एसिया प्यासिफिक समिटको आवरणमा नेपालविरुद्ध खतरनाक षड्यन्त्र

मंसिर १८, २०७५

युनिभर्सल पिस फेडरेसनको यही मंसिर १४ गते देखि १७ सम्म भएको ‘एसिया प्यासिफिक समिट २०१८’ ले अप्रत्याशित रूपमा काठमाडौंलाई तताएको छ । सुरक्षा र ट्राफिक व्यवस्थापनको लागि वैकल्पिक रूपमा एक दिन जोर र अर्को दिन विजोर नम्बरका सवारीसाधन मात्र चलाउन पाउने फर्मान सरकारले जारी गरेपछि यो समिटको विषयमा आम जनताले थाहा पाएका हुन् ।

४५ देशका १५ सय प्रतिनिधि र विभिन्न देशका सरकारप्रमुखको सहभागिता रहेको यति ठूलो समिट गुपचुप रूपमा गर्ने धृष्टता गरिएको थियो । यो समिटका छलफलका विषयहरू र सरकारको भूमिकालाई गोप्य राख्न जति नै कसरत गरिएपनि वास्तविकता पर्दाफास भएको छ । यो समिटले धेरै नेपाली नेताहरू र प्रतिष्ठित व्यक्तिहरूको मुखुण्डो उतारिदिएको मात्र छैन भित्रभित्रै नेपालविरुद्ध कति गम्भीर षड्यन्त्र भइरहेका छन् भन्ने कुरा सतहमा देखाएको छ ।


ADVERTISEMENT

यो समिट गर्नको लागि दिएको स्वीकृतिबाट मात्र होइन, यसलाई सफल बनाउन सरकारबाट भइरहेको विशेष मेहनतले पनि यसको पर्दा पछाडिको आयोजक र व्यवस्थापक सरकार रहेको सहज रूपमा बुझिन्छ । यो समिटको सुरक्षामा करोडौं करोड खर्च भएको छ । एउटा विवादास्पद आईएनजीओले आयोजना गरेको कार्यक्रममा सरकारबाट सुरक्षाका नाममा गरिएको यति ठूलो खर्च कम आपत्तिजनक छैन ।

राष्ट्रिय र जनहितलाई आघात पार्ने यो कार्यक्रमलाई सहयोग पुर्‍याउन सरकारले राज्यकोषको चरम दुरुपयोग गरेको छ । यो समिटको उद्देश्य बाह्य रूपमा जे जे देखाइएपनि भित्री कारण क्रिस्चियन धर्मप्रचारको आवरणमा पश्चिमा राजनीति कार्यान्वयन गर्नु नै थियो भन्ने कुरा छर्लङ्ग भएको छ । यस्तो विवादास्पद संस्थाले यस्तो शंकास्पद कार्यक्रमको थलो किन काठमाडौंमा नै रोज्यो ? जनताले आशा भरोसा गरेका नेताहरू यसमा किन मुछिए ? आम जनताको लागि जिज्ञासाको विषय बनेको छ ।

एसिया प्यासिफिक समिटको आवरणमा भएको यस्तो खतरनाक पश्चिमा षड्यन्त्र वर्तमानमा मात्र होइन, भावी दिनहरूमा पनि नेपालको लागि निकै दुर्भाग्यपूर्ण हुने निश्चित छ ।

आयोजक संस्था युनिभर्सल पीस फेडरेसन निकै विवादास्पद मात्र होइन, रहस्यमय संस्था पनि हो । दक्षिण कोरियामा स्थापित यो संस्था क्रिस्चियन धर्मप्रचारको उद्देश्यका साथ सन् २००५ (संवत् २०६२) मा कोरियाली क्रिस्चियन धार्मिक नेता सन म्युङ मूनको नेतृत्वमा खोलिएको हो । सन म्युङ मून धार्मिक अवरणमा पश्चिमा रणनीति लागू गर्ने व्यक्तिको रूपमा आलोचित छन् । कतिले उनलाई सीआईएको एजेन्ट भन्ने आरोप पनि लगाएका छन् । 

उनको भूमिकालाई दृष्टिगत गर्दा यो आरोप यथार्थपरक देखिन्छ । उनी दिवंगत भइसकेपछि उनका उत्तराधिकारी र अनुयायीहरूले पनि उनको जस्तो नै भूमिका निभाउँदै आएका छन् । यस संस्थाका प्रमुख तथा आफुलाई जिससको छोरी भनी दाबी गर्ने हाक जा हान मून नै सन म्युङ मूनकी धर्मपत्नी हुन् । जिसस क्राइस्टको असली प्रतिनिधि सन म्युङ मून भएको अविश्वसनीय दाबी उनीहरूको छ । जिसस क्राइस्टको धार्मिक प्रभावभूमि पश्चिमी राष्ट्रहरू हुन् । एसियाको कोरियाली नागरिकलाई किन येशुको प्रतिनिधिको रूपमा स्थापित गर्ने दुष्प्रयास गरियो ? यो प्रश्न कम गम्भीर छैन ।

पश्चिमा क्रिस्चियनहरूले धर्मको आवरणमा आफनो राजनीतिक प्रभाव विस्तार गर्ने रणनीति परापूर्वकालदेखि नै अख्तियार गर्दै आएका हुन् । संसारभरि बेलायती साम्राज्य फैलाउन यो रणनीतिलाई प्रयोग गरिएको सर्वविदितै छ । यसैलाई परिमार्जित गरी बनाइएको नयाँ रणनीति विशेषतः एसियामा कार्यान्वयन गर्ने संस्था युनिभर्सल पीस फेडरेसन हो । कुनै पनि देशमा आफनो प्रभाव विस्तार गर्नका लागि उनीहरूले क्रिस्चियन धर्मको आवरणमा त्यो देशका धार्मिक, सांस्कृतिक, भाषिक, जातजाति, महिला र पुरुष, छुत–अछुत र क्षेत्र–क्षेत्रबीच द्वन्द्व सृजना गर्ने रणनीति पश्चिमाहरूले अख्तियार गर्ने गरेका छन् । उनीहरूले यो रणनीति विशेषतः एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका देशहरूमा प्रयोग गरी ती देशलाई अस्थिरताको दलदलमा फसाउँदै आफ्नो प्रभावलाई विस्तार गर्दै आएका छन् ।

पश्चिमा देशहरूले आफनै नेतृत्वमा एसिया र अफ्रिका तथा ल्याटिन अमेरिकाका देशहरूमा धर्मप्रचारको आवरणमा राजनीतिक चलखेल गरिरहेकोमा केही दशकयता उनीहरूले त्यही क्षेत्रका देशका संस्था र व्यक्तिहरूलाई अघि सारेर आफनो अभीष्ट पूरा गर्ने रणनीति अख्तियार गर्ने गरेका छन् । एसिया महादेशमा त्यस्तो रणनीति जापान र दक्षिण कोरियाका व्यक्तिहरू, संस्थाहरू र नेताहरूलाई प्रयोग गरी कार्यान्वयन गरिरहेका छन् । 

एसियाको लागि खोलिएको उल्लेखनीय संस्था युनिभर्सल पीस फेडरेसन हो । यो संस्थाको माध्यमबाट पश्चिमाहरूले नेपालका हरेक राजनीतिक पार्टीभित्र आफ्नो प्रभावको विस्तार उल्लेखनीय रूपमा गरेका छन् । दक्षिणपन्थी, प्रजातन्त्रवादी र क्रान्तिकारी आवरणमा रहेका नेपाली नेताहरू र कार्यकर्ताहरूलाई उनीहरूले आफनो एजेन्ट बनाइसकेको क्रमशः पर्दाफास हुँदैछ । 
सोभियत संघलाई विघटन गराएपछि विश्वको एकल शक्तिकेन्द्र पश्चिमा देशहरू बनेका छन् । त्यसको नेतृत्व अमेरिकाले गरिरहेको छ । कुनै पनि देशको आधारस्तम्भको रूपमा रहेका धर्म, संस्कृति र परम्परालाई ध्वस्त गरी क्रिस्चियन धर्मको माध्यमद्वारा आफनो प्रभाव विस्तार गर्ने रणनीति उनीहरूले कार्यान्वयन गरिरहेका छन् । उनीहरूले क्रिस्चियन धर्मको प्रतिस्पर्धी मुस्लिम धर्मलाई तहसनहस पार्ने कोशिश गरिरहेका छन् ।

मुस्लिम राष्ट्रहरूलाई तहसनहस गरेपछि पश्चिमाको आँखा विश्वमा शक्तिराष्ट्रको रूपमा उदाएका एसियाका दुई देशहरू चीन र भारतमाथि केन्द्र्रित छ । यी देशहरूलाई एकअर्कासँग लडाउन, यी दुई देशका सामाजिक, सांस्कृतिक, धार्मिक र राजनीतिक क्षेत्रमा द्वन्द्व बढाउन उनीहरू टाउको टेकेर लागिपरेका छन् । यस प्रयोजनका लागि उनीहरूले भारत र चीनको बीचमा रहेको नेपाली भूमिलाई अखडा बनाउने र प्रयोग गर्ने दुष्प्रयास गर्दै आएका छन् । २०४६ सालपछिको खुकुलो राजनीतिक वातावरणमा पश्चिमाहरूले क्रिस्चियन धर्म प्रचारप्रसारमा उल्लेखनीय सफलता हासिल गर्दै आएका छन् । उनीहरूले नेपालको धार्मिक, सामाजिक, सांस्कृतिक क्षेत्र र राज्यका जिम्मेवार अंगमा मात्र होइन, राजनीतिक क्षेत्रमा पनि पहुँच र प्रभाव अस्वाभाविक रूपमा बढाएका छन् । क्रिस्चियन धर्मप्रचारक संस्था युनिभर्सल पीस फेडरेसनले सरकार र राज्यका संवेदनशील अङ्गलाई सहज रूपमा प्रयोग गर्नु यसको ज्वलन्त उदाहरण हो । 

वर्तमान अवस्थामा दुईतिहाइको समर्थनमा स्थायी वामपन्थी सरकार बने पनि अस्थिरता र अराजकताबाट गुज्रिरहेको मुलुकको अवस्थामा तात्त्विक भिन्नता आएको छैन । स्थिरता आउने सम्भावना पनि घट्दै गएको छ । बाह्य अस्थिरतावादी र अराजकतावादी शक्तिहरूको खेलौना सरकार नै बन्दै गएको स्थितिले यही कुराको उजागर गर्दछ । नेपालमा अनियन्त्रित अस्थिरता सिर्जना गरी आफ्नो प्रभाव विस्तार गर्ने र नेपालको भूमि प्रयोग गरी चीनलाई प्रहार गर्ने र भारतलाई आफ्नो निर्देशन पालना गर्न बाध्य पार्ने पश्चिमा रणनीतिबाट नेपाली राजनीति अस्वाभाविक रूपमा बिथोलिएको हो । 

२०४६ साल पछिको राजनीतिक तरलताले ठोस रूप लिने दिशातर्फ अग्रसर भइरहेको स्थितिमा शुरूआत भएको माओवादी र राज्यबीचको भिडन्तले मुलुकलाई पुनः पुरानै अवस्थामा पुर्‍याइदिएको हो । माओवादी र राजनीतिक शक्तिकेन्द्र राज्यका संवेदनशील अंगहरूलाई प्रयोग गरेर पश्चिमाहरूले सिर्जना गरेको अराजकताले नयाँ संविधान जारी नहुँदासम्म देखाएका जातीय, क्षेत्रीय र धार्मिक ताण्डव नृत्यका घटनाहरूलाई पुनरावृत्ति गर्ने र वर्तमान सरकारलाई प्रयोग गरेर धार्मिक विवादमा पुनः चरम अस्थिरता सिर्जना गर्ने उनीहरूको उल्लेखनीय कदम यो एसिया प्यासिफिक समिट हो ।  

पश्चिमाहरूले संविधान निर्माणको क्रममा जनजातिलाई उचालेर जातीय द्वन्द्व गराई अस्थिरता सिर्जना गर्ने प्रयास र लगानी बालुवामा हालेको पानी झैं भएपछि नेपालको हिमाल र पहाडी क्षेत्रका जनजाति लगायतका जातजातिबीचको सामाजिक र जातीय सद्भाव त्यति सजिलै तोड्न नसकिने निष्कर्षमा उनीहरू पुगेका छन् । पश्चिमाहरूको जुठोपुरो खाएर जातीय द्वन्द्व मच्चाउन ठेक्का लिएका केही विवादास्पद जनजाति नेता नै आफ्नो जातीय समुदायबाट बहिष्कृत हुँदै गएको स्थितिबाट उनीहरू यस्तो निष्कर्षमा पुगेका हुन् । क्षेत्रीय र जातीय द्वन्द्व सिर्जना गर्न हिमाल र पहाडभन्दा तराई मधेशमा सहज हुने मूल्याङ्कनका साथ उनीहरूले आप्mनो ध्यान त्यतातर्फ केन्द्रित गरेका छन् । तराई मधेशमा भइरहेको सामाजिक, सांस्कृतिक र राजनीतिक घटनाक्रमहरूले यही कुराको संकेत मिल्दछ । काठमाडौंलाई टेकेर तराई–मधेश हान्ने पूर्वाधार निर्माणका लागि यो समिट आधारस्तम्भ हुन सक्तछ । 

नेपालमा अस्थिरता सिर्जना गरी आफ्नो प्रभाव विस्तार गर्न अन्य हत्कण्डाभन्दा धार्मिक हत्कण्डा बढी प्रभावकारी हुने विश्लेषणका साथ पश्चिमाहरूले क्रिश्चियन धर्मप्रचारलाई प्राथमिकता दिएको समिटले इङ्गित गर्दछ । नेपालमा क्रियाशील क्रिश्चियन संघसंस्थाहरूको षड्यन्त्र पर्दाफास हुँदै गएपछि उनीहरू सामाजिक रूपमा एक्लिँदै गएका छन् । यसबाट उनीहरूको मनोबल पनि निकै गिर्दै गएको छ । उनीहरूलाई खुला रूपमा क्रिस्चियन धर्म प्रचारप्रसार गर्न अप्ठ्यारो पर्दै गएको छ । हिन्दू, मुस्लिम र बौद्ध धर्मको जामा पहिरिएका क्रिस्चियन धर्मका सहयोगी र विभिन्न देशका राजनीतिक व्यक्तित्वहरूलाई यो समिटमा सहभागी गराएर यहाँका क्रिस्चियनहरूको मनोबल उठाउने र धर्मप्रचारका लागि उपयुक्त वातावरण बनाउने उद्देश्य राखेको सहज रूपमा बुझ्न सकिन्छ । युनिफिकेसन चर्चकी प्रमुख हक जा हनले यो समिटमा नेपालका प्रधानमन्त्रीलाई पुरस्कृत गरेर अन्य सहभागीलाई आशीर्वाद दिएबाट यही कुराको पुष्टि हुन्छ ।

धार्मिक आवरणमा पश्चिमाहरूको नेपालमा बढ्दो चलखेलले नेपालको आन्तरिक सुरक्षा, सामाजिक सद्भावमा मात्र होइन, भारत र चीनको आन्तरिक सुरक्षामा पनि प्रतिकूल असर पर्ने र उनीहरूको गतिविधि पनि बढ्ने प्रबल सम्भावना छ । 

विवादस्पद  युनिभर्सल पीस फाउन्डेसनले यस्ता समिटहरू जहाँजहाँ गरेको छ, त्यसै स्थानलाई  केन्द्र बनाएर त्यस क्षेत्रमा क्रिस्चियन धर्मप्रचारको अभियान चलाएको पाइन्छ । यो संस्थाले सन् २०१५ मा ब्राजिलमा, २०१६ मा दक्षिण कोरियामा र २०१७ मा अफ्रिकाको सेनेगलमा यस्ता धार्मिक समिटपछि त्यो क्षेत्रमा धर्मप्रचार आक्रामक रूपमा गरिएको थियो । यो संस्थाले अहिले नेपालमा यस्तो समिट गर्नुको स्वाभाविक अर्थ नेपाललाई केन्द्रविन्दु बनाएर यो क्षेत्रमा आक्रामक रूपमा क्रिस्चियन धर्मको प्रचारप्रसार र धर्मपरिवर्तन गर्न गराउनका लागि हो भन्ने कुरा सहज रूपमा बुझिन्छ । 

क्रिस्चियन धार्मिक गतिविधिलाई चीनमा नियन्त्रण गरिएपछि पश्चिमाहरूले यो क्षेत्रको लागि केन्द्र भारतलाई बनाउँदै आएका थिए । भारतीय धर्म, संस्कृति र परम्परामाथि क्रिस्चियनहरूले अतिक्रमण गर्न थालेपछि भारतले पनि उनीहरूलाई नियन्त्रण गर्न थालेको छ । यस्तो स्थितिमा विकल्पको रूपमा उनीहरूले नेपाललाई केन्द्र बनाउने रणनीति अख्तियार गरेको संकेत मिल्दछ । धार्मिक आवरणमा पश्चिमाहरूको नेपालमा बढ्दो चलखेलले नेपालको आन्तरिक सुरक्षा, सामाजिक सद्भावमा मात्र होइन, भारत र चीनको आन्तरिक सुरक्षामा पनि प्रतिकूल असर पर्ने र उनीहरूको गतिविधि पनि बढ्ने प्रबल सम्भावना छ । 

यो समिटपछि नेपाली भूमिलाई अखडाको रूपमा प्रयोग गरी धार्मिक आवरणमा पश्चिमाहरूले गर्ने चलखेलबाट मृतप्रायः बनेको धार्मिक, जातीय र क्षेत्रीय द्वन्द्व पुनर्जीवित हुने परिस्थिति तयार हुनेछ । यसबाट नेपालको आन्तरिक राजनीति पनि पुनः अस्थिरताको दलदलमा फस्ने परिस्थिति स्वतः निर्माण हुनेछ । चीनलाई प्रहार गर्ने र भारतलाई नियन्त्रण गर्ने रणनीति पश्चिमाहरूले नेपाली भूमिलाई प्रयोग गरी अघि बढ्दा चीन, भारत र पश्चिमाहरूको द्वन्द्वको अखडा स्वतः नेपाल बन्नेछ । यसैले एसिया प्यासिफिक समिटको आवरणमा भइरहेको यस्तो खतरनाक पश्चिमा षड्यन्त्र वर्तमानमा मात्र होइन, भावी दिनहरूमा पनि नेपालको लागि निकै दुर्भाग्यपूर्ण हुने निश्चित छ ।

मंसिर १८, २०७५ मा प्रकाशित

बोर्णबहादुर कार्की

कार्की वरिष्ठ अधिवक्ता एवम् प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस