माघ २, २०८०
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
मंसिर २९, २०७९
कतारमा भइरहेको फूटबल विश्वकपमा खेलकलासँगै समावेशिताको राजनीतिक बहस पनि चलिरहेको छ । विश्वकपमा समलिंगी तथा तेस्रोलिंगीहरूप्रति सम्मानको विषयलाई जोडतोडका साथ उठाइएको छ ।
अनुदारवादी मुस्लिम मुलुक कतारमा समलैंगिकतालाई अपराध मानिन्छ तर पश्चिमाहरूले त्यस विषयलाई मञ्च भेटेसम्म अभिव्यक्त गरेका छन् ।
इंग्ल्यान्डका कप्तान ह्यारी केन, वेल्सका ग्यारेथ बेल र नेदरल्यान्ड्सका भर्जिल भान डाइकले समलिंगीहरूसँगको एक्यबद्धताका लागि इन्द्रेणी रंगको हातेपट्टा लगाउन खोजेको भए पनि फूटबल महासंघ फिफाले त्यसो गर्दा तत्कालै पहेंलो कार्ड देखाइने चेतावनी दिएपछि उनीहरू त्यसबाट पछि हटे ।
फिफाको निर्णयविरुद्ध जर्मनीका कप्तान म्यानुएल नोयर तथा अन्य खेलाडीले जापानसँगको खेलअघि तस्वीर खिचाउँदा मुख छोपेका थिए । तर राजनीतिमा ध्यान दिएर फूटबललाई छायाँमा पार्दा जर्मनीले उक्त खेल हारेको थियो अनि ऊ समूह चरणबाटै बाहिरिएको थियो ।
कतारमा विश्वकपको समाचार बनाउन आएका पश्चिमा पत्रकारहरूले पनि समलिंगीको मुद्दा उठाउन भरपूर प्रयास गरेका थिए । विश्वकप चलिरहँदा मृत्यु भएका अमेरिकी पत्रकार ग्रान्ट वाहलले आफ्ना समलिंगी भाइ एरिकका लागि इन्द्रेणी रंगको टीशर्ट लगाएका थिए । त्यसले गर्दा उनलाई म्याच भएको रंगशालामा पस्न दिइएको थिएन ।
उनले यस विषयमा कुरा उठाएपछि ज्यान मार्ने समेत धम्की आएको एरिकले सामाजिक सञ्जालमार्फत बताएका थिए । ग्रान्टको मृत्यु प्राकृतिक नभएको संकेत एरिकले गरेको भए पनि यस विषयमा थप अनुसन्धान गरिएन ।
समलिंगी समावेशिताको राजनीतिसँगै कतार विश्वकपमा रंगवादसम्बन्धी बहस पनि चलिरहेको छ । विशेषगरी फाइनलमा पुगेका दुई टोली फ्रान्स र अर्जेन्टिनाका खेलाडीहरूमा जातीय विविधता (तथा त्यसको अभाव) का विषयमा चर्चा गरिएको छ ।
यसैक्रममा गत साता द वाशिङटन पोस्टमा एरिका डेनिसे एडवर्ड्सले अर्जेन्टिनामा गोरा खेलाडीहरूको वर्चस्व रहेको विषय उठाएकी छन् । टेक्सस विश्वविद्यालयमा सहप्राध्यापक रहेकी एडवर्ड्सले अर्जेन्टिनाको जातीय समीकरणसम्बन्धी पुस्तक ‘हाइडिङ इन प्लेन साइट : ब्ल्याक वीमेन, द ल यान्ड र मेकिङ अफ ए ह्वाइट अर्जेन्टाइन रिपब्लिक’ लेखेकी छन् ।
पोस्टमा उनले प्रकाशित गरेको लेखको शीर्षक छ : ‘ह्वाई डजन्ट अर्जेन्टिना ह्याभ मोर ब्ल्याक प्लेयर्स इन द वर्ल्ड कप ?’ अर्थात्, अर्जेन्टिनाको टोलीमा काला जातिका खेलाडीहरू नपरेकोमा उनले चिन्ता व्यक्त गरेकी छन् ।
अर्जेन्टिनाको टोलीमा प्रतिभाशाली खेलाडीहरू छन् कि छैनन् भन्ने विषयमा बहस गर्नुको साटो कुन रंगका खेलाडीहरू छन् भनी चर्चा गरी एडवर्ड्सले पश्चिममा चलिरहेको ‘वोक’ बहसमा अर्को एउटा इँटा थपेकी छन् । वोकहरू समाजका विभिन्न क्षेत्रमा गोराहरूलाई विस्थापित गर्नुपर्ने भनी वकालत गर्छन् ।
तर एडवर्ड्सले आफ्नो लेखमा दिएको अर्जेन्टिनी जनसंख्याले नै टीममा काला खेलाडीको सहभागिता सुनिश्चित गर्न कति गाह्रो छ भन्ने तथ्यलाई उजागर गर्छ । सन् २०१० मा अर्जेन्टिना सरकारले प्रकाशित गरेको जनसंख्या तथ्यांकमा जम्मा १ लाख ४९ हजार ४९३ अर्थात् १ प्रतिशतभन्दा कम मानिस काला जातिको भएको उल्लेख गरिएको थियो । समावेशिताको राजनीति चम्काउनका लागि त्यति थोरै मानिसबाट अनिवार्य रूपमा फूटबल खेलाडी छान्न बाध्य बनाउनु उचित ठहरिँदैन ।
आफ्नो तर्कलाई आफैं कमजोर बनाएकी एड्वर्ड्सले अर्जेन्टिनाको इतिहासमा काला जातिका मानिसहरूको संख्या उल्लेख्य भए पनि वर्षौंसम्म युरोपका गोराहरूले त्यहाँ आप्रवासन गरी देशबाट काला जातिको निशाना मेटाएको आरोप लगाएकी छन् ।
उत्तर र दक्षिण अमेरिका दुवै महादेशमा काला जातिका मानिसलाई दासका रूपमा ल्याएर श्रम शोषण गरिएको थियो । शताब्दियौं बित्दै जाँदा काला तथा आदिवासीहरू गोराहरूसँग मिसिँदै गए ।
अर्जेन्टिनामा रहेका मानिसलाई तीनथरी वर्णमा विभाजित गरिएको छ : मोरोचो, पार्दो र त्रिग्वेनो । त्यो भनेको पूर्णतया गोरो नभई गहुँगोरो वर्णको विविध स्वरूप हो ।
एडवर्ड्सका अनुसार, अर्जेन्टिनामा कुनै व्यक्तिलाई मोरोचो भनी अहिले पनि बोलाइन्छ तर त्यो आपत्तिजनक मानिँदैन । तथापि त्यसले अश्वेत मानिस भन्ने आशयचाहिँ दिन्छ ।
अर्जेन्टिनाका सबभन्दा प्रख्यात मोरोचो फूटबलका महान् खेलाडी डिएगो म्याराडोना भएको एडवर्ड्स लेख्छिन् । यी अश्वेत खेलाडी श्वेत अर्जेन्टिनाको नायक बनेको उनी उल्लेख गर्छिन् ।
अर्जेन्टिनीहरू श्वेत सर्वोच्चतावादी हुन् र अर्जेन्टिना श्वेतबहुल मुलुक हो भन्ने एडवर्ड्सको आशय छ । तर एडवर्ड्स स्वयंले अश्वेत भनेको म्याराडोनालाई अर्जेन्टिनीहरूले उच्च सम्मान गरेबाटै एडवर्ड्सको भनाइ काटिन्छ ।
एडवर्ड्सले संकेत गर्न खोजे जस्तो मोरोचोलाई अर्जेन्टिनीहरूले जातीय सूचकका रूपमा भन्दा पनि स्नेह प्रकट गर्ने शब्दका रूपमा लिने गरेको अर्जेन्टिनाका टिप्पणीकार मोर्डेचाइ ताजीले मर्कोप्रेसमा प्रकाशित आफ्नो लेखमा तर्क गरेका छन् ।
उनले सन् २०२० मा उरुग्वेका फूटबल खेलाडी एडिनसन कभानीले आफ्ना साथीलाई सामाजिक सञ्जालमा नेग्रितो (काले) भनी बोलाउँदा उनीमाथि जरिवाना लगाइएको स्मरण गरेका छन् । त्यतिखेर कभानी म्यानचेस्टर युनाइटेडमा आबद्ध थिए र प्रिमियर लीगका अधिकारीहरूले दक्षिण अमेरिकामा मानिसलाई छालाको रंगका आधार बोलाउँदा अपमान गरेको नठहर्ने कुरा थाहै पाएनन् ।
कभानीले आफ्नो साथीलाई हेप्ने भन्दा पनि माया देखाउने हिसाबमा नेग्रितो भनेका थिए । तर वास्तविक रंगभेदको समस्या रहेको युरोपमा काला जातिका खेलाडीविरुद्ध दुर्व्यवहार हुने गरेकाले प्रिमियर लीगका हाकिमहरूले दक्षिण अमेरिकी व्यवहार बुझ्न सकेनन् र कभानीको भनाइमा जातिवाद भेटे ।
नेपाली भाषामा पनि अनौपचारिक रूपमा आफूभन्दा सानालाई माया गरी बोलाउँदा काले भन्ने गरिन्छ । गहुँगोरो मानिसलाई पनि काले भनी सम्बोधन गर्दा त्यसले स्नेह झल्काउँछ ।
जे होस्, अमेरिकी सहप्राध्यापक एडवर्ड्सले अर्जेन्टिनामा जातीय विविधता नभएको अनि अश्वेतलाई छाला रंगको सचेतना दिलाउने गरी सम्बोधन हुने गरेको भनी फूटबलमा अनावश्यक रूपमा जातीय राजनीति पसाएकी छन् ।
अर्जेन्टिनीहरूलाई यो कुरा चित्त नबुझेकाले सामाजिक सञ्जालमा झूटो प्रगतिवाद चाहिँदैन भनेका छन् । अनि खेलाडीहरू आफ्नो छालाको रंग भन्दा पनि प्रतिभाका आधारमा छनोट भएको कुरा उनीहरूले सम्झाएका छन् ।
अमेरिकी पत्रकार रोबर्ट ब्रिजले पनि अन्य जुन कुनै व्यवसायमा जस्तो खेलमा पनि खेलाडीहरूलाई क्षमता र प्रतिभाका आधारमा छनोट गरिनुपर्ने, समावेशिताको कोटा भर्नका लागि हैन भनी एडवर्ड्सको लेखको आलोचना गरेका छन् । हुन पनि लियोनल मेसी कालो जातिका हुन्थे भने पनि उनको प्रतिभाकै कारणले अहिलेको जस्तै महानता हासिल गर्थे होलान् ।
अर्जेन्टिनाको विपरीत फ्रान्समा चाहिँ अश्वेतहरूको बाहुल्य रहेको भनी प्रशंसा गरिएको छ । द न्युयोर्क टाइम्समा लरेन्ट डुबोआ र द नेसनलमा कोलिन र्यान्डल लगायतले फ्रान्सेली टोलीको जातीय विविधताको खुलेर प्रशंसा गरेका छन् ।
फ्रान्सलाई सन् १९९८ को विश्वकप दिलाउन प्रमुख भूमिका खेल्ने जिनेदिन जिदान पनि अल्जेरियाली मूलका खेलाडी थिए । त्यस्तै सन् २०१८ को विश्वकपमा छनोट भएको फ्रान्सेली टोलीमा ८७ प्रतिशत खेलाडीहरू अश्वेत थिए ।
उनीहरू कि त आप्रवासी थिए कि त आप्रवासीका सन्तान थिए । त्यतिखेर अनि अहिलेको विश्वकपमा तहल्का मच्चाइरहेका किलियन एम्बाप्पे पनि त्यही वर्गमा पर्छन् ।
अहिलेको स्क्वाडमा परेका ओलिभिएर जिरू, एन्टोइन ग्रीजमन, ह्युगो लोरिस, बेन्जामिन पवार्ड, एड्रियन राबियो लगायतका केही खेलाडीबाहेक अन्य सबै अश्वेत छन् । ती सबै अश्वेत खेलाडीहरू आप्रवासी वा तिनका सन्तान हुन् ।
फ्रान्स मात्र नभई विश्वकपमा सहभागी धेरै अन्य टोलीमा आप्रवासी मूलका खेलाडीको बाहुल्य छ । आउटलूक इन्डियाका अक्षय सवाईका अनुसार, अहिलेको विश्वकपमा सहभागी ३२ टीममध्ये चारवटाका खेलाडी मात्र आफ्नै देशमा जन्मेका हुन् । ती चार टोली अर्जेन्टिना, ब्राजिल, साउदी अरब र दक्षिण कोरिया हुन् ।
विश्वकपमा सहभागी २८ टोलीले आप्रवासीहरूलाई समावेश गरेकोमा पश्चिमको वोक जमातले सकारात्मक रूपमा लिएको छ । तर आप्रवासी खेलाडीहरूको आफ्नै पीडा छ ।
टुर्किये (टर्की) मूलका जर्मन खेलाडी मेसुट ओजिलले टुर्कियेका राष्ट्रपति रेचेप तैयिप एर्दोआनसँग सन् २०१८ मा तस्वीर खिचाएपछि उनलाई जर्मनीमा निकै खेदिएको थियो । जर्मन टोलीको मियोका रूपमा रहेका उनी अनावश्यक आलोचना खेप्न परेपछि निराश भएर अन्तर्राष्ट्रिय फूटबलबाट संन्यास लिन बाध्य भएका थिए ।
जर्मनीले जित्दा आफूलाई जर्मन भनी प्रशंसा गरिने अनि हार्दा आफूलाई आप्रवासी भनिने गरेको पीडा उनले व्यक्त गरेका थिए । अन्य देशका आप्रवासी खेलाडीहरू अल्जेरियाली मूलका फ्रान्सेली खेलाडी करिम बेन्जिमा र कंगोली मूलका बेल्जियन खेलाडी रोमेलु लुकाकुले पनि यस्तै किसिमको पीडा व्यक्त गरेका थिए ।
तथापि युरोपेली टोलीहरूले अश्वेतहरूलाई पनि समावेश गर्नु सुखद वास्तविकता हो । उपनिवेशवाद र साम्राज्यवादको इतिहास रहेको युरोपले विगतको अपराध र पापको प्रायश्चित्तका लागि उपनिवेशबाट युरोप आइपुगेका आप्रवासीहरूलाई मूलधारमा स्थान दिनु ऐतिहासिक आवश्यकता पनि हो ।
तर फूटबलको चर्चा चल्दा जातीय राजनीति भन्दा पनि क्षमतावान र प्रतिभाशाली खेलाडी विकसित गर्नेतर्फ फिफाको ध्यान जानु जरूरी छ ।
युरोप र दक्षिण अमेरिकाको मात्र वर्चस्व रहेको विश्वकप फूटबललाई अन्य महादेशले पनि उपाधि जित्नका लागि समर्थ बनाउन फिफाले थप काम गर्नुपर्छ । अमेरिकामा हुने आगामी विश्वकपमा ३२ को साटो ४८ देश सहभागी गराइने फिफाको निर्णयले अन्य महादेशलाई पनि विश्वकप उपाधि जित्ने अवसर प्रदान गर्न सक्ने अपेक्षा छ ।
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...