङ्क संकलन शुरू गरिने बताएको छ ।

मानिस र जीवजन्तुमा प्रयोग हुने एन्टीबायोटिक एउटै हुने भएकाले एन्टीबायोटिक रेसिस्ट्यान्सलाई नियन्त्रण गर्न वान हेल्थको अवधारण आएको छ । एन्टीबायोटिकको प्रयोगविहीन हुने अवस्था आउन दिन नहुने भन्दै विश्वभर वान हेल्थको धारणा अनुसार नीति, कार्यक्रम, कानून र अनुसन्धानका योजना बनेका छन् ।

विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनले संयुक्त रूपमा एन्टीबायोटिक रेसिस्ट्यान्सस“ग लड्नका लागि विभिन्न कार्यक्रमको शुरूवात गरेका छन् ।

नेपाल सरकारले पनि ग्लोबल एक्सन प्लानमा आधारित भएर एन्टीबायोटिक रेसिस्ट्यान्ससम्बन्धी राष्ट्रिय एक्सन प्लान बनाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. दीपेन्द्ररमण सिंहले बताए ।  

नेपालले मानव स्वास्थ्य, कृषि, भेटरिनरी र वातावरणको क्षेत्रलाई एकीकृत रूपमा समेट्दै नीति, कार्यक्रम, अनुसन्धान लगायतका कार्यक्रम गर्ने योजना रहेको डा. सिंहले बताए ।

उनले भने, ‘एन्टीबायोटिक रेसिस्ट्यान्ससम्बन्धी राष्ट्रिय एक्सन प्लान शुरू गरिसकेका छौं, अझै प्रभावकारिताका साथ लैजाने तयारी भइरहेको छ ।’

कात्तिक २९, २०७५ मा प्रकाशित

रिता लम्साल

रिता लम्साल लोकान्तरका लागि स्वास्थ्य र सामाजिक मामिलामा कलम चलाउँछिन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस