माघ ५, २०८०
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
धनगढी | फागुन २६, २०८०
बैतडीको सिगास गाउँपालिका– ९ चुवा गाउँका मनोज चन्दको बायाँ हात सक्रिय थियो । उनी बायाँ हातले नै खान्थे, स्कूलमा पनि बायाँ हातले नै लेख्थे । उनका साथीहरूले उनलाई ‘बाउँटे’ भनेर जिस्काउँथे । यसरी बायाँ हातले लेखेकै कारण उनी बाल्यकालबाटै हेपाइमा परेका थिए ।
मनोजका बुवा मानबहादुर सरकारी जागिरे थिए । अहेव रहेका बुवाको सदरमुकामतिर काम परिरहन्थ्यो । मनोज पनि प्रायः बुवासँगै डुलिरहन्थे । सदरमुकामका होटेलमा पनि उनले बायाँ हातले नै खाना खान थालेपछि बुवाले दायाँ हातले खानू भन्थे । तर मनोज दायाँ हातले खान सक्दैनथे । त्यो बेला उनी बैतडीकै उदय माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययन गर्दै थिए । सायद उमेर बढ्दै गएकाले होला साथीहरूले गिज्याउने बेला मनोज अब लाज मान्न थाले । साथी र छरछिमेकी प्रायः सबैले उनको उपनाम नै ‘बाउँटे’ राखेका थिए । आफूमाथि गरिने व्यवहारबाट वाक्क–दिक्क भएका मनोजले दायाँ हातले लेख्ने प्रयास गर्न थाले । तर सम्भव नभएपछि उनले थप प्रयास गर्नै छोडे । ‘सबैले बाउँटे भनेर गिज्याउँथे । मैले दायाँ हातले लेख्ने प्रयास गरेँ । अप्ठ्यारो भयो लेख्नै सकिएन । अनि मैले मलाई बाउँटे भनिराख भनेर प्रयास गर्नै छोडेँ,’ मनोज भन्छन् ।
तर उनको मनभित्र भने एउटा हुटहुटी थियो । त्यति मात्रै हो, जिस्काइराख्ने साथीहरूका वचन बन्द गर्न मन थियो उनलाई । मनोजलाई बुवासँग कार्यक्रमहरूमा जाँदा दायाँ हातले खाना खाने रहर थियो । ‘मेरो कारण बुवाको पनि लाज भइरहेकोजस्तो महसुस हुन्थ्यो मलाई । यसैले गर्दा प्रयास गर्दै गएँ, अप्ठ्यारोका बीच मैले बिस्तारै दायाँ हातले लेख्न थालेँ । मैले गुरुलाई दायाँ हातले लेखेको भनेँ उहाँहरू पत्याउनु नै भएन । उहाँहरूकै अगाडि लेखेर देखाएपछि पत्याउनु भयो,’ पुराना दिन उनले सम्झिए ।
एकसाथ ६ कलमले उल्टो–सुल्टो
मनोज अब दुवै हातले लेख्न सक्ने भए । ‘बाउँटे’ भनेर जिस्काउने उनका साथीहरू र शिक्षक वर्ग सबै चकित परे । उनमा खुसीको सीमा रहेन । उनको मनमा कौतूहलता जाग्न थाल्यो । प्रयास गरे जे पनि सम्भव हुन्छ होला जस्तो लाग्न थाल्यो । उनका मनमा अनेक प्रश्न खेल्न थाले । हात नहुनेहरूले कसरी लेख्न सक्लान् ? भनेर उनले कुहिनाले पनि प्रयास गर्न थाले । ‘शुरूवातमा निकै अप्ठ्यारो भयो तर प्रयास गर्दै जाँदा मैले दुवै हातका कुहिनाले लेख्न सक्न थालेँ । एकपछि अर्को सफलता मिल्दै गएपछि मैले अनेक प्रयास गर्दै गएँ,’ उनी भन्छन् ।
यसरी मनोज केही गर्न खोज्नेहरूका लागि प्रेरणाका स्रोतको रुपमा लम्किए । उनको सफलता यतिमै मात्र सीमित छैन । हात नहुनेले खुट्टाले कसरी लेख्न सक्छन् भन्ने कौतुहलता मेटाउन अब उनी खुट्टाले पनि लेख्ने प्रयासमा थिए । तर त्यो त्यति सजिलै सम्भव थिएन । ‘मैले धेरै नै मेहनत गर्नुपर्याे । कठोर सङ्घर्षपछि बल्लमात्रै म सफल भएँ । अनि लाग्यो सबैजना झमककुमारी घिमिरे बन्न सक्दैनन् । तर प्रयास निरन्तर गरिरहने हो भने सफलता मिल्ने रहेछ,‘ मनोज सङ्घर्षका दिन सम्झिन्छन् ।
दुवै हात, दुवै खुट्टा र दुवै कुहिनाले लेख्न सक्ने हुँदा पनि मनोज पूर्ण सन्तुष्ट बन्न सकेनन् । तर अर्कोतिर आफूप्रति अझै विश्वास बढ्दै गयो । हातखुट्टै नभएको खण्डका कसरी लेख्न सकिन्छ, अब उनको मनमा यो कुरा खेल्न थाल्यो । उनी मुखले पनि लेख्ने प्रयास गर्न थाले । निरन्तरको मेहनतपछि अन्ततः उनी सफल भए । अहिले दुवै हातले एकसाथ उल्टो सुल्टो लेख्न सक्छन् । त्यो पनि ६ वटा कलमले सँगै । ‘शुरूवातमा जे गर्न पनि अप्ठ्यारो हुने रहेछ । हामीले प्रयास गर्न नछोड्ने हो भने अवश्य सफलता पाइने रहेछ । ‘मैले आठवटा कलमले प्रयास गरेँ त्यो सफल त भयो, तर अक्षर राम्रा भएनन् । अहिले दुई हातमा तीन–तीनवटा कलमले सँगै उल्टो र सुल्टो लेख्न सक्छु,’ मनोजले भने ।
...अनि बने अभियन्ता
१० कक्षासम्म बैतडीमै अध्ययन गरेका चन्द । उच्च शिक्षा अध्ययनका लागि भने कैलाली जिल्ला झरे । कैलाली बहुमुखी क्याम्पसबाट म्यानेजमेन्टमा प्लस टू गरेका उनले धनगढीकै नास्ट कलेजबाट आईटीमा स्नातक गरे । नास्ट कलेजमा पढ्ने बेला उनी दुवै हातले लेख्थे । त्यतिमात्रै होइन एउटा हातले आफ्नो र अर्को हातले साथीको होमवर्कसम्म गर्न भ्याउँथे मनोज । ‘मेरो त्यस्तो कला देखेपछि विद्यार्थी र शिक्षक नै चकित परे । प्राध्यापक सर शिवहरि मुडभरीले यस्तो कला लुकाउनु हुन्न भनेर २०६७ सालमा धनगढीस्थित साथी होटेलमा पत्रकार सम्मेलन गर्नुभयो,’ उनले भने, ‘पत्रकारका बीच मैले सबै कला देखाएँ । नेसनल मिडियाका हेडलाइनमा मेरो नाम थियो । एकाएक मेरो चर्चा चुलियो ।’
पत्रकार सम्मेलन गर्नुअघिसम्म मनोज आफ्नो कलासँग आफू मात्र जानकार थिए । तर अब त्यो अवस्था रहेन । उनको क्षमता मिडियामार्फत देश–विदेश फैलिसकेको थियो । ‘झन् हौसला बढेर आयो । कलालाई नलुकाएर उजागर गर्न सबैले मलाई सुझाव दिए,’ उनी भन्छन् ।
त्यसपछि मनोज काठमाडौं गए । धनगढीमा भएको पत्रकार सम्मेलन पछि सबैबाट राम्रो शुभेच्छा पाएका उनले पत्रकार सम्मेलन गरे । त्यसपछि झन् ठूलो तहल्का मच्चियो । देश विदेशबाट उनलाई अवसर पाउन थाले । आफूभित्रको कलालाई सबैसामु बाँड्ने अभियानमा उनी लागे ।
नेपालका ७३ जिल्ला र २५ देशमा उत्प्रेरणा
अद्भुत क्षमताले मनोजको चर्चा निकै चुलियो । जन्मजात नै हात खुट्टा नभएका र नभएर पनि काम गर्न नसक्ने अवस्था र अपाङ्गता भएका व्यक्तिहरूका लागि उनी वरदान साबित भइसकेका छन् । शरीरका विभिन्न अङ्गले कसरी लेख्न सकिन्छ ? सफलताका लागि कति प्रयास आवश्यक हुन्छ ? जीवनको लक्ष्य कसरी तय गर्ने ? लगायतका विषयमा उनी उत्प्रेरणा बाँड्दै आइरहेका छन् । नेपालका ७७ जिल्लामध्ये डोल्पा, हुम्ला, ताप्लेजुङ र पाँचथरबाहेक ७३ जिल्लाका विभिन्न ठाउँमा उनले कार्यक्रम गरिसकेका छन् ।
‘बाँकी रहेका जिल्लाहरूमा पनि चाँडै कार्यक्रमहरू गर्ने मनसाय छ । स्थानीय तहसँगको सहकार्यमा आफ्नो कला देखाउँदै प्रेरणा दिने काम गरिरहेको छु । दोलखा र काठमाडौंको खगेन्द्र नवजीवन केन्द्रमा गरिएको सचेतनामूलक कार्यक्रमले निकै प्रभाव पारेको थियो । मैले कार्यक्रम गरेका स्थानका विद्यार्थीहरूले दुवै हातले लेख्न थालेको भनेर फोन आउँदा खुसी लाग्छ,’ मनोज भन्छन् ।
नेपालबाहेक उनले विभिन्न २५ देशमा कार्यक्रम गरिसकेका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को सहयोगमा हङकङ, थाइल्यान्ड, सिंगापुर, कम्बोडिया लगायतका २५ देशमा सचेतना कार्यक्रम गरिसकेको चन्द बताउँछन् । ‘विश्वका धेरै देशमा नेपाललाई चिनाउने काम गरेको छु । अपाङ्गता भएका व्यक्तिहरूका लागि निकै राम्रो प्रेरणा मिल्ने गरेको छ । मैले सिकाएपछि उहाँहरूको मुहारको खुसी देख्दा म गद्गद् हुन्छु,’ उनले भने ।
आफूसँग भएको सीप र ज्ञान बाँड्दै अझै धेरै देशहरूमा पुग्ने सङ्कल्प मनोजको छ । ‘एक्लो प्रयासमा यो सम्भव हुँदैन । एउटै कार्यक्रममा पाँच लाख हाराहारी खर्च हुन्छ । त्यसैले यो गरिराख्न मेरो क्षमताले मात्रै सकिँदैन । एनआरएनएको सहयोगमा कार्यक्रम गर्दै आइरहेको छु । सहयोगको अपेक्षा निरन्तर छ,’ उनी भन्छन् । उनी गिनिज बुकमा नाम लेखाउने तयारी पनि गरिरहेका छन् ।
२ विषयमा स्नातकोत्तर, पीएचडीको तयारी
शरीरका विभिन्न अङ्गले लेखन कलामा पोख्त मनोजको परिचय यतिमा मात्रै सीमित होइन । उनी शिक्षण पेशामा पनि सक्रिय छन् । धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसमा उनले कम्प्युटर साइन्स अध्यापन गरे । त्यतिमात्रै होइन काठमाडौंको बसन्धरास्थित एक्टिभ कलेजमा मास्टर्स डिग्रीका विद्यार्थीलाई पनि अध्यापन गराएको अनुभव उनीसँग छ ।
आफ्नो कलामार्फत सबैलाई लोभ्याइएका मनोजले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र र राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका छन् । ‘मैले टीयूबाट पहिलो पटक समाजशास्त्र र दोस्रो पटक राजनीतिक शास्त्रमा स्नातकोत्तर गरे । समाज र राज्यव्यवस्थालाई नजिकबाट नियालिरहेको छु । देशको राजनीति सही दिशामा नहुँदा युवा पलायन बढी रहेको छ,’ उनी भन्छन् ।
राजनीतिक शास्त्रमा विद्यावारिधि (पीएचडी) गर्ने तयारीमा उनी छन् । ‘मलाई विदेशबाट पनि अवसरहरू धेरै आएका छन् । राम्रो सेवा सुविधासहित बोलाइएको पनि छ, तर विदेश पलायन हुने मेरो कुनै मनसाय छैन । मलाई नेपालमै केही गर्नुछ नेपालकै लागि केही गर्नु छ । राजनीतिक शास्त्रमा पीएचडी गर्ने तयारीमा छु,’ उनले भने ।
नेपालका राजनीतिज्ञहरूले सही ढङ्गले काम नगर्दा युवा पलायन बढिरहेको उनी बताउँछन् । ‘विदेशमा काम वा अध्ययनका लागि जानेहरू फर्किएका छैनन् । खाडीमुलकमै यस्तो आकर्षण छ । अष्ट्रेलिया, अमेरिका जानेहरू त नेपाल फर्किएर आउनेवाला छैनन् । निराशा यस्तो बढेको छ कि कुनै देशले भिजा फ्री गर्यो भने नेपाल रित्तिने अवस्थामा छ,’ उनी भन्छन् ।
कलासँगै कर्म, ३५ जनालाई रोजगारी
अद्भूत कलाका धनी मनोजले नेपाल सरकारबाट विभिन्न पटक पदक तथा पुरस्कार पाइसकेका छन् । ०७२–७३ मा पर्यटन मन्त्रालयले तीन लाख रुपैयाँ राशिको पुरस्कार प्रदान गरेको सम्झना उनका मानसपटलमा ताजा छ । योबाहेक सुदूरपश्चिम प्रदेश सरकारअन्तरगर्तको युवा परिषद्ले पनि उनलाई सम्मान गरेको छ । ‘सम्मान, पुरस्कार र नागरिक अभिनन्दन कति भए हिसाब–किताब नै छैन । जहाँ–कार्यक्रम त्यही सम्मान हुन्छ,’ उनले भने ।
आफ्नो कलालाई उनले मुख्य पेशा भने बनाएका छैनन् । कला र आर्थिक पाटोबारे उनी भन्छन्, ‘कार्यक्रम गर्दा मैले आफ्नो मूल्य तोकेको छैन । धेरै कार्यक्रम निःशुल्क पनि गरेको छु । प्रायः मेरा कार्यक्रमहरू स्कूल र कलेजलक्षित हुन्छन् । व्यवस्थापन टीमले एउटै कार्यक्रम गरेबापत २५ हजारभन्दा बढी रकम दिएका उदाहरणहरू पनि छन् । मैले आफ्नो समयको मूल्य तोकेको भए त अहिले सम्म धेरै आम्दानी भइसक्थ्यो । तर आयोजकहरूले स्वेच्छाले सहयोग गरिरहेका हुन्छन्। यसमा म सन्तुष्ट छु ।’
आर्थिक उपार्जन र शैक्षिक जागरणका लागि मनोजले काठमाडौंको बागबजारमा कन्सल्टेन्सी सञ्चालन गरिरहेका छन् । त्यसमा उनकी अर्धाङ्गिनीले पनि सघाइरहेकी छिन् । ०७४ सालबाट कन्सल्टेन्सी सञ्चालन गरिरहेका उनले ३५ जनालाई प्रत्यक्षरुपमा रोजगारी दिइरहेका छन् भने पाँच हजारभन्दा बढी विद्यार्थीलाई शैक्षिक सेवा प्रदान गरिसकेका छन् ।
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
हिन्दी चलचित्र ‘थ्री इडियट्स’मा एक पात्र छन् फरहान । फोटोग्राफीमा रुचि भएका उनी परिवारको इच्छाका लागि इन्जिनियर पढिरहेका हुन्छन् । उही पात्रले पछि आफनो रुचि रोजेर पेशागत रूपमा प्रगति गर्छन् । उनी चर्चि...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...
सार्वजनिक यात्रुबाहक सवारीसाधन अधिकांश पुरुष चालकले कुदाउने गर्छन् । काठमाडौं–पोखराजस्ता केही प्रमुख शहरमा फाटफूट ‘पब्लिक भेइकल’मा महिला चालक देखिए पनि लामो दूरीमा चल्ने गाडी महिलाले चलाए...
जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...