चैत ३०, २०८०
लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समेत दिनुपर्ने हुन्थ्यो । त्यतिबेलाको घरघरको कहानी नै हो यो । सानोले तमाखु भर्नुपर्ने, सल्काएर दिनुपर्ने । बुढाहरू पनि कस्ता ? देखासिकीको कुरा हो, बालबालिकामा नराम्रो लत बस्छ भन्नेसम्म पनि नसोच्ने । गोपाल तमाखु भर्थ्यो । बाबु र दाजुले सल्का’र दे न भन्थे । यसैबाट उसको लत बस्यो । घरमा हुँदा हुक्का गुडगुड्याउँथ्यो बाहिरफेर जानुपर्दा सुल्फा वा सोली तान्थ्यो ।
वनारस गएपछि भने आपत पर्यो । कहाँ हुक्का पाउनु, कहाँ सुल्फा वा सोली । तथापि खाने मुखलाई जुँगाले छेकेन । सुल्फा सोलीको सट्टा बिँडी तान्न थाल्यो । तिनताका वनारसमा सुन्दर बिँडी लोकप्रिय थियो । प्रायः वनारसीहरू यही खान्थे । उसले पनि त्यसैलाई रोज्यो, तर भइदियो के भने विद्यालयका कुनै सहपाठीले देखेछ र प्रधानाध्यापकलाई भनिदिएछ । त्यसपछि त के चाहियो र, प्रधानाध्यापक यसरी बम्के कि ‘ब्राह्मण होकर बिँडी पिते हो ? कैसे ब्राह्मण हो ?’ भन्दै विद्यालयबाटै निकालिदिए ।
अब पर्यो अर्को आपत ! न खाने ठाउँ रह्यो, न बस्ने स्थान । उसले आइन्दा यस्तो गर्दिनँ भनेर रोइकराइ नगरेको होइन, तर प्रधानाध्यापक यति कडा थिए कि सुन्ने कानै लगाएनन् । जब उसले आइन्दा खान्नँ भनेर कसम खायो त्यसपछि भने के लागेछ कुन्नि विद्यालयको एउटा कुनामा बस्नसम्म त दिए, तर भातभान्छा चाहिँ चल्दैन भनेर हिँडे ।
त्यसपछि ऊ अछुतमा गनियो । पानी चलेन, भातभान्छा हटक भयो । तीन दिनपछि पुनः रोइकराई गर्दा कडा शर्त राख्दै भने–
‘भातभान्छाका लागि सूर्योदय अघि दशाश्वमेध घाटमा १०८ पटक गङ्गा स्नान गरी प्रायश्चित गर्नुपर्छ । पुसको महिनामा सूर्योदयअघि १०८ पटक गङ्गा स्नान गर्नु चानचुने काम होइन । तथापि उसका लागि कुनै विकल्प थिएन । त्यसैले हुन्छ गुरु भन्दै भोलिपल्ट बिहान गङ्गा स्नान गर्न हिँड्यो । साक्षीका लागि गुरुले उनै चुक्ली लगाउने सहपाठीलाई पठाइदिए । शर्तअनुसार स्नान गरी सुनपानी तथा गउँत छर्केर जनै फेरेपछि मात्र उसको भातभान्छा चल्यो ।
यसरी उसको भातभान्छा चले पनि बिँडी तान्न नपाएकाले बेचैनी भने बाँकी नै रह्यो । दिनभर के छुट्यो के छुट्यो हुन थाल्यो । न राम्ररी पढ्न मन लाग्यो, न शारीरिक फुर्ती नै देखियो । नितान्त एक्लो र असहाय लाग्न थालेपछि खैनी खान शुरू गर्यो । लुकीलुकी खैनी माड्थ्यो र मुखमा च्यापेर हिँड्थ्यो । चुना हालेर माडेको सुर्ती खासै नगनाउने भएकाले कसैले पनि चाल पाएनन् । यसरी सन् १९७६ देखि १९८३ सम्म सात वर्ष बितायो र यही नै वनारसको चिनो बोकेर काठमाडौं फर्क्यो ।
एकैछिन मुखमा चेप्न नपाए बेचैन हुन्थ्यो र कवि शिरोमणि लेखनाथ पौड्यालले ‘लड्छन् ढुन्मुनिएर अम्मली सरी घोप्टो र चेप्टो परी’ भनेजस्तै साँझबिहान रात, अबेर/सबेर केही नभनी दौडिएर खैनी किन्न पुग्थ्यो । यसरी उसले पहिले खैनी खायो पछि गएर बिस्तारै उसलाई खैनीले खान थाल्यो । ग्यास्ट्रिकले यति बढी सतायो कि जति नै उपचार गर्दा पनि ठीक भएन । औषधिले ठीक नगरेको त किन हुन्थ्यो र खैनी खान नछाडेकाले जस्तोकोतस्तै भएको थियो ।
काठमाडौं आएपछि यता हुँदो खैनीको खासै चलन नभएकाले चुरोट तान्न थाल्यो । त्यति बेला नेपालमा याक चुरोट यति लोकप्रिय थियो कि हिमाल, पहाड, तराई यसैको खोजी हुन्थ्यो, हिजोआज के छ कुन्नि । सरकारले जनकपुर चुरोट कारखाना बन्द गरेकाले शायद छैन होला । विडम्बना नै भन्नुपर्छ, राजनीतिक स्वार्थका कारण बाँसबारी छालाजुत्ता कारखाना बन्द भएपछि फिटराइट र शिखर शूज कम्पनीले बजार पाए ।
जनकपुर चुरोट कारखाना बन्द भएपछि सूर्य टोबाकोले बजार पायो । तत्कालीन शासकहरूले कान्तिपुरलाई उठाउन गोरखापत्र पनि बन्द गर्न नखोजेका होइनन्, तर त्यो भने सम्भव भएन । सुखद् नै मान्नुपर्छ, २०४८ सालपछि प्रकाशित हुन थालेको कान्तिपुरले बजार पिटे पनि शताब्दी नाघेको गोरखापत्र चलिरहेको छ ।
जे होस्, गोपालको लत खैनीबाट चुरोटमा बस्यो । एक बट्टाजति त दिनमै उडाउँथ्यो । उता ग्यास्ट्रिक यति बढेर गएको थियो कि अल्सरकै रूप लिसकेको थियो, तथापि चुरोट छाड्न भने सकेन । मूर्खता पनि हेरौँ न कस्तो ? आफूलाई संगतले बिगार्यो भन्ने जान्दाजान्दै चुरोट सकिएको बेला स–साना नानीहरूलाई किन्न पठाउँथ्यो । धन्य उसले जस्तो उसका बालबालिकाले भने तान्न सिकेनन् । जब चुरोट खानेलाईभन्दा धुवाँ सुघ्नेलाई बढी असर गर्छ भन्ने थाहा पायो त्यसपछिचाहिँ चुरोट छाडेर पुनः खैनी खान थाल्यो । त्यतिबेला नेपालमा बलबान छाप खैनीको बजार थियो । एक पाकेटले झण्डै तीन दिन पुग्थ्यो ।
उसले खैनी खाने काम पनि जारी राख्यो ग्यास्ट्रिकको बढ्ने क्रम पनि जारी रह्यो । उपचारको क्रममा झण्डै छपटक जति त इन्डोस्कोपी नै गरायो । पहिलोपटकको इन्डोेस्कोपीले तल्लो पेटमा सानो घाउ देखाएकाले ४२ दिनसम्म दबाइ खान परेको थियो, तर केही समयपछि पहिलेको जस्तै भयो । पुनः ग्यास्ट्रिकले दुःख दिन थालेपछि दोस्रोपटक इन्डोस्कोपी गरायो ।
यतिबेला भुँडीको एउटा अंशको बायोप्सी गराउनुपरेको थियो, जसले पेटमा कीरा छ भन्ने देखायो । कीरा पनि कस्तो ?, जसलाई कुनै एक चिकित्सकले आफ्नै पेटमा राखी अनुसन्धान गरेका रहेछन् । यसैका कारण उनलाई त्यस वर्षको नोबेल पुरस्कार दिइएको रहेछ । १५ दिन औषधि खाएपछि त्यो पनि ठीक भयो । त्यसपछि पनि उसले गोडाचारेकपटक इन्डोस्कोपी गराइसकेको छ, तर ग्यास्ट्रिक भने जस्तातस्तै छ । न उसले खैनी खान छाडेको छ, न ग्यास्ट्रिकले छाडेको छ ।
यो अम्मल भन्ने चिज कस्तो ? यसले राम्रो गरेको छैन भन्ने पनि थाहा छ । घरपरिवारले राम्रो मानेका छैनन् भन्ने पनि थाहा छ । सबैले नखाऊ, खान हुन्न भन्ने गरेको पनि थाहा छ । तैपनि छाड्न भने सकेको छैन । डाक्टर, वैद्यले त फाइदा गर्दैन भन्नेसम्म हो, छाड्ने काम त अम्मली आफैंले गर्नुपर्छ, तर उनीहरू यस्तो गर्न सक्दैनन् । सरकारहरू पनि धूमपान स्वास्थ्यका लागि हानीकारक छसम्म त भन्छन्, तर तिनका उत्पादनमा रोक लगाउन सक्दैन । यो कुनै एउटा देश वा सरकारले मात्र गरेर हुने काम होइन । यसका लागि संसारभरिकै सरकारहरू गम्भीर हुनुपर्छ, तर त्यतातिर सोच्ने फुर्सद नै छैन कसैलाई पनि, जसले गर्दा उत्पादन पनि बढेको छ, उपभोक्ता पनि बढेका छन् । धन्य हो अम्मल, धन्य हुन् अम्मली, अनि धन्य उत्पादकहरू !
लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ । प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...