बैशाख ४, २०८१
गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...
नेपाली चलचित्रले मौलिक नेपालीपनलाई प्रतिबिम्बित गर्न सके मात्र दर्शकको मनमस्तिष्कका राज गर्न सक्छ भन्ने तथ्यको उदाहरण ‘ऐना झ्यालको पुतली’ले प्रस्तुत गरेको छ । गाउँको श्रव्य, दृश्य र गन्धलाई समेत यथार्थवादी तरिकाले पस्किन यो फिल्म सफल भएको छ ।
यसमा कथा छ दिदीभाइको । दिदी विद्या (कञ्चन चिमरिया) नामअनुसार पढाइमा अब्बल छिन् । कक्षामा उनी प्रायः प्रथम भइरहन्छिन् । उनलाई गाउँबाहिर गएर राम्रो विद्यालयमा माध्यमिक तहमा भर्ना हुनुछ तर त्यसका लागि विभिन्न अवरोध छन् ।
विद्याको भाइ छ वसन्त (दिनेश खत्री) । दिदी जति जेहेन्दार छैन । कक्षामा शिक्षकबाट पिटाइ खाने गर्छ । पढ्न भन्दा पनि फिल्म हेर्न र साथीसँग डुल्न मन पराउँछ । दिदीसँग झगडा पनि गरिरहन्छ । तर दिदीलाई माया पनि गर्छ । उसमा एक किसिमको मायालु निर्दोषिता छ ।
विद्या र वसन्त गाउँको ब्राह्मण परिवारका सदस्य हुन् जसको आर्थिक हैसियत ठीकै छ । खानलाउनलाई धौधौ छैन तर दुःखजिलो नगरी खान पनि पाइँदैन ।
उनीहरूकी आमा (सिरु विष्ट) मेहनती छिन् । सन्तानले राम्रो पढेर उन्नति गरून् भन्ने उनको चाहना छ । तर उनले रक्सी खाने अनि कामधन्धा केही नगर्ने पतिका कारण आफैं सबै दुःख गर्नुपर्ने अवस्था छ । छोरीले उच्च शिक्षा लिनका लागि गरेको इच्छालाई पूरा गर्न उनका लागि सहज छैन तर उनी पछि हट्ने खालकी पनि छैनन् ।
यी प्रमुख पात्रहरूमाथिको चर्चाबाट पाठकले थाहा पाइसक्नुभएको हुन सक्छ– यो चलचित्र नेपाली नारीले व्यहोर्नुपरेका चुनौतीमा केन्द्रित छ । चेलीका दुःखलाई चलचित्रले निकै कलात्मक पारामा प्रस्तुत गरेको छ । नेपाली महिलाले कस्ता किसिमका शारीरिक र मनोवैज्ञानिक पीडा भोग्नुपर्छ भन्ने कुरालाई चलचित्रमा यथार्थपरक ढंगले देखाइएको छ । यसअर्थमा यो फेमिनिस्ट फिल्म हो ।
फिल्ममा नारीमाथिको हिंसा शारीरिक रूपमा नभई मानसिक रूपमा भएको छ । शारीरिक हिंसाको दृश्य फिल्ममा नभए पनि दर्शकले नारीहरूमाथि गरिएको मनोवैज्ञानिक हिंसालाई सजिलै अनुभूत गर्न सक्छन् । राम्रो पढेर पनि कक्षामा प्रथम हुन नसकी छात्रवृत्ति गुमाउनुपर्दा, मुना पत्रिकामा अब्बल कविता पठाउँदा पनि नछापिएको पीडा सहनुपर्दा, हर्नामाडी गएर माथिको कक्षामा पढ्ने इच्छालाई मार्नुपर्दा, विद्यालयमा कवितावाचनको अवसरबाट वञ्चित हुनुपर्दा विद्याले भोगेको मानसिक पीडाले दर्शकको पनि मन अमिलो बनाइदिन्छ । अनि फिल्मको अन्तिमतिर विद्याले अनपेक्षित घटनाक्रममा सहभागी हुनुपर्दाको पीडाले त दर्शकको मनै हुँडल्छ ।
विद्याको भूमिकालाई चिमरियाले सशक्त रूपमा निर्वाह गरेकी छन् । धेरै संवाद नबोलिकनै अनुहारको भावभंगिमामार्फत उनले पीडा व्यक्त गर्न सक्नु ठूलो सफलता हो । त्यसमाथि पहिलोपटक फिल्म खेलिरहेको व्यक्तिबाट यस्तो सशक्त अभिनय हुनु सुखद आश्चर्य हो ।
वसन्तको भूमिकामा दिनेश खत्रीले पनि राम्रो छाप छोडेका छन् । दिदीलाई दुःख पनि दिने अनि माया पनि गर्ने, आमासँग झगडा पनि गर्ने अनि मायाले लुटपुटिने निर्दोष बालकका रूपमा उनी जमेका छन् । गाउँमा कुटपिट गर्ने र सताउने केटाहरूबाट बच्नका लागि उनले गरेको अभिनय आफैंमा दमदार छ । अनि रिसाएको बेलामा च्याँट्ठिएर बोलेको संवाद पनि प्राकृतिक लाग्छ ।
आमाको भूमिकामा सिरु विष्टले उत्कृष्ट अभिनय गरेकी छन् । चारजनाको परिवारलाई पाल्नका लागि उनले गरेको मेहनत र दुःखजिलोलाई परिवारका सदस्यले उचित सम्मान नदिएको गुनासो गर्दा उनी सशक्त लाग्छिन् । संवादसँगै मुहारको हाउभाउमार्फत मनका अन्तर्द्वन्द्वलाई व्यक्त गर्न सक्नु उनको सफलता हो ।
चलचित्रका अन्य पात्र पनि आफ्नो भूमिकामा जमेका छन् । वसन्तको साथी बांगेका रूपमा उमेश श्रेष्ठको अभिनयमा सरलता छ । तर वसन्तलाई काठमाडौं जाऊँ भनिरहने बांगेले जुन कारणले गर्दा गाउँमा बस्न मन नलागेर काठमाडौं जान खोजेको हो, त्यसलाई स्थापित गराउन निर्देशक चुकेका छन् ।
काठमाडौं पनि फिल्मको अदृश्य पात्र हो । काठमाडौंसँग ज्यामिरे गाउँको सम्बन्ध मुना पत्रिका र रेडियो नेपालमार्फत जोडिएको छ । गाउँको आफ्नै बेग्लै दुनियाँलाई देश–काल–समयसँग जोड्ने माध्यम नै रेडियो नेपाल बनेको छ । प्रमुख पात्रहरूले रेडियो सुनेका दृश्य फिल्ममा प्रशस्तै छन् ।
जीवनको एक खण्डलाई प्रस्तुत गर्ने यो ‘स्लाइस अफ लाइफ’ फिल्म हो । परम्परागत रूपमा फिल्मको प्लटमा अपेक्षा गरिने आरम्भ, मध्य, अन्त्य वा क्लाइमेक्स यस फिल्ममा भेटिँदैन । यो त बाल्यकालको स्मरण हो र त्यसैमार्फत जीवनदर्शनको घोत्ल्याइँ हो । यसलाई कवितात्मक चलचित्र भन्न सकिन्छ ।
सुजित बिडारीले आफूलाई अब्बल निर्देशकका रूपमा यस फिल्ममार्फत स्थापित गरेका छन् । बिम्ब र प्रतीकहरूलाई उनले मज्जैले खेलाएका छन् । विद्याले शीशाको भाँडोमा कैद पुतलीलाई उड्नका लागि बिर्को खोलिदिएको दृश्य प्रतीकात्मक छ । त्यस्तै मन्द पवनमा लहराइरहेका फूलहरूको दृश्यलाई पनि उनले कलात्मक रूपमा पेश गरेका छन् ।
फिल्मको शीर्षक आफैंमा प्रतीकात्मक छ । कविवर माधव प्रसाद घिमिरेको गीतबाट सापटी लिइएको शब्दावलीले विद्याका आकांक्षाहरूलाई कसरी समाजले कुण्ठित बनाएको छ भन्ने कुरालाई अभिव्यक्त गर्छ ।
ऐना अर्थात् शीशाको झ्याल बन्द छ र पुतली त्यसमा फसेको छ । पुतलीले बाहिरको सुन्दर संसार देख्छ तर फुत्कन सक्दैन । विद्याको कल्पनामा पनि गाउँ बाहिर सुन्दर संसार तथा अनेकौं सम्भावनाका अवसर छन् तर परिस्थितिहरूले उनलाई त्यस संसारसम्म पुग्न दिँदैनन् । तर शीर्षकको यस प्रतीकात्मकतालाई निर्देशक बिडारीले फिल्मको बिम्बमा ढाल्न चाहिँ सकेको देखिँदैन ।
बिडारी फिल्म पढेका र प्राविधिक ज्ञान राख्ने व्यक्ति हुन् भन्ने कुरा उनका लिन लगाएका शटहरूबाट थाहा हुन्छ । विद्या र मितिनी गाउँको बाटोमा हिँड्दा लिइएको ट्य्राकिङ शट (जसले रहस्यको सिर्जना गर्छ) उम्दा छ । त्यस्तै विद्या र आमाको संवाद चलिरहँदा वसन्तले पृष्ठभूमिमा गरिरहेको गतिविधिलाई समेट्ने डेप्थ अफ फील्ड पनि प्रशंसनीय छ ।
छायाँकार अमर महर्जनलाई पनि यस कलात्मकताको श्रेय दिनुपर्छ । अनि विद्याको व्यथा तथा मानसिक उथलपुथललाई देखाउनका लागि प्रयोग गरिएको ‘वाइड फ्रेमिङ’ पनि उल्लेख्य छ ।
यस चलचित्रले फिल्मप्रति वसन्तको मोहलाई पनि सुन्दर तरिकाले प्रस्तुत गरेको छ । भीसीआर चक्कामा फिल्म देखाउने व्यक्तिलाई पैसा तिरेर वसन्त र बांगेले हिन्दी र नेपाली फिल्म हेरेको अनि पैसाका विषयमा झगडा गरेको दृश्यहरू निर्देशक बिडारीले फिल्म कलालाई दिएका सुन्दर ट्रिब्युट हुन् । कतै वसन्तको चरित्र निर्देशक बिडारीको आफ्नै कथा त हैन ?
फिल्मका कलाकारले लगाएका कतिपय पहिरन चाहिँ अमिल्दो लाग्छन् । वसन्तले लगाएको स्विटर र उसका बाले लगाएको टीशर्ट तत्कालीन समयमा नेपालका गाउँहरूमा कत्तिको प्रचलित थियो होला भनी प्रश्न उठाउन सकिन्छ । यहाँ दर्शकलाई बताऊँ– यो फिल्मको कथा माओवादी द्वन्द्व शुरू हुनुभन्दा अघि २०५० सालतिरको हो ।
तर यो सामान्य कमजोरी हो । फिल्ममा नेपाली गाउँलाई यथार्थपरक रूपमा प्रस्तुत गरिएको छ । यो फिल्म मकवानपुरको ज्यामिरे गाउँमा सेट गरिएको भए पनि यसले नेपालको पहाडी क्षेत्रका सबै गाउँको आभास दिलाउँछ । गाउँमा हुर्केबढेका र सरकारी विद्यालय पढेका दर्शकले यसमा आफ्नै कथा पाउँछन् । नेपाली गाउँको यत्तिको अथेन्टिक चित्र प्रस्तुत गर्न सक्नु निर्देशक बिडारीको खुबी हो ।
यो चलचित्र मसला फिल्मको ह्याङओभरबाट मुक्त छ । यसमा फाल्तुका गीत, नृत्य, फाइट, तडकभडक केही पनि छैन । सरल र सुन्दर कथा मात्र छ ।
गीतको कुरा गर्नुपर्दा, आइकोनिक गीत ‘मेरो गाउँ ज्यामिरे’ लाई फिल्मले उपयोग गरेको भए पनि त्यस गीतमा निहित वर्गीय चेतनालाई फिल्मले समात्न सकेको चाहिँ छैन ।
फिल्म जम्मा डेढ घन्टाको छ । हेरुन्जेल मज्जा आउँछ अनि हलबाट निस्केपछि पनि सम्झनामा आइरहन्छ ।
नेपाली मौलिकता बोकेको यत्तिको यथार्थवादी चलचित्र हेर्न पाउनु दर्शकका लागि सुखद अनुभूति हो ।
फिल्म : ऐना झ्यालको पुतली
कलाकार : कञ्चन चिमरिया, दिनेश खत्री, सिरु विष्ट, उमेश श्रेष्ठ, राज थापा आदि
निर्देशक : सुजित बिडारी
अवधि : डेढ घन्टा
गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ । प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...